कतार: दुर्व्यवहार भोगेका आप्रवासी श्रमिकहरू लक्षित क्षतिपूर्ति कार्यक्रमका लागि फिफाले विश्वकप पुरस्कारका लागि छुट्याएको ४४ करोड अमेरिकी डलर बराबर रकम विनियोजन गर्नुपर्दछ।

सन् २०२२ को विश्वकपको तयारीका क्रममा कतारमा मानवअधिकार दुर्व्यवहार भोगेका लाखौं आप्रवासी श्रमिकहरूलाई क्षतिपूर्ति प्रदान गर्न फिफाले कम्तिमा ४४ करोड अमेरिकी डलर छुट्याउनुपर्ने कुरा एम्नेस्टी इन्टरनेसनलले विश्वकप प्रतियोगिता सुरू हुनु ६ महिना अघि आज सार्वजनिक गरिएको एउटा नयाँ प्रतिवेदनमा जनाएको छ।  

प्रतिवेदनसँगै सार्वजनिक गरिएको एउटा खुल्ला पत्रमा एम्नेस्टी इन्टरनेसनल र मानवअधिकार संस्थाहरूको सञ्जाल तथा फुटबलका प्रशंसक समूहहरूले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई एउटा विस्तृत क्षतिपूर्ति कार्यक्रम स्थापना गर्न कतारसँग सहकार्य गर्न आग्रह गरेका छन्।कतारमा आयोजना हुने प्रतियोगितासँग सम्बन्धित सबै श्रम दुर्व्यवहारका लागि क्षतिपूर्ति प्रदान गर्ने तथा भविष्यमा आयोजना हुने प्रतियोगिताहरूमा त्यस्ता दुर्व्यवहारहरू नदोहोरिने कुरालाई कतार र फिफा दुवैले सुनिश्चित गर्नुपर्दछ भनी उक्त पत्रमा जनाइएको छ।

श्रम सुरक्षाका लागि गर्नुपर्ने कुनै पनि आवश्यक सुधारका शर्तबिना नै फिफाले सन् २०१० मा कतारलाई विश्वकप आयोजना गर्ने जिम्मेवारी सुम्पेदेखि यता भएका श्रृङ्खलाबद्ध दुर्व्यवहारहरूमा क्षतिपूर्ति प्रदान गर्नका लागि यी संस्थाहरूले फिफालाई कम्तिमा विश्वकप खेलमा पुरस्कार स्वरूप प्रदान गर्नका लागि छुट्ट्याइएको ४४ करोड अमेरिकी डलर बराबरको रकम विनियोजन गर्न आह्वान गरेका छन्।

“कतारमा भएको मानवअधिकार ज्यादतीको इतिहासकै आधारमा पनि कतारलाई विश्वकप प्रतियोगिता आयोजना गर्न पुरस्कृत गर्ने बेलामा श्रमिकहरूमाथिको स्पष्ट रूपमा देखिने जोखिमहरूका बारेमा फिफालाई थाहा थियो नै वा फिफालाई यो कुरा थाहा पाएको नै हुनुपर्ने थियो। यति हुँदाहँदै, कतारी बोलपत्रको मूल्याङ्कनमा श्रमिक वा मानवअधिकारका बारेमा केही पनि उल्लेख गरिएन र श्रम सुरक्षासँग सम्बन्धित कुनै शर्तहरू राखिएनन्। त्यसपछि फिफाले ती जोखिमहरू रोक्न वा न्यूनीकरण गर्न अत्यन्तै न्यून प्रयास गरेको छ,” एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामार्डले भनिन्।

“संभावित मानवअधिकार दुर्व्यवहारहरूप्रति आँखा चिम्लिएर र यसलाई रोक्नमा विफल भएर फिफाले रंगशाला र आधिकारिक होटेलहरूबाहेक कतारमा विश्वकपसम्बन्धी परियोजनाहरूमा संलग्न आप्रवासी श्रमिकहरूको व्यापक दुर्व्यवहारमा निसन्देहः योगदान पुर्याएको छ।”

एम्नेस्टी इन्टरनेसनलले अनुमान गरेअनुसार क्षतिपूर्ति प्रदान गर्न र भविष्यमा श्रमिकहरूको अधिकारको संरक्षणको लागि गरिने पहलहरूका लागि ४४ करोड अमेरिकी डलरको न्युनतम आवश्यक हुन सक्नेछ। यद्यपि, भुक्तानी गर्न बाँकी रहेको पारिश्रमिक, लाखौं कामदारहरूले तिरेको चर्को भर्ना शुल्क र घाइते तथा मृत्यु भएकाहरूलाई दिनुपर्ने क्षतिपूर्तिको लागि चाहिने कुल रकम भने अझ बढी हुन सक्छ र यसको मूल्याङ्कन युनियन, नागरिक समाज संस्थाहरू, अन्तर्राष्ट्रिय श्रम संगठन र अन्यहरूसँगको सहभागितामूलक प्रक्रियाको आधारमा गरिनुपर्दछ।

