- एम्नेस्टीले १८ महिनाको अनुसन्धानमा ५० भन्दा बढी ठगी केन्द्रहरूको अवलोकन गरेको छ
- पीडित उत्तरजीवीहरूले दिएको बयानले मानव बेचबिखन, दासत्व र जबरजस्ती श्रममा लगाइएकोले हजारौँ प्रभावित हुन पुगेको विवरण उजागर गरेको छ
- प्राप्त प्रमाणहरूले चिनियाँ आपराधिक गिरोहहरूद्वारा गरिएका दुर्व्यवहारमा राज्यको संलग्नता रहेको देखिएको सङ्केत गर्दछ
कम्बोडियाली सरकारले देशभर फैलिएका ५० भन्दा बढी ठगी केन्द्रहरूमा आपराधिक गिरोहहरूद्वारा व्यापक रूपमा गरिँदै आएको दासत्व, मानव बेचबिखन, बालश्रम र यातनाजस्ता मानवअधिकार उल्लंघनहरूको लामो श्रृङ्खलालाई जानाजान बेवास्ता गरिरहेको आज सार्वजनिक गरिएको एउटा नयाँ प्रतिवेदनमा एम्नेस्टी इन्टरनेसनलले जनाएको छ।
“म अरू कसैको वस्तु थिएँ”:” शीर्षकको प्रतिवेदनका लागि अन्तर्वार्ता लिइएका पीडितहरूले वास्तविक रोजगारीको आशामा आफूहरूले आवेदन दिएको विश्वास गरेकामा आफूहरूलाई जबर्जस्ती मानवतस्करी गरी कम्बोडिया लगेर जेलजस्ता बन्द परिसरहरूमा थुनेर राखिएको र विश्वभरका मानिसहरूलाई ठगी गर्ने अर्बौं डलरको छायाँ अर्थतन्त्रअन्तर्गतको अनलाईन ठगीधन्दा सञ्चालन गर्न बाध्य पारेको बताए।
“कम्बोडियाली सरकारको मौन सहमतिमा सञ्चालन भइरहेका आपराधिक गिरोहहरूका लागि काम गर्न झुक्याएर, तस्करीमा पारेर र दास बनाएर भर्ती गरिएका यी ठगी केन्द्रहरूबाट बाँच्न सफल व्यक्तिहरूले आफूहरू जिउँदो नर्कमा फसेको अनुभव सुनाएका छन्,” एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामारले भनिन्।
कम्बोडियाली सरकारको मौन सहमतिमा सञ्चालन
एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामार
भइरहेका आपराधिक गिरोहहरूका लागि काम गर्न
झुक्याएर, तस्करीमा पारेर र दास बनाएर भर्ती गरिएका
यी ठगी केन्द्रहरूबाट बाँच्न सफल व्यक्तिहरूले आफूहरू जिउँदो नर्कमा फसेको अनुभव सुनाएका छन्
“एसिया र अन्य क्षेत्रका रोजगारीको खोजिमा रहेका व्यक्तिहरूलाई राम्रो तलबको प्रलोभन देखाएर राम्रैसँग संगठित भएका गिरोहहरूद्वारा सञ्चालित नारकीय श्रम शिविरहरूमा लगेर उनीहरूलाई हिंसाको त्रासमा जबर्जस्ती ठगी धन्दामा लगाइएको थियो।
“एम्नेस्टीको अनुसन्धानले कम्बोडियाली अधिकारीहरूले रोक्न पर्याप्त प्रयास नगरेको एउटा भयावह तहको सङ्कटलाई उजागर गरेको छ। उनीहरूको विफलताले अन्तर्राष्ट्रिय रूपमा फैलिएको आपराधिक सञ्जाल दर्बिलो बनेको छ जसले ठगीहरूमार्फत विश्वभरका लाखौँ मानिसहरू प्रभावित भएका छन्।”
