४ कार्तिक २०७७
एम्नेस्टी इन्टरनेसनलको एउटा नयाँ प्रतिवेदनले अत्यधिक कामको बोझ, विश्रामको अभाव, दुर्व्यवहार र अपमानजनक व्यवहारका कारण कतारमा कार्यरत आप्रवासी घरेलु श्रमिकहरू कसरी विक्षिप्त हुने अवस्थामा धकेलिएका छन् भने बारे खुलासा गरेको छ । आवासीय घरेलु श्रमिकको रूपमा कतारमा कार्यरत १०५ जना महिलाहरूसँग यस संस्थाले कुराकानी गरेको थियो । सरकारद्वारा श्रमिकको काम गर्ने स्थिति सुधार्ने उद्देश्यले भएका प्रयासहरूका बाबजुद अझै पनि उनीहरूको अधिकारको दुर्व्यवहार र उल्लङ्घन भइरहेको पाइयो । केही महिलाहरूले त आफूहरू यौन दुर्व्यवहार जस्तो गम्भीर अपराधको शिकार भएको समेत बताएका छन् ।
सन् २०१७ मा कतारले घरेलु श्रमिक ऐन लागू गरेको थियो जसले काम गर्ने दैनिक समयसीमा तोक्नुका साथै अनिवार्य दैनिक विश्राम, हप्ताको एक दिन बिदा र तलबी बिदाको व्यवस्था गरेको थियो । तीन वर्ष बितिसक्दा पनि एम्नेस्टीले सम्पर्क गरेका १०५ मध्ये ९० महिलाले नियमित रूपमा प्रति दिन १४ घण्टा भन्दा धेरै काम गरेको जनाएका छन् । त्यस्तै ८९ जनाले नियमित रूपमा हप्ताको सातै दिन काम गरेको र ८७ जनाले त उनीहरूको रोजगारदाताले आफ्नो राहदानीसमेत जफत गरेको बताएका छन् । आधाजसो महिलाले दैनिक १८ घण्टा भन्दा धेरै काम गरेको र सबैले एक दिन पनि कहिल्यै बिदा नपाएको बताए । केहीले उचित पारिश्रमिक नपाएको र ४० जना महिलाले त आफूलाई अपमान गरिएको, झापड हानिएको र थुकिएको समेत जनाएका छन्। एक महिलाले आफूलाई “कुकुर सरह” व्यवहार गरेको बताइन् ।
“सन् २०१७ मा ल्याइएको घरेलु श्रमिक ऐन कतारमा श्रमिकअधिकार संरक्षणको सवालमा भएको एउटा अग्रगामी कदम थियो । तर दुखद् कुरा के छ भने हामीले कुरा गरेको महिलाका अनुभवहरूले यी सुधारहरूलाई ठीकसँग कार्यान्वयन वा लागू नगरिएको स्पष्ट भएको छ” एम्नेस्टीका आर्थिक, सामाजिक न्याय शाखाका प्रमुख स्टिभ कक्बर्नले भने ।
“घरेलु श्रमिकहरूले हामीलाई दिनको औसत १६ घण्टा सम्म र हप्तैभरी काम गरेको सुनाए जुन कानुनले निर्धारण गरेको भन्दा धेरै हो । लगभग सबैको राहदानी रोजगारदाताले जफत गरेका थिए र अन्यले भने आफ्नो पारिश्रमिक नपाएको र आफूलाई क्रूर आक्रमण र अपमानको शीकार बनाइएको विवरण दिएका छन् । यो समग्र अवस्थाले कतारमा रोजगारदाताले घरेलु श्रमिकलाई मानिस भन्दा वस्तुको रूपमा व्यवहार गर्न पाउने प्रणाली विद्यमान रहेको चित्रण गर्दछ” ।
