नेपालमा श्रम, रोजगारी र श्रमिकहरूको अवस्था के छ ?
नेपालको संविधानले श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेको भएतापनि देशमा रोजगारीको स्थिति र श्रमिकको अवस्था भने सन्तोषजनक छैन । श्रमशक्तिको आपूर्ति र मागमा ठूलो अन्तर छ । अर्थ मन्त्रालयको अध्ययनअनुसार श्रम बजारमा वार्षिक पाँच लाखभन्दा बढी श्रमशक्ति थपिन्छन् । आन्तरिक/स्थानीय श्रमबजारमा पर्याप्त र सम्मानजनक रोजगारको अवसर सिर्जना हुन नसकेकाले प्रत्येक वर्ष चार लाखभन्दा बढी युवा रोजगारीका लागि खाडी, मलेसिया लगायत अन्य मुलुकतिर विदेशिनुपर्ने अवस्था छ । मुलुकभित्रै रोजगारीको अवसर पाएको ९६ प्रतिशत श्रमशक्ति अनौपचारिक क्षेत्रमा र चार प्रतिशत मात्रै औपचारिक क्षेत्रमा कार्यरत छ । औपचारिक क्षेत्रमा कार्यरत जनशक्तिको हक,अधिकार र पेशागत तथा सामाजिक सुरक्षाका लागि केही कानुनी व्यवस्था भए पनि असङ्गठित, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको अवस्था चिन्ताजनक छ । त्यस्तै विदेशमा ४० लाखभन्दा बढी नेपाली आप्रवासी श्रमिक युवाहरू कार्यरत छन् । एम्नेस्टी इन्टरनेसनलको पछिल्लो अध्ययन “मानिसलाई मुनाफामा परिणत गरिँदै” (“Turning People into Profits”) का अनुसार नेपाली आप्रवासी श्रमिकहरू ठगी र जालसाजीमा परिरहेका छन् । उनीहरूले बन्धक श्रमिकको रूपमा आप्रवासन गर्नुपरेको छ र यसले उनीहरूलाई वैदेशिक रोजगारीका क्रममा थप मानवअधिकार र श्रमिकअधिकार ज्यादतीको जोखिममा पुर्याएको छ । त्यस्तै नेपालको महिला श्रम शक्ति सहभागिता (Female Labor Force Participation) दर दक्षिण एसियाका राष्ट्रियहरूमध्ये उच्च (८०५) स्थानमा भएता पनि नेपाली महिलाहरू आफूलाई श्रमिक महिलाको रूपमा स्थापित गराउन संघर्षरत छन् । नेपालमा महिलाको काम विशेष गरी घरेलु कामकाज र हेरचाहको काम (care work) अदृश्य छ र यिनलाई श्रमको रूपमा पहिचान दिइएको छैन । असमान ज्याला, लामो कार्यसमय, कार्यस्थलमा हुने विभेद, दुर्व्यवहार, शोषण आदि नेपाली महिला श्रमिक त्यसमा पनि अनौपचारिक र मनोरन्जन क्षेत्रमा श्रम गर्ने महिलाहरूका प्रमुख चुनौतीहरू हुन् ।