एम्नेस्टीका निष्कर्षहरूले ती ठगी केन्द्रहरू भित्र भइरहेका व्यापक मानवअधिकार उल्लंघनहरूको बावजुद पनि ती केन्द्रहरूलाई बन्द गर्न विफल भएका कम्बोडियाली प्रहरी र चिनियाँ ठगी केन्द्रका मालिकहरूबीच मिलेमतो तथा सम्भावित साँठगाँठ भएको संकेत गर्छन्।
“उच्च तलब र पौडी पोखरी“
यो विषयमा गरिएको अहिलेसम्मको सबैभन्दा व्यापक दस्तावेजीकरणमा एम्नेस्टीको २४० पृष्ठको प्रतिवेदनले कम्बोडियामा कम्तीमा ५३ वटा यस्ता ठगी केन्द्रहरूको पहिचान गरेको छ र विभिन्न आठ राष्ट्रियताका ५८ जना पीडित उत्तरजीवीहरूसँग अन्तर्वार्ता गरेको छ जसमा ९ जना बालबालिका पनि छन्। साथै, एम्नेस्टीले कम्बोडियाका ३३६ अन्य पीडितहरूको विवरणलाई पनि समीक्षा गरेको छ। अन्तर्वार्ता लिइएका व्यक्तिहरू ती केन्द्रहरूबाट भागेका, उद्धार गरिएका वा परिवारले फिरौती रकम बुझाएकाहरू रहेका थिए।
अन्तर्वार्ता लिइएका व्यक्तिहरूको बयानले एक व्यापक र हिंस्रक आपराधिक गतिविधिको विस्तृत झलक प्रस्तुत गर्दछ, जुन प्रायः कम्बोडियाली अधिकारीहरूको पूर्ण ज्ञानमा भइरहेको छ। यस ठगी संकटप्रति उनीहरूको अप्रभावकारी र यदाकदा भ्रष्ट प्रतिक्रियाले यस विषयमा उनीहरूको मौन सहमति रहेको जनाउँछ र जारी मानवअधिकार उल्लंघनमा राज्यको संलग्नता रहेकोतर्फ सङ्केत गर्दछ।
*लीसा नाम गरेकी, १८ वर्षकी एक जना पीडित उत्तरजीवी थाइल्याण्डमा विद्यालय बिदा भएको समयमा रोजगारी खोज्ने क्रममा तस्करीमा परेकी थिइन्। उनले भनिन्: “[भर्ती गर्नेहरूले] भनेका थिए कि म प्रशासनमा काम गर्नेछु … तिनीहरूले पौडी पोखरी भएको होटलको तस्वीर पठाए …तलब पनि धेरै थियो।”
तर लिसालाई रातिको समयमा नदी तारेर जबर्जस्ती कम्बोडिया लगियो, जहाँ उनलाई आफ्नो इच्छाविपरीत ११ महिना बन्दी बनाएर सशस्त्र सुरक्षागार्डहरूको निगरानीमा राखियो र ठगी धन्दाको काम गर्न बाध्य पारियो। भाग्ने प्रयास गर्दा उनलाई निर्ममतापूर्वक कुटपिट गरियो।
“त्यहाँ चार जना पुरुषहरू थिए… तिमध्ये तीन जनाले मलाई समातेका थिए र मालिकले मेरो पैतालामा फलामको डन्डाले प्रहार गरिरहेका थिए। उनीहरूले यदि म चिच्याउन छोडिन भने, चिच्याउन नछोडिन्जेलसम्म मलाई पिटिरहनेछन् भनी भने,” उनले भनिन्।
‘[उनीहरूको] शरीरमा निलडाम नदेखिन्जेल उनीहरूले पिटीरहे‘
