An Amazon fulfilment centre. Natan Stirk /Getty Images.

साउदी अरेबिया: अमेजनका गोदामहरूमा श्रम गरेका आप्रवासी श्रमिकहरूमाथि धोका र शोषण

१० अक्टोबर

साउदी अरेबियाका अमेजन गोदामहरूमा अनुबन्धित श्रमिकहरूलाई भर्ना गर्ने एजेन्ट र श्रम आपूर्ति कम्पनीहरूले उनीहरूलाई धोका दिनुका साथै, पारिश्रमिकमा ठगी गर्ने, अत्यन्तै नराम्रो अवस्थामा राख्ने तथा वैकल्पिक रोजगारी खोज्न वा देश छोड्नबाट रोक्ने जस्ता कार्यहरू गरेको एम्नेस्टी इन्टरनेसनलले आज बताएको छ।

लामो समयदेखि आफूमाथि गरिने व्यवहारका बारेमा श्रमिकहरूबाट प्रत्यक्ष गुनासोहरू प्राप्त गरेको भएपनि अमेजनले साउदी अरेबियामा अनुबन्धित श्रमिकहरूलाई बारम्बार मानवअधिकार दुर्व्यवहारको मारमा पर्नबाट रोक्न कसरी विफल भयो भन्ने कुरा “डन्ट वरी, इट्स अ ब्रान्च अफ अमेजन (चिन्ता नगर्नुहोस्, यो अमेजनको एउटा शाखा हो)” नाम दिइएको एउटा नयाँ प्रतिवेदनले देखाएको छ। भर्तीको क्रममा उनीहरूमाथि भएको धोकाधडी र कार्यस्थलमा पुगेपछि उनीहरूले भोगेका शोषणलाई हेर्दा श्रमिकले सहेका दुर्व्यवहार धेरै अवस्थामा मानवबेचबिखन सरह रहेको हुन सक्ने अत्यधिक सम्भावना छ।

“श्रमिकहरूले अमेजन कम्पनीमा सुनौलो अवसरको लाभ उठाइरहेको ठानेका थिए तर उनीहरू दुर्व्यवहारको चपेटामा परे जसका कारण धेरैलाई मानसिक आघात हुन पुगेको छ। अरू सयौंले यस्तै भयावह दुर्व्यवहार भोग्नु परेको हुन सक्ने हामीलाई आशङ्का लागेको छ। हामीले अन्तर्वार्ता लिएका धेरैजसोले यति गम्भीर दुर्व्यवहार भोगेका छन् कि त्यो श्रम शोषणकै आधारमा मानव बेचबिखन सरह हुने सम्भावना छ,” एम्नेस्टी इन्टरनेसनलका आर्थिक र सामाजिक न्याय प्रमुख स्टिभ ककबर्नले भने।

“अमेजनले यो भयावह पीडालाई धेरै पहिले नै रोक्न र अन्त्य गर्न सक्थ्यो तर साउदी अरेबियामा अनुबन्धित यी श्रमिकहरूलाई कठोर दुर्व्यवहारबाट बचाउन यसका प्रक्रियाहरू असफल रहे। अमेजनले हानि भोगेका सबैलाई तुरून्तै क्षतिपूर्ति दिनुपर्छ र यस्तो अब फेरी कहिल्यै नहुने कुराको सुनिश्चित गर्नुपर्दछ।

“साउदी अरेबिया सरकारको पनि ठूलो जिम्मेवारी रहेको छ। श्रमिकहरूलाई स्वतन्त्र रूपमा रोजगारदाता परिवर्तन गर्न र बिना शर्त देश छोड्न पाउने लगायत उनीहरूको मौलिक अधिकारको सुनिश्चति गर्न यसले तत्काल यी दुर्व्यवहारहरूको छानबिन गरी आफ्नो श्रम प्रणालीमा सुधार गर्नुपर्दछ”।

यो प्रतिवेदन नेपालका २२ जना पुरुषहरूबाट सङ्कलन गरिएको जानकारीमा आधारित छ। उनीहरूले सन् २०२१ देखि २०२३ को बीचमा रियाद वा जेद्दास्थित अमेजनको गोदाममा काम गरेका थिए र उनीहरूलाई दुईवटा तेस्रो-पक्ष श्रम आपूर्ति गर्ने ठेकेदारहरू – अब्दुल्ला फहाद अल-मुताइरी सपोर्ट सर्भिसेज् क.(अल-मुताइरी) वा बस्माह अल-मुसानादा क. टेक्निकल सपोर्ट सर्भिसेज् (बस्माह) द्वारा रोजगारीमा लगाइएको थियो।

