डोनाल्ड ट्रम्पको संशोधित अध्यागमन प्रतिबन्धमा मुस्लिमहरुप्रति डरको दृष्टिले हेर्ने नीति अवलम्बन गरिएको देखिन्छ र भाइरसजस्तै यो अझ गहिरो चोटमा परिवर्तन हुदै जाने सलिल शेठ्ठी तर्क गर्छन् ।
यमनको ताइज क्षेत्रमा अवस्थित उनीहरुको घर वरिपरि गोलाबारी हुँदा त्यति बेला क्रमशः १६ र १८ बर्षका याहिया र माहेर घरको भ¥याङ मुनि लुक्नपुगेका थिए । खानेकुरा र पानी दिनानुदिन कम हुँदै गएको अवस्थामा उनीहरुले त्यहाँ तीन दिन बिताएका थिए । चौथो दिनको मिरमिरे उज्यालोमै उनीहरु गोली छल्दै त्यहाँबाट भागे । “उनीहरु दौडिंदै गर्दा उनीहरुको खुट्टै नजिक गोली बर्सिरहेको थियो,” उनीहरुका आमा फातिमाले भनिन्,“धन्य, उनीहरुलाई चोटपटक लागेन ।”
ग्रीन कार्ड पाइसकेकी फातिमा आफू हाल बसोबास गर्ने न्यूयोर्कमा आफ्ना छोराहरु पनि आइपुग्ने ठूलो आशा लिएर पर्खिरहेकी छिन् । अमेरिका आउन आवेदन दिएको झण्डै दुई बर्षपछि हाल १८ र २० बर्ष पुगेका ती दाजुभाईले उनीहरु हाल अलपत्र परेको देश जिबुतीस्थित अमेरिकी दुतावासमा गत नोभोम्बर महिनामा अन्तर्वार्ता दिएका थिए । अन्तर्वार्ता राम्रो भयो र उनीहरु आफ्नो परिवारसँग पुनर्मिलन हुने लामो पर्खाइ अब चाँडै अन्त्य हुने आशमा थिए ।
तर डोनल्ड ट्रम्पले अमेरिका प्रवेशमा लगाएको प्रतिबन्धले त्यो सबै परिवर्तन गरिदियो ।
सोमवार, पहिलो आदेश अमेरिकी अदालतले रोक्का गरिदिएको तीन हप्ता भन्दा बढी समय पछि ह्वाइट हाउस अर्थात राष्ट्रपतिको कार्यालयले एउटा संशोधित कार्यकारी आदेश जारी गरेको छ । एउटा कलमको बलमा राष्ट्रपतिले याहिया र माहेर जस्ता यमनीहरुलाई अमेरिका प्रवेशमाथि प्रतिबन्ध लगाइदिएका छन् । उनले सिरिया, इरान, लिबिया, सोमालिया र सुडानबाट आउने शरणार्थीसमेत जो कोहीलाई अमेरिकाको ढोका बन्द गरिदिएका छन् । यी छ वटा राष्ट्रहरुमा दुई वटा कुरा समान छन् ः उनीहरु मुस्लिम बहुल देश हुन् र उनीहरुका धेरै नागरिकहरु उत्पीडन, बमबारी र यातना जस्ता गम्भीर मानवअधिकार
उल्लङ्घनबाट बच्न विदेशमा शरण लिने प्रयास गरिरहेका छन् ।
नयाँ कार्यकारी आदेशको कार्यक्षेत्रलाई केही हदसम्म सीमित गरेर ट्रम्प प्रशासनले आफ्नो पछिल्लो संवैधानिक त्रुटीलाई सच्याउने काम गरे तापनि यो अझै पनि स्पष्ट रुपमा भेदभावपूर्ण छ । राष्ट्रिय सुरक्षा कदम भन्ने आवरण ओडाइएको भए तापनि प्रतिबन्धले यस अघिको आदेशको सबै घृणास्पद तत्वहरुलाई पुनःस्थापित गर्ने काम गर्दछ ।
राष्ट्रपति ट्रम्पले सन् २०१५को आफ्नो चुनावी अभियानमा अमेरिका आउनबाट सबै मुस्लिमहरुलाई प्रतिबन्धित गर्ने सार्वजनिक रुपमा अभिव्यक्ति दिएका थिए । व्यापक प्रतिरोधका कारण र सम्भवत आफ्ना वकिलहरुको परामर्शमा उनले पहिला प्रस्तावित प्रतिबन्धको कार्यक्षेत्रलाई कम गर्दै आफ्नो भाषालाई परिवर्तन गरेर मुस्लिमहरुलाई निशाना बनाउनेबाट खास देशलाई निशाना बनाउनेमा पुगे । यो परिवर्तन निकै सुझबुझका साथ गरिएको थियो । जुलाई २०१६ मा एनबीसीलाई उनले यस्तो व्याख्या गरेका थिए ः“मैले मुस्लिम शब्द प्रयोग गर्दा मानिसहरु यति रिसाए की,” उनले भने । “तपाईंले मुस्लिम शब्द प्रयोग गर्न पाउनुहुन्न । यसलाई याद राख्नु । र म त्यससँग सहमत छु, किनभने मैले मुस्लिमको सट्टा भूभागको कुरा गरिरहेको छु ।”