१८ महिना लामो अनुसन्धानको एक भागको रूपमा एम्नेस्टी इन्टरनेसनलले कम्बोडियाभरिका १६ वटा शहरहरूमा अवस्थित ५३ वटा स्क्यामिङ कम्पाउन्डहरूमध्ये एउटा बाहेक सबैको भ्रमण गर्यो। साथै, एम्नेस्टी इन्टरनेसनलले स्क्यामिङ कम्पाउन्ड भएको आशंका गरिएको ४५ वटा यस्तै स्थलहरूको पनि भ्रमण गर्यो। धेरैजसो भवनहरूमा पहिले क्यासिनो र होटलहरू थिए जसलाई सन् २०१९ मा कम्बोडियाले अनलाइन जुवा प्रतिबन्ध लगाएपछि प्रायः चीनबाट आएका आपराधिक गिरोहहरूले पुन: प्रयोग गरेका थिए।
निगरानीको लागि क्यामेरा, पर्खाल वरिपरि काँडेतार जस्ता उपकरणहरू र प्रायः बिजुलीको झट्का दिने डन्डाहरू र केही अवस्थामा बन्दुकहरू बोकेर बस्ने ठूलो संख्याका सुरक्षाकर्मीहरू सहितको कम्पाउण्डहरू मानिसहरूलाई भित्र राख्नको लागि बनाइएका देखिन्थे। पीडित उत्तरजीवीहरूले त्यहाँबाट “भाग्न असम्भव रहेको” बताए।
धेरैजसो पीडितहरूलाई फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा पोस्ट गरिएका जागिरका भ्रामक विज्ञापनहरूद्वारा कम्बोडियामा लोभ्याइएको थियो। पीडित उत्तरजीवीहरूका अनुसार मानव तस्करीमा परेपछि उनीहरूलाई सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्ने मानिसहरूसँग सम्पर्क गर्न र उनीहरूलाई ठगी गर्ने उद्देश्यले कुराकानी सुरू गर्न बाध्य पारिएको थियो। यस्तो कुराकानीमा झुटो प्रेम वा लगानीका अवसरहरू, कहिल्यै डेलिभर नहुने सामाग्रीहरू बेच्ने वा “पिग बुचारिङ्ग” भनेर चिनिने पीडितहरूलाई आर्थिक शोषण गर्नु अघि उनीहरूसँग विश्वास निर्माण गर्ने कार्यहरू समावेश थिए।
अन्तर्वार्ता लिइएका एक जना बाहेक सबै पीडित उत्तरजीवीहरू मानव बेचबिखनका पीडित थिए भने सबैलाई हिंसाको धम्कीमा जबर्जस्ती श्रममा लगाइएको थियो। ३२ वटा घटनामा पीडित उत्तरजीवीहरू अन्तर्राष्ट्रिय कानुनअन्तर्गत परिभाषित दासत्वको शिकार थिए जहाँ कम्पाउन्ड प्रबन्धकहरूको उनीहरूमाथि नियन्त्रणको स्तर वास्तविक रूपमा स्वामित्व बराबर थियो भन्ने निष्कर्ष एम्नेस्टी इन्टरनेसनलले निकालेको छ। पीडित उत्तरजीवीहरूले आफू कम्पाउन्डमा बेचिएको वा त्यहाँ अन्य मानिसहरूको बिक्री भइरहेको पनि देखेको रिपोर्ट गरे। धेरैलाई उनीहरूले कम्पाउन्डको ऋण तिर्न बाँकी रहेको र ऋण तिर्नका लागि उनीहरूले काम गर्नुपर्ने कुरा पनि भनिएको थियो।
अन्तर्वार्ता लिइएका ५८ मध्ये ४० जना पीडित उत्तरजीवीहरूले यातना वा अन्य दुर्व्यवहार भोगेका थिए – जुन प्रायः कम्पाउन्ड प्रबन्धकहरूद्वारा गरिएको थियो। केही कम्पाउण्डहरूमा “अँध्यारो कोठा” भनेर चिनिने विशेष कोठाहरू रहेका थिए जुन काम नगर्ने वा कामको लक्ष्य पूरा गर्न नसक्ने वा अधिकारीहरूलाई सम्पर्क गर्ने मानिसहरूलाई यातना दिन तोकिएका ठाउँहरू थिए।
