युक्रेन: रूसद्वारा भएको व्यापक आक्रमणको एक वर्षपछिको अवस्थामा पीडितको अधिकारलाई न्यायका सबै प्रयासहरूको केन्द्रमा राखिनुपर्दछ

  • युक्रेनमाथि रूसद्वारा भएको आक्रमणबाट भएका पीडितहरूको न्यायको मागलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले बलियो योजनाको विकास गर्नुपर्छ

सन् २०२२ फेब्रुअरी २४ मा रूसी सैन्य बलहरूले युक्रेनमा व्यापक आक्रमण सुरू गरेका थिए र यस कदमलाई एम्नेस्टी इन्टरनेसनलले “आक्रमण र मानवअधिकार विनाशको कार्य” भनेको थियो। त्यसैबेलादेखि रूसी सेनाहरूले युद्ध अपराध र गैरन्यायिक हत्या, नागरिक पूर्वाधारआश्रय स्थलहरूमा भीषण हमला, नागरिकहरूको निष्कासन र जबर्जस्ती स्थानान्तरणशहरहरूमा गोलाबारी गरी ठूलो मात्रामा गैरकानूनी हत्यालगायत अन्तर्राष्ट्रिय मानवीय कानुनको अन्य उल्लङ्घनहरू गरेका छन्।

आक्रमण जारी नै रहेको र युक्रेनमा भएका अपराधहरूको पूर्ण विवरण थाह नभएको अवस्थामा पीडित र जीवित रहेकाहरूको न्यायको माग तथा उनीहरूको अधिकारलाई प्राथमिकतामा राखिनुपर्दछ। अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका अपराधमा जिम्मेवारहरूले दण्डहीनतामाथि जवाफदेहिता र न्यायको जित हुन्छ भन्ने कुरा थाह पाएको सुनिश्चित गर्ने स्पष्ट दायित्व अन्तर्राष्ट्रिय समुदायसामु रहेको छ।

“रूसी सशस्त्र बलहरूले युक्रेनमा आफ्नो आक्रमण बढाइराखेको सन्दर्भमा मानवअधिकार उल्लङ्घन र युद्ध अपराधका सबै पीडकहरूलाई जवाफदेही बनाउने प्रतिबद्धता सधैं जसो उत्तिकै जरुरी छ,” एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामारले भनिन्।

द्वन्द्वको सुरूवातदेखि नै एम्नेस्टी इन्टरनेसनलले महत्त्वपूर्ण नागरिक पूर्वाधारलाई लक्षित गरिएको र नागरिक सहायतालाई अवरुद्ध गरिएको लगायतका युद्ध अपराधहरूको दस्तावेजीकरण गरेको छ। द्वन्द्व प्रभावित क्षेत्रका नागरिकहरूले लगातार आक्रमणको सामना गरिरहेका छन् र उनीहरूलाई पिउने पानी, बिजुली र न्यानो बनाउने सेवाबाट वञ्चित पारिएको छ। रूसले कब्जा गरेको क्षेत्रहरूमा बसोबास गर्ने धेरै मानिसलाई मानवीय सहायता वा चिकित्सा हेरचाहको सख्त आवश्यकता रहेको छ। तर पनि उनीहरूलाई युक्रेनी सरकार-नियन्त्रित क्षेत्रहरूमा यात्रा गर्ने अधिकार इन्कार गरिएको छ।

युक्रेनका जनताले पछिल्लो १२ महिनामा यस आक्रामक युद्धको क्रममा अकल्पनीय त्रास भोगेका छन्। हामी स्पष्ट हौँ : भ्लादिमिर पुटिन र उनका सशस्त्र सेनाको हात रगतले पोतिएको छ। आफूले भोगेको सबै कुराका लागि जीवित रहेका व्यक्तिहरू न्याय र परिपूरणको हकदार छन्। अन्तर्राष्ट्रिय समुदाय यसलाई अन्त्यसम्म नियाल्न अडिग रहनुपर्छ ताकि पीडितहरूलाई न्याय होस्। एक वर्ष बितेको छ र यो स्पष्ट छ कि अझ धेरै गर्नु आवश्यक छ। यौनिक र लिङ्गमा आधारित अपराध लगायत दशौँ हजार युद्ध अपराधका घटनाहरू दर्ता गरिएका छन्, तर जारी यस द्वन्द्वका पीडितहरूको सङ्ख्या अझ धेरै हुनेछ।

