नाइजेरियाको बिल्ले समुदायको खानेपानीमा ग्यास चुहावट: न्यायका लागि आवाज उठाऔँ!

Health

एम्नेस्टी इन्टरनेसनलले २०८३ जेठ १ (१५ मे २०२६) मा सार्वजनिक गरेको १० मिनेटको छोटो प्रतिक्रियात्मक भिडियोले नाइजेरियाको बिल्ले समुदायमा भइरहेको भयावह अवस्था उजागर गरेको छ। भिडियोमा, खानेपानीको धारा र हातेपम्पमा मिथेन ग्यास चुहावटका कारण पानीसँगै आगो बलिरहेको रहेको दृश्य अत्यन्तै डरलाग्दो छ।

एम्नेस्टी इन्टरनेसनलले यस अवस्थालाई जनस्वास्थ्यसँग जोडिएको गम्भीर आपतकालका रूपमा लिँदै नाइजेरिया सरकारलाई ग्यास चुहावटसम्बन्धी अनुसन्धान छिटो अघि बढाउन, चुहावट रोक्न तत्काल प्रभावकारी कदम चाल्न र बिल्लेका बासिन्दाहरूलाई स्वच्छ खानेपानी पुनः उपलब्ध गराउन निरन्तर आह्वान गरिरहेको छ।

बिल्लेका बासिन्दाको न्यायको लागि एम्नेस्टीले जारी गरेको अत्यन्त जरूरी अपिल (Urgent Action) यहाँ हेर्न सकिन्छ: https://www.amnesty.org/en/documents/afr44/0976/2026/en/

बिल्लेका बासिन्दाहरूको सुरक्षित जीवन, स्वास्थ्य र स्वच्छ पानीको अधिकारका लागि हाम्रो ऐक्यबद्धता आवश्यक छ।

यहाँले के गर्न सक्नुहुन्छ?

  • बिल्लेको अवस्थाबारे बनाइएको यस छोटो भिडियो Methane gas ignites fire at drinking water pump in Nigeria हेर्नुहोस् र अरूसँग साझा गर्नसक्नुहुन्छ।
  • खानेपानीमा आगो बल्ने अवस्था कुनै पनि समुदायका लागि स्वीकार्य हुन सक्दैन। यस अनलाइन पिटिसनमा हस्ताक्षर गरेर नाइजेरिया सरकारलाई तत्काल कदम चाल्न दबाब दिनसक्नुहुन्छ।
  • सामाजिक संजाल लगायत विभिन्न माध्यममार्फत यस मुद्दाबारे जनचेतना फैलाउन सक्नुहुन्छ।

थप जानकारी:

नाइजेरियाको नाइजर डेल्टामा अवस्थित बिल्ले शहरका बासिन्दाहरू अझै पनि गम्भीर जनस्वास्थ्य आपतकालको सामना गरिरहेका छन्। सन् २०२५ को अक्टोबरदेखि नजिकका नदी र दलदलहरूमा मिथेन ग्यास उम्लिन थालेको थियो र हाल कम्तीमा ७० प्रतिशत इनारहरू, नदी र दलदलजस्ता पानीका स्रोतहरू प्रभावित भएका छन्। सुरक्षाका कारण बिल्लेका विद्यालयका बालबालिकाहरूलाई अर्को समुदायमा सार्नु परेको छ।

७ अप्रिलमा नाइजेरियन अपस्ट्रिम पेट्रोलियम रेगुलेटरी कमिसनले बिल्ले पुगेर ग्यास चुहावटसम्बन्धी अनुसन्धान सुरू गरेको थियो र आसपासमा सञ्चालनमा रहेका तेल कम्पनीहरूलाई समाधान खोज्न निर्देशन दिएको थियो। यो सकारात्मक कदम भए पनि चुहावटको स्रोत पहिचान गर्न र त्यसलाई रोक्ने दिशामा पर्याप्त प्रगति हुन सकेको छैन।

Sign This Petition

2 signatures