कतारमा लगभग १ लाख ७३ हजार घरेलु आप्रवासी श्रमिकहरू छन् । एम्नेस्टी इन्टरनेसनलले अन्तर्वार्ता लिएका केही महिलाहरू अझै उनीहरूको काममा थिए । केही भने काम छाडिसकेका भएपनि कतारमै बसिरहेका थिए । र अन्य श्रमिकहरू भने आफ्नो देश फर्किसकेका थिए । श्रमिक महिलाहरूले विवरण दिएका रोजगारदाताहरू पनि विभिन्न देशबाट आएका थिए । पहिचानको गोपनीयताका लागि सबैको नाम परिवर्तन गरिएको छ ।
घरेलु श्रमिक ऐन पालना भएको सुनिश्चतताका लागि आवश्यक निरीक्षण संयन्त्रको अभाव र रोजगारदातालाई आफ्नो श्रमिकहरूमाथि अत्यधिक नियन्त्रण गर्ने अधिकार दिइराखेको कतारको सपोन्सरसिप प्रणालीलगायत अन्य विविध कारक तत्त्वहरूको समिश्रणको परिणामस्वरूप यस प्रतिवेदनमा अभिलिखित दुर्व्यवहारहरू फस्टाएका हुन्। दुर्व्यवहार र आपराधिक कार्यहरूको विरुद्ध अधिकारीहरूसमक्ष उजुरी दिन महिलाहरूले अनेक व्यवधानहरू सामना गर्नुपर्दछ र यसले गर्दा दण्डहीनता व्यापक छ ।
सुधारहरू
कतारले हालका वर्षहरूमा आप्रवासी श्रमिकहरूको काम गर्ने अवस्था सुधारका लागि धेरै पहलहरू गरेको छ। घरेलु श्रमिक र उनीहरूका रोजगारदाताका लागि सचेतना अभियान शुरू गरेको छ र घर बाहिर बस्ने घरेलु श्रमिकका लागि एउटा पाईलट कार्यक्रम लागू गरेको छ ।
पछिल्लो समय कतारले न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ र काम परिवर्तन गर्न वा देश छोड्नका लागि रोजगारदाताको अनुमति पेश गर्नु पर्ने आवश्यकतालाई अन्त्य गरेको छ । यी नयाँ कानुनी परिवर्तनहरूले श्रमिकलाई शोषणकारी रोजगारदाताहरूबाट उम्कन सजिलो बनाउन सक्ने भएतापनि सुरक्षाको सुदृढीकरण र कानुन कार्यान्वयनको सुनिश्चिचतताका लागि अतिरिक्त उपायहरूबिना यिनले उल्लेखनीय रूपमा दुर्व्यवहार नघट्ला र घरेलु श्रमिकको अवस्थामा पनि सुधार नआउला ।
ज्यादै कष्टकर कार्य अवधि
घरेलु श्रमिकहरूले भोगेका दुर्व्यवहारमध्ये बिना विश्राम लामो समयसम्म काम गर्नुपर्ने कुरा सबैभन्दा धेरै देखिएको साझा समस्या रहेको छ । उनीहरूको करारपत्रअनुसार घरेलु श्रमिकहरूले धेरैमा १० घण्टा र हप्ताको ६ दिन मात्र काम गर्नु पर्दथ्यो । यो अन्तराष्ट्रिय श्रम सङ्गठनले निर्धारण गरेको भन्दा पनि उच्च मापदण्ड हो । तर एम्नेस्टीले कुराकानी गरेका प्राय महिलाहरूले यो भन्दा धेरै नै बढी समय काम गरिरहेका थिए । उनीहरूले दिनको औसत १६ घण्टा काम गर्थे र यो हप्तामा ११२ घण्टा हुन पुग्दछ । तर उनीहरूलाई अतिरिक्त समय काम गरेकोमा कुनै पारिश्रमिक दिइएको छैन । यसको अर्थ धेरै जसो महिला करारपत्रमा उल्लेख गरिएको भन्दा दोब्बर समय काम गरिरहेका थिए ।
४५ वर्षीया फिलिपिनी महिला रिनाले* दिनमा दुई घण्टा मात्रै सुत्न पाएकाले कसरी आफू कार दुर्घटनामा परिन् भन्ने कुरा यसरी बताउछिन् :