पीडित उत्तरजीवीहरूले बारम्बार कम्पाउण्ड भित्रै वा नजिक भएका मृत्युको बारेमा उल्लेख गरे; एकजना पीडित उत्तरजीवीले भवनको छतमा मानव शरिर बज्रिएको सुनेको वर्णन गरे। एम्नेस्टी इन्टरनेसनलले परिसर भित्र एक चिनियाँ बालकको मृत्यु भएको पनि पुष्टि गर्यो।
पीडित उत्तरजीवी *सिटीले एक भियतनामी व्यक्तिलाई कम्पाउन्डका मालिकहरूले लगभग २५ मिनेटसम्म कुटेको देखेको वर्णन गरे। उनले भने, “तिनीहरूले [भियतनामी व्यक्तिलाई] उनीहरूको शरीर …निलो… नहुन्जेल पिटिरहे अनि बिजुलीको डण्डा [प्रयोग गरे]। भियतनामीलाई चिच्याउन नसक्ने नहुँदासम्म, उठ्न नसक्ने नहुँदासम्म कुटे … त्यसपछि हाकिमले अर्को कम्पाउन्डले उसलाई किन्न नचाहेसम्म पर्खने बताए।”
अन्तर्वार्ता लिइएका नौ बालबालिकामध्ये पाँच जनालाई यातना वा अन्य दुर्व्यवहार गरिएको थियो। १७ वर्षीय थाई बालक *सावतलाई धेरै प्रबन्धकहरूले कुटपिट गरेको र उनलाई नाङ्गो पारेर भवनबाट हाम फाल्न बाध्य पारिएको बताए।
कम्बोडियाली सरकारको गम्भीर असफलता
पटक-पटक जानकारी गराउँदा पनि कम्बोडियाली सरकार स्क्यामिङ कम्पाउन्डहरूमा भइरहेका व्यापक मानवअधिकार उल्लङ्घनहरूको पर्याप्त रूपमा अनुसन्धान गर्न विफल भएको एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनले जनाएको छ।
“कम्बोडियाली अधिकारीहरू स्क्यामिङ कम्पाउन्डभित्र के भइरहेको छ भन्ने कुराका बारेमा राम्ररी जानकार छन्, तर उनीहरूले त्यसलाई निरन्तर जारी रहन दिएका छन्। आपराधिक क्रियाकलापलाई झाङ्गिन दिने र यसले सरकारको नियतप्रति नै प्रश्न उब्जाउने राज्यको विफलताका प्रवृत्तिहरूलाई हाम्रो अध्ययनले उजागर गरेको छ ,” एम्नेस्टी इन्टरनेसनलका क्षेत्रीय अनुसन्धान निर्देशक मोंटसे फेरेरले भनिन्।
कम्बोडियाली अधिकारीहरू स्क्यामिङ कम्पाउन्डभित्र के भइरहेको छ भन्ने कुराका बारेमा राम्ररी जानकार छन्, तर उनीहरूले त्यसलाई निरन्तर जारी रहन दिएका छन्।
एम्नेस्टी इन्टरनेसनलका क्षेत्रीय अनुसन्धान निर्देशक मोंटसे फेरेर
आपराधिक क्रियाकलापलाई झाङ्गिन दिने र यसले सरकारको नियतप्रति नै प्रश्न उब्जाउने राज्यको विफलताका प्रवृत्तिहरूलाई हाम्रो अध्ययनले उजागर गरेको छ