पीडितको अधिकार र आवश्यकताहरू

“यस द्वन्द्वको दौरान अनगिन्ती मानिसहरू संपार्श्विक क्षति (युद्धका क्रममा गैरनियतवस भएका मृत्यु र हताहति वा क्षति) मा परिणत भएका छन्। जब तोप प्रहार हुन्छ, यसले मांशपेसी मात्र छेड्दैन। यसले जीविकोपार्जन खोस्छ, महत्त्वपूर्ण पूर्वाधारलाई नष्ट गर्दछ र धेरैलाई उनीहरूको पहिलेको जीवनको भग्नावशेषमा बस्न असक्षम पार्दछ,” आग्नेस कालामारले भनिन्।

युक्रेनमा भएका अन्तर्राष्ट्रिय कानुनअन्तर्गत भएका अपराधहरूमा अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका धेरै अनुसन्धानलगायतले  द्वन्द्व लगत्तैको प्रतिक्रिया उत्साहजनक रहेको छ। तर युक्रेनका लागि विस्तृत न्याय पीडितहरूलाई अर्थपूर्ण न्याय र परिपूरण प्रदान गरेर मात्र प्राप्त हुनेछ। अन्तर्राष्ट्रिय समुदायले विद्यमान न्यायिक संयन्त्रहरूलाई बलियो र दिगो सहयोग प्रदान गरेमा मात्र यो सम्भव हुनेछ।

थप विस्तृत न्यायको लागि नयाँ राष्ट्रिय र अन्तर्राष्ट्रिय संयन्त्रहरूको बारेमा पनि विचार गर्न आवश्यक छ – जस्तै मार्च २०२२ मा एक स्वतन्त्र छानबिन आयोग गठन गर्ने मानवअधिकार परिषद्को स्वागतयोग्य निर्णय। अन्ततः यसले ठूलो संख्याका युद्ध अपराधका मुद्दाका साथै अन्तर्राष्ट्रिय फौजदारी अदातल आफैले क्षेत्राधिकारसम्बन्धी सीमाको कारण अनुसन्धान गर्न नसक्ने आक्रामक युद्धको अपराधमा अन्तर्राष्ट्रिय न्याय प्रतिक्रियालाई बलियो बनाउन सक्छ।

“सही संयन्त्रहरू स्थापित गरिएको सुनिश्चित गर्नुका साथै हामीले अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका अपराधमा जिम्मेवार व्यक्तिहरूलाई न्यायको कठघरामा ल्याउने र तिनीहरूले गरेको अनुचित कार्यहरूको परिणाम भोगाउने कुरालाई सुनिश्चित गर्नुपर्छ। यसमा युद्ध अपराध र अन्तर्राष्ट्रिय कानुनबमोजिमका आक्रामक अपराधको लागि बरिष्ठ सैन्य कमाण्डरहरू र नागरिक नेताहरूको अनुसन्धान पनि समावेश हुन्छ,” आग्नेस कालामारले भनिन्।

यस्ता मुद्दाहरू बनाउन जटिल हुन सक्छ। तर यो आवश्यक छ कि अनुसन्धानले तल्लो तहका प्रत्यक्ष पीडकहरूलाई मात्र नभई उच्च तहका कमाण्ड श्रृंखलामा रहेकाहरूलाई पनि ध्यान पुर्याउनुपर्दछ। जहाँ सुनुवाइहरू हुन्छन् त्यस्ता सुनुवाइहरूले जीवित रहेकाहरूको पूर्ण सहभागिता र उनीहरूको आवश्यकताहरूलाई विचार गर्दै अन्तर्राष्ट्रिय मानवअधिकार र निष्पक्ष-सुनुवाइका मापदण्डहरूको पालना गर्नुपर्छ ।

“अथाह नागरिक पीडा पैदा गर्दै विश्वका प्रत्येक कुनामा युद्धहरू फैलिरहेको अवस्थामा युक्रेनको न्यायिक प्रकृया सबै द्वन्द्वहरूका निम्ति एउटा खाका बन्नुपर्छ। अन्तर्राष्ट्रिय फौजदारी अदालतको कारबाही लगायत अन्तर्राष्ट्रिय समुदायको सुरूवाती अभूतपूर्व प्रतिक्रिया अन्तर्राष्ट्रिय न्याय प्राप्तिको लागि एउटा न्यूनतम मापदण्ड बन्नुपर्छ,” आग्नेस कालामारले भनिन्।