“विगतका दुर्व्यवहारको पीडा मेट्न धेरै ढिला भएतापनि फिफा र कतारले क्षतिपूर्ति प्रदान गर्न र भविष्यमा यस्ता दुर्व्यवहार हुनबाट रोक्न सक्दछन् र उनीहरूले यसो गर्नु पनि पर्दछ। यस प्रतियोगितालाई सम्भव बनाउन धेरै मेहनत गरेका श्रमिकहरूलाई क्षतिपूर्ति प्रदान गर्ने तथा त्यस्ता दुर्व्यवहारहरू पुनः कहिल्यै नहोस् भन्ने सुनिश्चित गर्नका लागि आवश्यक कदमहरू चाल्ने कार्यले मानवअधिकारको सम्मानप्रति फिफाको प्रतिबद्धताका सवालमा एउटा प्रमुख निर्णायक मोडको प्रतिनिधित्व गर्न सक्दछ,” आग्नेस कालामार्डले भनिन्।

अपूरो जिम्मेवारी र दायित्व


व्यवसाय र मानवअधिकारसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय मार्गनिर्देर्शक सिद्धान्तहरूमा उल्लेख गरिएझैं र आफ्नै नीतिहरूमा मान्यता दिइएअनुरूप फिफाले आफ्नो कारणबाट भएका मानवअधिकार दुर्व्यवहारहरूको उपचार प्रदान गर्ने जिम्मेवारी वहन गरेको हुन्छ। यो जिम्मेवारीअन्तर्गत रंगशाला र प्रशिक्षण स्थल, फिफाद्वारा मान्यता प्राप्त होटल र प्रसारण केन्द्रहरूजस्ता फुटबलसँग सम्बन्धित पूर्वाधारहरू निर्माण गर्ने श्रमिकहरू मात्र नभई यी पूर्वाधारहरू सञ्चालन गर्न आवश्यक सेवाहरूमा संलग्न श्रमिकहरूलाई समेत समेटिनुपर्दछ। यसले यो प्रतियोगिता हेर्न कतार आउने आशा गरिएका दश लाख भन्दा धेरै आगन्तुकहरूको व्यवस्थापनका लागि आवश्यक यातायात, आवास र अन्य पूर्वाधार निर्माण र संचालन गर्नमा संलग्न श्रमिकहरूलाई पनि समेट्नुपर्दछ। त्यसैगरी, आफ्नो भू-भागमा हुने हरेक दुर्व्यवहार – चाहे त्यो विश्वकपसँग सम्बन्धित होस् या नहोस् – मा उपचार सुनिश्चित गर्ने दायित्व कतारको पनि रहेको छ। सुप्रिम कमिटी अन डेलिभरी एण्ड लेगेसीको पहल र कतारको श्रम सुधारसँग सम्बन्धित स्वागतयोग्य कार्यक्रममार्फत केही प्रगति भएको भए पनि तिनीहरूको सीमित दायरा र फितलो कार्यान्वयनले गर्दा गम्भीर मानवअधिकार ज्यादतीहरू जारी रहेको र ज्यादतीविरूद्धको उपचारमा आप्रवासी श्रमिकहरूको सीमित पहुँच रहेको बुझिन्छ। अन्ततः गएको दशकमा यस विश्वकपका लागि आवश्यक सबै परियोजनाहरूमा संलग्न श्रमिकहरूले भोगेका दुर्व्यवहारहरू धेरै हदसम्म संवोधन भएका छैनन्।

“यस विश्वकपलाई सम्भव बनाउनेहरूको पीडालाई वर्षौंदेखि लुकाइएको छ।अब फिफा र कतारले सहकार्य गरी श्रमिकहरूलाई केन्द्रमा राख्नेगरी र श्रमिकले झेलेका कुनै पनि हानिहरूलाई संबोधन नगरिएको अवस्था नहोस् भन्ने सुनिश्चित गर्ने गरी एउटा विस्तृत क्षतिपूर्ति कार्यक्रम ल्याउन फिफा र कतारले सहकार्य गर्ने समय हो,” आग्नेस कालामार्डले भनिन्।

“अन्तर्राष्ट्रिय कानुन र फिफाको आफ्नै नियम पुस्तिकाअनुरूप मानवअधिकार उल्लङ्घन रोक्ने र पीडितहरूलाई उपचार प्रदान गर्ने दायित्व र जिम्मेवारी कतार र फिफा दुवैमा रहेको छ। एम्नेस्टी इन्टरनेसनल र अन्यहरूले आह्वान गरिरहेको क्षतिपूर्ति कोष दुर्व्यवहारको अवस्थालाई हेर्दा पूर्णतया उचित रहेको छ र यो फिफाले यस प्रतियोगिताबाट कमाउने ६ अरब अमेरिकी डलरको सानो अंश मात्र हो।”   