कम्बोडियाली सरकारले राष्ट्रिय मानवबेचबिखन नियन्त्रण समिति (एनसीसीटी) र थुप्रै मन्त्रालयगत कार्यदलहरूमार्फत स्क्यामिङ सङ्कट संबोधन गरिरहेको दाबी गरेको छ जसअन्तर्गत प्रहरीले पीडितहरूको “उद्धार” गर्ने कार्यहरू पनि गरेको छ। तर, एम्नेस्टीको प्रतिवेदनमा पहिचान गरिएका दुई तिहाईभन्दा बढी स्क्यामिङ कम्पाउन्डहरू प्रहरीको छापा र ‘उद्धार’ पछि पनि सञ्चालनमै रहेको पाइयो। बोटम साकोरमा रहेको एउटा कम्पाउन्डमा मानव बेचबिखनका घटना व्यापक रूपमा सञ्चारमाध्यमले उजागर गरिसकेका भएपनि र प्रहरीले पटक-पटक हस्तक्षेप गरी पीडितहरूलाई उद्धार गरेको भए पनि उक्त कम्पाउन्ड अझै खुला नै रहेको छ।
प्रहरी र स्क्यामिङ कम्पाउन्डका मालिकहरूबीचको समन्वय र सहकार्यका कारण प्रहरी आफ्नो काममा विफल भइरहेको देखिएको छ। उदाहरणका लागि, धेरै “उद्धार” घटनाहरूमा प्रहरी कम्पाउन्ड भित्र पसी अनुसन्धान गर्नुको सट्टा कम्पाउन्डको गेटमै व्यवस्थापक वा सुरक्षा गार्डसँग मात्र भेट गरी प्रहरी सहयोगको लागि फोन गरेका व्यक्तिहरूलाई बाहिर ल्याउने गरेको पाइयो। यसरी व्यवसायहरू यथावत् सञ्चालन भइरहेका छन्।
केही अन्य घटनाहरूमा पीडित उत्तरजीवीहरूले गोप्य रूपमा प्रहरीसँग सहायता माग्ने प्रयास गर्दा कम्पाउन्डका मालिकहरूलाई केही गरी थाहा भइहाल्थ्यो र त्यसपछि आफूहरू कुटपिट भोग्न बाध्य हुने गरेको बताए। एक जना भियतनामी पीडितले “प्रहरीहरूले कम्पाउन्डकै पक्षमा काम गर्ने र सहायता मागेको सूचना कम्पाउन्डका मालिकहरूसम्मै पुर्याइदिने” एम्नेस्टी इन्टरनेसनललाई बताए।
कम्पाउन्डबाट “उद्धार” गरिएका व्यक्तिहरूलाई प्रायः महिनौंसम्म कमजोर अवस्थाका आप्रवासन हिरासत केन्द्रहरूमा राखिन्थ्यो। कम्बोडियाली अधिकारीहरू मानव बेचबिखनका पीडितको रूपमा उनीहरूलाई मान्न र अन्तर्राष्ट्रिय कानुन अनुसार आवश्यक सहयोग प्रदान गर्न विफल भएका थिए।
यस्तै, स्क्यामिङ कम्पाउन्डका बारेमा आवाज उठाउनेहरूलाई अधिकारीहरूले लक्षित गर्दै आएका छन्। यस विषयमा काम गर्ने थुप्रै मानवअधिकारकर्मी र पत्रकारहरूलाई गिरफ्तार गरिएको छ र स्क्यामिङ सङ्कटसम्बन्धी समाचार प्रकाशन गरेको बदला स्वरूप देखिने गरी समाचार संस्था भोइस अफ डिमोक्रेसी (Voice of Democracy) लाई सन् २०२३ मा बन्द गरियो।