“म सुत्नका लागि भनेर बिहान १ बजे गए तर ३ बजे मालिककी १७ वर्षीय छोरीले मलाई उठाईन र उनलाई रेड बुल किनेर ल्याइदिन अनुरोध गरिन् । अनि बिहान ५.३० बजेदेखि मैले गाडी धुँदै र बालबच्चालाई विद्यालयसम्म पुर्र्याउने तयारी गरी आफ्नो दैनिक कार्य शुरू गरेँ, र बेलुकी 10 बजे गाडी भित्तामा ठोकाएँ ।”
घरेलु श्रमिक ऐनले धेरैमा दैनिक १० घण्टा सम्म मात्र काम गर्ने समय निर्धारण गरेको छ । तर श्रमिकको सहमतिमा यो समयलाई विस्तार गर्न सकिने प्रावधान पनि उक्त कानुनमा रहेको छ । तर घरेलु श्रमिकहरूको निर्भरताबाट उत्पन्न भएको अन्तर्निहित शक्ति असंतुलनले रोजगारदाताहरू दुर्व्यहवारबाट उम्कने छुट पाउँछन् । आफूलाई आरामको आवश्यकता रहेको भएपनि रोजगारदाताको अनुरोधलाई अस्वीकार गर्न डर लागेको महिलाहरूले बताए ।
अन्तर्वार्ता लिइएका कम्तीमा पनि २३ जना महिलाले कतारमा काम गर्दा आफूलाई पर्याप्त खान नदिएको र भोकै रहनुपरेको बताए । अन्तर्वार्ता गरिएका केही महिलाले कोचाकोच भरिएको कोठामा सुतेको पनि बताए । केहीले त भुईंमा र एयर कन्डिसन नभएको कोठामा सुतेको पनि बताए । यस्तो खराब आवासको अवस्थाले श्रमिकहरूको कार्यस्थल निरीक्षण गर्ने कार्यमा कतारी अधिकारीहरू विफल भएको कुरालाई उजागर गर्दछ ।
शाब्दिक, शारीरिक र यौनिक दुर्व्यवहार
एम्नेस्टी इन्टरनेसनलले कुराकानी गरेका ४० जना महिलाहरूले आफूहरू शाब्दिक र शारीरिक दुर्व्यवहारमा परेका बताए । प्राय यसमा अपमानजनक व्यवहार, चिच्याएर गरिएको गालिगलोज र अन्य अपमानहरू थियो ।
ऐमेलीले* भनिन्:
“मलाई म्याडमले तँ राक्षस होस्, तेरो जिब्रो काटिदिन्छु भनिन्। म डराएँ । उनले मलाई “तलाई मारिदिन्छु” भन्छिन्, जहिले अपशब्द मात्र प्रयोग गर्छिन् । म त एक जना काम गर्ने मान्छे न हुँ केही गर्न सक्दिन ।”
१५ जना महिलाले रोजगारदाताबाट वा परिवारका सदस्यबाट थुक्ने, कुट्ने, लात्ताले हान्ने, मुक्का हान्ने, कपाल तान्ने जस्ता शारीरिक दुर्व्यवहार भएको बताए ।
जोईले भनिन् :
“म्याडमले सबैजना काम गर्नेहरूलाई कराउन थालिन् । हामी सबैलाई थुकिन् र मलाई फेरी थप्पड हानिन् । उनले यो भन्दा पहिले पनि मलाई ढाडमा खुट्टाले हिर्काएकी थिइन् ।”
पाँचजना महिलाले आफूहरूमाथि रोजगारदाता वा तिनका पाहुना आफन्तबाट यौन दुर्व्यवहार भएको बताएका छन्। यसमा यौन उत्पीडन देखि अवाञ्छित तरिकाले शरीर छुने र बलात्कार गर्ने सम्मका यौन दुर्व्यवहार छन् । रोजगारदाताले बदला लिने डरले गर्दा धेरै महिलाहरूले आफूले प्रहरीमा उजुरी दिन नसकेको बताए ।
जुलिया* नामकी एक महिलाले भने आफूले भोगेका यौन दुर्व्यवहारको घटनाका सम्बन्धमा प्रहरीमा उजूरी गरिन्। जुलियाका रोजगारदाताका छोराले एकदिन घरमा आएर काम गर्ने अर्की एक महिलालाई बलात्कार गर्ने प्रयाश गरे।ती व्यक्तिले ती महिलालाई चुपचाप लगाउन पैसा दिने प्रस्ताव राखे तर उनीहरूले प्रहरीमा जाने निधो गरे ।
