मध्यपूर्व र उत्तर अफ्रिकाका सबैभन्दा कुख्यात मृत्युदण्डको अभ्यासकर्ताहरूले मृत्युदण्डको सजायको श्रृङ्खलालाई निरन्तरता दिएका कारण सन् २०२२ मा अभिलेख गरिएको मृत्युदण्डहरूको संख्या पाँच वर्षमा सबैभन्दा उच्च हुन पुगेको एम्नेस्टी इन्टरनेसनलले आज आफ्नो मृत्युदण्डको वार्षिक समीक्षा जारी गर्दै बताएको छ।
२० वटा देशहरूमा कुल ८८३ जनालाई मृत्युदण्ड दिइएको थाह हुन आएको छ जुन सन् २०२१ को तुलनामा ५३% ले बढेको हो। मृत्युदण्डको यो वृद्धिमा मध्यपूर्व र उत्तर अफ्रिकाका देशहरू अगुवा रहेका थिए जहाँ अभिलिखित मृत्युदण्डको सङ्ख्या सन् २०२१ को ५२० बाट बढेर सन् २०२२ मा ८२५ पुगेको छ र यसमा चीनमा गरिएका हजारौं मृत्युदण्डहरूलाई समावेश गरिएको छैन।
“सन् २०२२ मा मृत्युदण्डको सङ्ख्या बढाएर र मानव जीवन प्रति कठोर अवहेलना प्रकट गरेर मध्यपूर्व र उत्तर अफ्रिका क्षेत्रका देशहरूले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेका छन्। जीवन खोसिएका व्यक्तिहरूको संख्या यस क्षेत्रमा नाटकीय रूपमा बढेको छ। साउदी अरबले एकै दिनमा ८१ जनालाई मृत्युदण्ड दिएको थियो। हालै इरानमा भएको लोकप्रीय विद्रोहलाई अन्त्य गर्ने हताश प्रयासमा इरानले मानिसहरूलाई केवल विरोध गर्ने अधिकारको अभ्यास गरेकैमा मृत्युदण्ड दियो, ” एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामारले भनिन्।
चिन्तालाग्दो कुरा के रहेको छ भने चीनबाहिर भएको थाह हुन आएका विश्वका ९० प्रतिशत मृत्युदण्डहरू यस क्षेत्रका तीन देशले मात्रै गरेका छन्। इरानमा अभिलिखित मृत्युदण्डको सङ्ख्या सन् २०२१ को ३१४ बाट बढेर सन् २०२२ मा ५७६ पुग्यो। साउदी अरेबियामा सन् २०२१ को ६५ बाट तीन गुणा बढेर सन् २०२२ मा १९६ पुग्यो जुन एम्नेस्टीले ३० वर्षमा अभिलेख गरेको सबैभन्दा उच्च सङ्ख्या हो। र इजिप्टले सन् २०२२ मा २४ जनालाई मृत्युदण्ड दियो।
मृत्युदण्डलाई व्यापक रूपमा प्रयोग गर्ने चीन, उत्तर कोरिया र भियतनाम लगायतका धेरै देशहरूमा मृत्युदण्डको प्रयोगलाई गोपनयीताको आवरणमा लुकाइएको छ जसको अर्थ मृत्युदण्डको वास्तविक विश्वव्यापी आंकडा यो भन्दा धेरै उच्च रहेको छ। चीनमा मृत्युदण्ड दिइएकाहरूको खास संख्या अज्ञात रहेता पनि के स्पष्ट छ भने इरान, साउदी अरेबिया, इजिप्ट र अमेरिका भन्दा चीन मृत्युदण्ड दिने देशहरूमा सङ्ख्यात्मक हिसाबले अग्र स्थानमा रहेको छ।
पाँच देशले मृत्युदण्ड पुनः सुरू गरे
सन् २०२२ देखि अफगानिस्तान, कुवेत, म्यानमार, प्यालेस्टाइन र सिङ्गापुरमा मृत्युदण्ड पुनः सुरू भयो भने इरान (३१४ बाट ५७६), साउदी अरेबिया (६५ बाट १९६) र अमेरिका (११ बाट १८) मा पनि मृत्युदण्डमा वृद्धि भएको छ।
सन् २०२१ को तुलनामा सन् २०२२ मा लागूऔषधसम्बन्धी अपराधका लागि मृत्युदण्ड दिइएको अभिलिखित संख्या दोब्बरले बढेको छ। लागूऔषधसम्बन्धी मृत्युदण्ड अन्तर्राष्ट्रिय मानवअधिकार कानूनको उल्लङ्घन हो जसअनुसार नियतवस हत्या गरिएका अपराध जस्ता ‘सबैभन्दा गम्भीर अपराध’ मा मात्र मृत्युदण्ड दिनुपर्छ। यी मृत्युदण्डहरू चीन, साउदी अरेबिया (५७), इरान (२५५) र सिंगापुर (११) मा अभिलेख गरिएका थिए र यो सङ्ख्या विश्वव्यापी रूपमा अभिलेख गरेको कुल मृत्युदण्डको ३७% हो। लागूऔषधसम्बन्धी अपराधका लागि भियतनाममा पनि मृत्युदण्ड दिइएको हुनसक्छ, तर यी तथ्याङ्कहरू राज्यका गोप्य कुराका रूपमा रहेका छन्।