दिगो प्रतिबद्धता र समन्वय मात्रै अबको बाटो हो

“पटक पटक एम्नेस्टी इन्टरनेसनल र अन्य नागरिक समाज समूहरूले सामूहिक कार्यको लागि र वृहत्तर हितको लागि मानिसहरूलाई एकजुट हुन आह्वान गरेका छन्। यस विषयमा पनि यो कुरा लागू हुन्छ। अन्तर्राष्ट्रिय न्याय प्राप्तिको लागि काम गरिरहेका सबै संस्था र निकायहरूले आआफ्नो दृष्टिकोण आदानप्रदान गर्न र रणनीतिहरूको समन्वय गर्नका लागि एकजुट भई काम गर्नुका साथै विशेषज्ञता र क्षमताको कमीलाई पनि सम्बोधन गर्नुपर्छ। अहिलेको समयमा खण्डीकृत रूपमा आ-आफ्नो कार्यमात्रै गरेर बस्ने होइन,” आग्नेस कालामारले भनिन् ।

अन्तर्राष्ट्रिय समुदायले स्वच्छ, प्रभावकारी र निष्पक्ष अनुसन्धानलाई सहयोग गर्नुपर्छ र राष्ट्रहरूले यूक्रेनलाई रोम विधान अनुमोदन गर्न, घरेलु कानुनलाई अन्तर्राष्ट्रिय कानुनी मापदण्डअनुरूप बनाउन र अन्तर्राष्ट्रिय फौजदारी अदालतसँगको सहयोगलाई सबलीकरण गर्न  झक्झकाउनु पर्छ। अन्तिममा, यूक्रेनको न्यायका लागि विश्वव्यापी क्षेत्राधिकारको कानुन भएका राष्ट्रहरूले उक्त कानुनले यूक्रेनीहरूलाई कसरी न्याय प्रदान गर्न सक्छ भन्ने बारे सोच विचार गर्नुपर्छ।

मानवीय सहायताको आवश्यकता

सहायता प्रस्ताव गर्नेक्रममा अन्तर्राष्ट्रिय समुदायले महिला, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरू र बालबालिका जस्ता जोखिममा रहेका व्यक्तिहरूको विशेष आवश्यकतालाई पहिचान गर्नुका साथै बालबालिकालगायत धेरै यूक्रेनीहरूलाई यूक्रेनबाट रूसमा पठाइएको वा रूसले नियन्त्रण गरेको भूभागमा बलजफ्ती सारिएको र त्यसरी सारिएका व्यक्तिहरू सुरक्षित रूपमा आफ्नो घर फर्किने अवस्था नरहेको विषयलाई पनि मध्यनजर गर्नुपर्छ। यस्ता विशेष समूहहरूलाई प्राथमिकतामा राखिनुपर्छ र उनीहरूलाई प्रदान गरिने सबै मानवीय सहायताहरूलाई उनीहरूको खास आवश्यकता पूर्ति गर्ने गरी तय गरिएको हुनुपर्छ।

जीवित रहेकाहरूको आवश्यकतालाई प्राथमिकतामा राखी आर्थिक र मानवीय साहयताको व्यवहारिकतालाई सुनिश्चित गर्नका लागी यूक्रेनी नागरिक समाज संस्थाहरूसँगको सहकार्य अत्यावश्यक हुन्छ। अन्तर्राष्ट्रिय समुदायले यस्तो सहकार्य गर्दा मानवीय सहायता, पुन:प्राप्ति, न्याय र परिपूरणमा केन्द्रित प्रकृयाहरूको प्रत्येक चरणमा पारदर्शिता, प्रभावकारीता, पीडित संवेदनशीलतालाई सुनिश्चित हुने गरी गर्नुपर्छ।  

“युक्रेनमा रूसको आक्रमणबाट प्रभावित र पीडितहरूका लागि न्याय र परिपूरण सुनिश्चित गर्नका निम्ति गत वर्षदेखि युक्रेनी नागरिकहरूमाथि भएको अत्यधिक शारीरिक, मनोवैज्ञानिक र आर्थिक क्षतिलाई स्वीकार गर्नु अत्यावश्यक छ,” आग्नेस कालामारले भनिन्।

जवाफदेहिताका निम्ति आह्वान

सन् २०१४ देखि र त्यसपछि रूसले आक्रमण गर्न सुरू गरेदेखि एम्नेस्टी इन्टरनेसनल यूक्रेनमा जवाफदेहिताका लागि  लागिपरेको छ। र यस क्रममा युद्ध अपराध एवं अन्तर्राष्ट्रिय मानवीय कानुनका अन्य उल्लङ्घनहरूको दस्तावेजीकरण गरिरहेको छ। एम्नेस्टी इन्टरनेसनलद्वारा हालसम्म प्रकाशित दस्तावेजहरू यहाँबाट प्राप्त गर्न सकिन्छ