मुद्दा हेर्ने प्रहरी अधिकारीले जुलिया र उनका साथीहरूलाई झुटो कथाहरू बनाएको आरोप लगाए र उजूरी रद्द गरिदिए । अन्त्यमा अरबी भाषामा लेखेको र उनीहरूले नबुझ्ने एउटा कागजमा हस्ताक्षर गर्न लगाइयो र त्यसको साटो रोजगारदाताले उनीहरूलाई घर फर्कने टिकट खरिद गरदिए ।
दण्डहीनता
दुर्व्यवहार गर्ने रोजगारदातालाई जवाफदेही बनाउन कतार पूर्णरूपमा विफल भएको छ र यसको अर्थ भविष्यमा यस्ता दुर्व्यवहारहरू कम हुने सम्भावना एकदमै कम छ । राहदानी जफत गर्ने, तलब नदिने जस्ता अभ्यासहरूले जबर्जस्ती श्रमको सङ्केत गर्दर्छन् र यसको स्वतः अनुसन्धान हुनुपर्ने हो तर पासपोर्ट हस्तान्तरण गर्न अस्वीकार गर्दा वा बक्यौता नतिर्दा समेत रोजगारदाताहरूले सायदै नतिजा भोग्ने गर्दछन् ।
“एम्नेस्टीले कुराकानी गरेका कोही पनि महिलाले आफूलाई दुर्व्यवहार गर्नेलाई कारबाही भएको देखेनन् । यदि कतार घरेलु श्रमिकलाई शोषणबाट संरक्षण गर्न चाहन्छ भने रोजगारदाताहरूलाई श्रमिकमाथिको दुर्व्यवहार सह्य हुने छैनन् भनेर कडा सन्देश दिनु पर्दछ” स्टिभ कक्बर्नले भने ।
सन् २०१८ भन्दा पहिले घरेलु श्रमिकहरूको उजूरी राख्ने संयन्त्रहरूमा पहुँच थिएन तर जब कतारले श्रम विवादहरूको समाधानका लागि समितिहरू स्थापना गर्यो अन्ततः उनीहरूलाई यी न्यायधिकरणमा आफ्नो उजुरी हाल्न दिइयो । यद्यपि यो प्रकृयालाई ढिलासुस्तीलगायतका अन्य समस्याहरूले गाँजेको छ ।
एम्नेस्टीले कुराकानी गरेका आधा भन्दा धेरै महिलाले आफूले तलबै नपाएको वा समयमा तलब नपाएको बताए। तर बक्यौता रकमका लागि समितिहरूमा उजूरी हाल्न सफल भएका एकदमै कम संख्याका महिलाहरूले यो प्रकृया ढिलो र पीडादायी भएको पाए ।
यो प्रणालीको एउटा प्रमुख त्रुटि के रहेको छ भने आफ्नो गुनासो प्रकृयामा रहेको बखतमा घरेलु श्रमिकहरूले आफ्नो कानुनी हैसियत, आय र बस्ने ठाउँ गुमाउनुपर्ने जोखिम हुन्छ । यो प्रकृया चलिरहेको अवस्थामा उनीहरूलाई सुरक्षित आवास आफ्नो खर्च निर्वाह गर्न आवश्यक खर्चका लागि आयको आवश्यकता हुन्छ । तथापि सरकारी सुरक्षा गृह पूर्ण रूपमा संचालनमा आएको नहुँदा धेरै महिलाहरूलाई समितिहरूमा उजूरी हाल्नु व्यावहारिक विकल्प हुँदैन ।