“एउटा निष्ठुर परिघटना हुनुपर्छ ज्ञात सबै मृत्युदण्डमध्ये लगभग ४० प्रतिशत लागूपदार्थसम्बन्धी अपराधहरूमा भएका छन्। महत्त्वपूर्ण कुरा, यस्तो मृत्युदण्डको सजाय पाउनेमा प्रायः विपन्न पृष्ठभूमिका व्यक्तिहरू छन् जो यस कठोर सजायका लागि असमानुपातिक रूपमा प्रभावित हुने गर्छन्,” आग्नेस कालामारले भनिन्। “सरकारहरू र संयुक्त राष्ट्रसंघले यस क्रूर मानवअधिकार उल्लङ्घनको लागि जिम्मेवारहरूलाई दबाब दिने र अन्तर्राष्ट्रिय सुरक्षा उपायहरू अवलम्वन गरिएको सुनिश्चित गर्ने समय आएको छ।”
मृत्युदण्डको सजाय कार्यान्वयनमा वृद्धि हुँदा मृत्युदण्डको सजायको कुल सङ्ख्या सन् २०२१ को २०५२ बाट थोरै घटेर सन् २०२२ मा २,०१६ भएकोले लगभग उस्तै रह्यो।
एउटा आशाको किरण
यो अँध्यारो पृष्ठभूमिमा एउटा आशाको किरण के रहेको थियो भने सन् २०२२ मा ६ वटा देशहरूले मृत्युदण्डको सजाय पूर्ण वा आंशिक रूपमा खारेज गरे।
काजकस्तान, पपुवा न्यू गिनी, सियरा लियोन र मध्य अफ्रिकी गणतन्त्रले सबै अपराधका लागि मृत्युदण्डको सजाय खारेज गरे र इक्वेटोरियल गिनी र जाम्बियाले सामान्य अपराधका लागि मात्र मृत्युदण्डको सजाय हटाए।
सन् २०२२ को डिसेम्बर सम्म ११२ देशहरूले सबै अपराधहरूको लागि मृत्युदण्डको सजाय खारेज गरेका थिए र ९ देशहरूले सामान्य अपराधहरूको लागि मात्र मृत्युदण्डको सजाय खारेज गरेका थिए।
यसका साथै, लाइबेरिया र घानाले मृत्युदण्डको सजाय उन्मूलन गर्नका लागि कानूनी कदम चालेकाले सकारात्मक गति जारी रह्यो, र श्रीलंका र माल्दिभ्सका अधिकारीहरूले मृत्युदण्डको सजाय कार्यान्वयन नगर्ने बताए। मलेसियाको संसदमा अनिवार्य मृत्युदण्ड खारेज गर्ने विधेयक पनि पेस गरिएको थियो।
“धेरै देशहरूले मृत्युदण्डलाई इतिहासको फोहोरको डब्बामा पठाइरहँदा अरूले पनि यस्तै गर्ने समय आएको छ। इरान, साउदी अरेबिया, चीन, उत्तर कोरिया र भियतनाम जस्ता देशहरूको क्रूर कार्यहरू अहिले अल्पसंख्यामा सीमित हुन पुगेको छ। यी देशहरूले तुरून्तै समयको गतिलाई समात्नु पर्छ, मानवअधिकारको रक्षा गर्नुपर्छ, र मानिसहरूलाई हत्या गर्नुको साटो उनीहरूलाई न्याय प्रदान गर्नुपर्छ, ” आग्नेस कालामारले भनिन्। “यसअघि भन्दा संयुक्त राष्ट्रसंघका सबैभन्दा धेरै १२५ सदस्य राष्ट्रहरूले मृत्युदण्ड कार्यान्वयनमा रोक लगाउन आह्वान गरिरहँदा एम्नेस्टी इन्टरनेसनलले यो घृणित सजायलाई इतिहासको रछ्यानमा पठाउन सकिने र पठाइने कुरामा यति धेरै आशा यस अघि कहिल्यै महसुस गरेको थिएन। तर सन् २०२२ को दुखद् तथ्याङ्कले हामीलाई के सम्झाएको छ भने अहिलेसम्मको उपलब्धिमा सन्तुष्ट रहेर बस्ने ठाउँ छैन र हामीले अझ धेरै गर्नुछ। हामी विश्वभर मृत्युदण्ड अन्त्य नभएसम्म अभियान जारी राख्नेछौं।”