एम्नेस्टी इन्टरनेसनलले आफ्नो अनुसन्धानमार्फत फेला पारेका विवरणहरू एनसीसीटीलाई लाई पठाएको थियो, तर जवाफमा उसले कम्पाउन्डमा गरिएका कारबाहीहरूको अस्पष्ट तथ्यांक मात्र साझा गर्यो, जसले स्वतन्त्रता हरण गरिएको अवस्थाबाहेकका अन्य मानवअधिकार दुर्व्यवहारमा संलग्न व्यक्तिहरूलाई राज्यले पहिचान, अनुसन्धान वा अभियोजन गरे वा नगरेको भन्ने बारे स्पष्ट पारेन। उसले एम्नेस्टी इन्टरनेसनलले पठाएको स्क्यामिङ कम्पाउन्डहरू वा शंकास्पद स्थानहरूको सूचीमा समेत कुनै प्रतिक्रिया जनाएन।
“कम्बोडियाली सरकारले यी दुर्व्यवहारहरू रोक्न सक्थ्यो तर यसो गर्न चाहेन।प्रहरीले गरेका हस्तक्षेपहरू केवल ‘देखावटी’ जस्ता मात्र देखिन्छन्”, मोंटसे फेरेरले भनिन्।
“कम्बोडियाली अधिकारीहरूले अब कुनै पनि रोजगारी खोज्ने व्यक्तिहरूलाई यातना, दासत्व वा अन्य कुनै पनि मानवअधिकार उल्लङ्घनको सामना गर्न देशमा तस्करी हुन नदिन सुनिश्चित गर्नुपर्छ। उनीहरूले सबै स्क्यामिङ कम्पाउन्डहरूलाई तत्काल छानबिन गरी बन्द गर्नुपर्छ र पीडितहरूको उचित रूपमा पहिचान गरी उनीहरूलाई सहायता र संरक्षण गर्नुपर्छ। जब सरकारहरूले वेवास्ता गर्छन् तब दासत्व मौलाउँछ।”
एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनका लागि अन्तर्वार्ता लिएका पीडित उत्तरजीवीहरू चीन, थाइल्याण्ड, मलेसिया, बंगलादेश, भियतनाम, इन्डोनेसिया, ताइवान र इथियोपियाका थिए। तर एम्नेस्टीसँग भारत, केन्या, नेपाल र फिलिपिन्सलगायत अन्य थुप्रै देशका सयौं व्यक्तिका विवरणहरूमा पनि पहुँच रहेको थियो।
एम्नेस्टीले स्क्यामिङ कम्पाउन्डहरू तत्काल बन्द गर्न, पीडितहरूलाई पहिचान गरी अन्तर्राष्ट्रिय कानुनअनुसार आवश्यक सहायता र सुरक्षा प्रदान गर्न र अन्य देशका कामदारलाई मानव तस्करीमा पार्न नदिन कडा कदम चाल्न कम्बोडियाली सरकारलाई आह्वान गरेको छ।
पृष्ठभूमि
कुनै पनि व्यक्तिलाई दासत्व, दासत्वजनित श्रम वा जबर्जस्ती श्रममा पर्न नदिने सुनिश्चित गर्नु कम्बोडियाली राज्यको यातनालाई रोक्ने, निषेध गर्ने, अनुसन्धान गर्ने र अभियोजन गर्ने उसको जेम्मेवारी हो। मानवबेचबिखन चाहे सरकारी वा गैर-सरकारी पक्षहरू जोसुकैले गरेको भए पनि कम्बोडियाली सरकारले त्यसको प्रभावकारी रूपमा अनुसन्धान, अभियोजन र न्यायिक निवारण गर्नुपर्छ। उसले मानवबेचबिखनका पीडितहरूलाई पहिचान गर्नुपर्दछ र राहत प्रदान गर्नुपर्छ। साथै “उद्धार” का क्रममा पनि पीडितहरूको अधिकार र मर्यादामा थप कुनै प्रकारको आँच नपुग्ने सुनिश्चित गर्नुपर्दछ।
*सुरक्षाका कारण सबै पीडित उत्तरजीवीहरूका नाम परिवर्तन गरिएको छ
प्रतिवेदनसम्बन्धी थप जानकारी वा अन्तर्वार्ताका लागि press@amnesty.orgमा सम्पर्क गर्नुहोला।