उनको सो प्रतिबन्धमा विदेशीप्रतिको घृणाको नियतलाई लुकाउने प्रयासले सङ्घीय जिल्ला र पुनरावेदनका न्यायधीशहरुलाई झुक्याउन सकेन, र उनीहरुले राष्ट्रिय सुरक्षाको उनको तर्कलाई अविश्वसनीय ठहर गरे ।
वास्तवमा शरणार्थीहरुले अन्यको तुलनामा आतंकवादी कार्य गर्ने खतरा बढी हुन्छ भन्ने विचार झुठो हो । आतंकवादी कार्य गर्ने भन्दा पनि शरणार्थी भनेको आतंकवादी कार्य गर्ने व्यक्तिहरुबाट भागिरहेको व्यक्ति हो ।
यो सत्यलाई केही समयअघिसम्म अमेरिकाले स्पष्ट रुपमा स्वीकारेको थियो । सन् १९८० मा स्थापना भएको अमेरिकाको शरणार्थी भर्ना कार्यक्रमले ३० लाख भन्दा बढी शरणार्थीहरुको सफलतापूर्वक पुनर्वास गराइसकेको छ । विश्वका सबैभन्दा संकटापन्न व्यक्तिहरुका लागि यो एउटा आशाको दियोको रुपमा स्थापित भइसकेको छ ।
त्यो आशाको दियोलाई मधुरो बनाइदिएर यो कार्यकारी आदेशले अमेरिकी सरकार इस्लामसँग युद्धमा छ भन्ने दावी गर्नेहरुलाई फाइदा पुर्याउने काम गर्नेछ । आफूलाई इस्लामिक स्टेट बताउने सशस्त्र समूहका सदस्यहरुले विगतको कार्यकारी आदेशलाई “मुबारक प्रतिबन्ध” भनी उदृत गरेको कुरा अघिल्लो महिना सम्प्रेषित समाचारमा आएको थियो, किनभने त्यसले उनीहरुलाई अमेरिकी विरोधी भावना जागृत गराउन मद्दत गर्नेछ ।
ट्रम्प प्रशासनको नियत कानुनी जाँचलाई प्रतिरोध गर्ने नीति निर्माण गर्नु रहेको छ । पहिलो प्रतिबन्धको ज्यादतिहरुलाई नियन्त्रण गर्नुभन्दा पनि संशोधित आदेशले मुस्मिलहरुप्रति डरको दृष्टिले हेर्ने नीति प्रस्तुत गर्छ, र त्यो एउटा भाइरस जस्तै अझ गहिरो चोटमा परिवर्तन् हुँदै जानेछ । र एउटा भारसलाई जस्तै यसका प्रभावलाई पनि सजिलै नियन्त्रण गर्न सकिंदैन ।
अपरिचित भूमिमा साथीभाइ र काम दुवै नभएका याहिया र माहेरका लागि जीवन कठोर छ । आफूलाई अमेरिकामा सुरक्षित महसुस गर्न छाडेकी फातिमा भन्छिन, “मेरा छोराहरु आफूलाई पूर्ण रुपमा निरीह र हराएको अनुभव गरिरहेका छन्, ।” “राष्ट्रपति ट्रम्पले लिएका यी निर्णयहरुले हामीलाई हरपल डरको अनुभूति गराइरहेको छ । जीवनमा कहिल्यै कुनै पनि कुरा गलत नगरेको भए तापनि हामी आफूलाई संदिग्ध महसुस गरिरहेका छौं ।”
यो प्रतिबन्धले प्रतिनिधित्व गर्ने सबै विषयलाई चुनौती दिने कुरा हामीमा निर्भर छ । यो प्रतिबन्धको विश्वभरि विरोध भइरहेको छ र अमेरिकामा आज (मंगलवार) एम्नेस्टी इन्टरनेसनलले नेसनल डे अफ एक्सनको आयोजना गरिरहेको छ । देशभरी सबै आस्था र पृष्ठभूमिका अमेरिकीहरु एकत्रित भएर कँग्रेसलाई यो प्रतिबन्धलाई अस्वीकार गरी युद्धबाट राहत र शरण खोजिरहेका याहिया र माहेर जस्ता शरणार्थीहरुका लागि आशा पुनस्र्थापित गर्न माग गर्नेछन् ।
(सबै नामहरु परिवर्तन गरिएका छन् । सलिल शेठ्ठी एम्नेस्टी इन्टरनेसनलका महासचिव हुन् । यो आलेख पहिलो पटक सिएनएनमा प्रकाशित भएको थियो ।)