यसका अतिरिक्त काम छाडेका महिलाहरूले रोजगारदाताबाट प्रतिशोधको पनि सामना गर्न सक्दछन् र उनीहरूले कामबाट “फरार रहेको” वा अन्य कसुरको आरोप झेल्न पनि सक्दछन् जसको फौजदारी सजाय पनि हुन सक्दछ । एम्नेस्टीले कुराकानी गरेका कम्तीमा पनि 10 महिलालाई चोरीको आरोप लगाइएको थियो र अन्य १३ जनालाई रोजगारदाताले काम छाडेर भागेको मुद्दा हालेका थिए । सबै महिलाहरूले आफूलाई लगाइएको आरोप अस्वीकार गरे र उनीहरूले आफू दुर्व्यवहारबाट भागेको प्रतिशोधमा यी मुद्दाहरू हालिएको अनुभूत गरे । शारीरिक र यौन दुर्व्यवहारका मुद्दाहरूलाई फौजदारी अदालतले हेर्दछन् तर घरेलु श्रमिकहरू आवास र कानुनी हैसियतका लागि रोजगारदातामा आश्रित भएको तथ्यले गर्दा र विद्यमान प्रणालीमा भएका अविविश्वासका कारणले उजूरी गर्नमा स्पष्ट रूपमा निरुत्साहन हुने गर्दछ । परिणामस्वरूप गम्भीर अपराधहरू दण्डित हुँदैनन् ।
धेरै घरेलु श्रमिकहरू एकान्तमा बस्ने र उनीहरूको आवतजावत स्वतन्त्रतामा बन्देज हुने भएको कारण उनीहरूलाई सहयोग लिन र दुर्व्यवहारबाट भाग्न अफ्ठ्यारो हुन्छ । केही व्यवसायहरूले अन्य आप्रवासी श्रमिकहरूका लागि कार्यस्थलमै समितिहरू गठन गर्न थालेका छन् तर घरेलु श्रमिकहरूको लागि त्यस किसिमका कुनै पहलहरू भएका छैनन् । कतारका अरू आप्रवासी श्रमिकहरू जस्तै घरेलु श्रमिकले पनि ट्रेड यूनियन गठन गर्न वा ट्रेड यूनियनमा सदस्यता लिन पाउँदैनन् ।
“घरेलु श्रमिकहरूको आफ्नो जीवनमा असर पार्ने कानुन र नीतिमा उनीहरूको भूमिका स्थापित भएको हुनुपर्दछ । हामीले कुराकानी गरेका महिलाहरू सहनशील र स्वतन्त्र थिए । उनीहरूले आफ्नो घर छोडेर आधा संसारको यात्रा गरिसकेका थिए । यी महिलाहरूलाई एक्लाउने व़ा चुप लगाउने गर्नुको साटो उनीहरूलाई आवाज दिनुपर्छ ताकि उनीहरू आफ्नो हक अधिकारको वकालत गर्न सकुन्” स्टिभ कक्बर्नले भने ।
“हामी कतारी अधिकारीहरूलाई कानुन कार्यान्वयनको पूर्ण सुनिश्चित गर्नका लागि ठोस कदम चाल्न, कडा निरीक्षण संयन्त्र स्थापना गर्न र दुर्व्यवहार गर्ने रोजगारदातालाई कडा कारबाही गर्न आह्वान् गर्दछौ । श्रम कानुन सुधारका प्रयासहरूको बाबजुद अझै पनि देशका सबैभन्दा जोखिम अवस्थामा रहेका महिलाहरूप्रतिको आफ्नो दायित्व पुरा गर्न कतार चुकेको छ ।
पृष्ठभूमि
एम्नेस्टी इन्टरनेसनलको सूचनाको अनुरोधलाई कतारले दिएको जवाफ यस प्रतिवेदनमा प्रतिविम्बित गरिएको छ । हालसालै अनुमोदन गरेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध (आईसीसीपीआर) र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध (आईसीईएससीआर) लगायत मानवअधिकार उल्लङ्घनलाई रोक्ने विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरूको पक्षराष्ट्रका हैसियतले कतार आफ्नो भूभाग भित्र बस्ने र काम गर्ने घरेलु श्रमिकलगायत सबै श्रमिकहरूको सुरक्षा गर्न तथा यी अधिकारहरू उल्लङ्न भएको अवस्थामा तिनको उपचार प्रदान गर्न बाध्य छ ।