श्रमिक, ट्रेड युनियन, अन्तर्राष्ट्रिय श्रम संगठन र नागरिक समाजको पूर्ण सहभागितामा एउटा कार्यक्रम स्थापना गर्न एम्नेस्टी इन्टरनेसनलले फिफा र कतारलाई आह्वान गरिरहेको छ। उनीहरूले सन् २०१३ मा बङ्गलादेशको राना प्लाजामा १,३०० भन्दा बढी श्रमिकहरूको ज्यान जाने गरी भएको विपत्तिपछिको क्षतिपूर्ति कार्यक्रम जस्ता अन्य कार्यक्रमहरूको अनुभवबाट पनि पाठ सिक्नुपर्दछ।

आप्रवासी श्रमिकहरूको मानवअधिकार उल्लङ्घन नदोहोरियोस् र भावी सबै प्रतियोगिताहरू आयोजना गर्ने जिम्मेवारी दिनेक्रममा मानवअधिकारका जोखिमहरूको पर्याप्त मूल्याङ्कनका साथै पहिचान गरिएका सम्भावित दुर्व्यवहारहरू रोक्न र न्यूनीकरण गर्नका लागि स्पष्ट कार्ययोजना सुनिश्चित गर्नका लागि पनि एम्नेस्टी इन्टरनेसनलले फिफालाई आह्वान गरेको छ। सन् २०२६ को फिफा विश्वकपका लागि बोलपत्र आह्वान प्रक्रियामा नयाँ मानवअधिकारको मापदण्ड लागू गरिएको छ। तर यसभन्दा पहिला चीनमा र त्यसपछि संयुक्त अरब इमिरेट्सलाई सन् २०२१ को  फिफा क्लब विश्वकपको आयोजना गर्ने जिम्मेवारी प्रदान गर्ने निर्णयमा यी मापदण्डहरू लागू भएको देखिँदैन।

पृष्ठभूमि

सन् २०१० देखि विश्वकप २०२२ आयोजना गर्न आवश्यक रङ्गशाला, होटल, यातायात र अन्य पूर्वाधारहरू निर्माण कार्यमा संलग्न लाखौं आप्रवासी श्रमिकहरूले मानवअधिकार दुर्व्यवहारको सामना गर्दै आएका छन्। उदाहरणका लागि, अधिकांश आप्रवासी श्रमिकहरूले कतारमा आफ्नो रोजगारी सुनिश्चत गर्नका लागि प्रति श्रमिक औसत १,३०० अमेरिकी डलरभन्दा बढी गैरकानुनी भर्ना शुल्क तिरेका छन् भने सन् २०२० अघि सबै श्रमिकहरूलाई आफ्ना रोजगारी परिवर्तन गर्न वा कतार छाड्नबाट प्रतिबन्ध लगाइएको थियो। कतारमा आप्रवासी श्रमिकहरूले भोग्नु परेको मानवअधिकार दुर्व्यवहारहरूबारे थप जानकारीका लागि यहाँ हेर्नुहोस्

सन् २०१८ देखि कतारले श्रमिकहरूको अधिकारमा सुधार ल्याउने उद्देश्यले एकपछि अर्को महत्वपूर्ण श्रम सुधारका कार्यक्रमहरू लागू गरेको छ तर कार्यान्वयन नहुनाले दुर्व्यवहारहरू कायमै छन्। सन् २०१४ मा पनि सुप्रिम कमिटीज वर्कर वेलफेयर स्ट्याण्डर्डमार्फत रंगशाला जस्ता फिफासँग सम्बन्धित आधिकारिक पूर्वाधार निर्माणस्थलहरूमा काम गर्ने श्रमिकहरूका लागि सुधार कार्यक्रम लागू गरिएको थियो तर यी मापदण्डहरूलाई सामान्यतया सम्मान गरिएको छैन र विश्वकपसँग सम्बन्धित परियोजनाहरूमा कार्यरत लाखौं श्रमिकहरूहरूमध्ये थोरैलाई मात्र यसमा समेटिएको छ।  आधिकारिक विश्वकप पूर्वाधार निर्माणास्थलहरूमा कार्यरत ४८,००० श्रमिकहरूको भर्ना शुल्क भुक्तानी गर्न ठेकेदारहरूसँग गरिएको सम्झौतालाई सुप्रिम कमिटीले सन् २०१८ मासुरूवात गरेको एउटा सकारात्मक पहलका रूपमा लिन सकिनछ। तथापि यसलाई पनि विश्वकपका लागि अत्यावश्यक परियोजनाहरूमा काम गर्ने सबै श्रमिकहरूहरूमध्ये थोरैको हकमा मात्र लागू गरिएको छ।

एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनउपर फिफाको प्रतिक्रिया यहाँ अनुसूचीमा उपलब्ध छ।

समाप्त

पीडिएफमा डाउनलोड गर्नुहोस्।