अन्तर्वार्ता दिनेहरूको पहिचानको सुरक्षाका लागि उनीहरूको नाम परिवर्तन गरिएको छ। एम्नेस्टी इन्टरनेसनलले अमेजन, अल-मुताइरी, बस्माहका साथै साउदी अरब सरकारसँग अनुसन्धानका विवरणहरू आदान प्रदान गरेको थियो। अमेजनका प्रतिक्रियाहरू यहाँ हेर्न सकिन्छ। अरूले प्रतिक्रिया दिएका छैनन्।

धोका, भर्ना शुल्क, दुर्गन्ध र शोषण

साउदी अरेबियामा अमेजनका कार्यस्थलहरूमा काम गर्नका लागि अन्तर्वार्ता दिनेहरूमध्ये एकजनाले बाहेक नेपालमा भर्ना गर्ने एजेन्टहरूलाई औसतमा १,५०० अमेरिकी डलर तिरेका थिए। कतिपयले उक्त भर्ना शुल्क तिर्नका लागि चर्को ब्याजमा ऋण लिएका थिए।

भर्ना प्रक्रियाको क्रममा एजेन्टहरूले कहिलेकाहीं साउदी अरेबियाको श्रम आपूर्ति कम्पनीहरूसँग मिलेर धेरै श्रमिकहरूलाई अमेजनले नै उनीहरूलाई प्रत्यक्ष रोजगारी दिने विश्वास दिलाएर ढाँटेका थिए

कामका लागि विदेश उड्ने केही घण्टा अघि मात्र करार पत्र र अन्य कागजातहरू प्राप्त भएपछि केही श्रमिकहरूलाई अमेजन उनीहरूलाई प्रत्यक्ष  रोजगारी दिने कम्पनी नभएको आशंका लाग्न थालेको थियो। तर भर्ना शुल्क तिरिसकेकाले अगाडि बढ्नु बाहेक उनीहरूसँग अर्को विकल्प थिएन। अन्यले साउदी अरेबिया पुगेपछि मात्रै यो कुरा महसुस गरे।

अन्तर्वार्ता दिनेमध्येका बिबेक नामका एकजनाले भने: “उडानको दिन मैले यो अर्कै कम्पनी हो भनेर थाहा पाएँ…मैले मेरो पासपोर्टमा ‘अल बस्माह क.’ लेखेको देखें तर एजेन्टले “चिन्ता नगर, यो अमेजनको एउटा शाखा हो” भने।

साउदी अरेबियामा प्रायः श्रमिकहरूलाई महिनौंसम्म फोहोर र भीडभाडयुक्त आवासमा राखिएको थियो जहाँ कहिलेकाहीँ उडुसले सताउंथ्यो। उनीहरूलाई अमेजनका गोदामहरूमा काम गर्न लगाइयो, तर ठेकेदारहरूले प्रायः बिना कारण उनीहरूको तलब र/वा खाना भत्ताको केही अंश आफूसँग राख्ने र ओभरटाइम कामका लागि कम पारिश्रमिक भुक्तानी दिने गर्थे।

श्रमिकहरूले गोदामहरूमा बारम्बार धेरै गर्हुङ्गो वस्तुहरू उठाउनु परेको, ज्यादै कष्टकर कार्यसंपादन लक्ष्य पूरा गर्नुपरेको, निरन्तर निगरानीमा रहेर काम गर्नुपरेको र पर्याप्त रूपमा आराम समेत गर्न नदिइएको बताए। कतिपय अवस्थामा यसले चोटपटक र रोग निम्त्यायो। एक श्रमिकले उनको हात भाँचिएको आशंकामा डाक्टरले एक महिनाको लागि कामबाट छुट्टीमा बस्न लगाएको भएपनि आपूर्ति कम्पनीले श्रमिकहरूलाई बिरामी बिदाको तलब नदिने भएकोले आफूले दुई हप्ता भित्रै काम पुनः सुरू गर्नुपरेको बताए

अधिकांश श्रमिकहरूले श्रम आपूर्ति कम्पनीहरूसँग दुई-वर्षको करारमा हस्ताक्षर गरेका थिए तर धेरैले काम समाप्त हुनु अघि अमेजनका कार्यस्थलहरूमा १२ महिना भन्दा कम समय बिताए, जसलाई उनीहरूमध्ये कसैले कामबाट “निष्कासन” गरे बराबर भएको बताए।

त्यसपछि आपूर्ति कम्पनीहरूले यी ‘बेरोजगार’ व्यक्तिहरूलाई अझ खराब बासस्थानमा सारे, तलब रोके र केही अवस्थामा खाना भत्ता दिन बन्द गरे।  साउदी राज्यबाट कुनै सामाजिक सुरक्षा वा सहयोग बिना केही श्रमिकहरू रोटी र नुन खाएर र नुन पानी पिएर बाँचे।

किरण नाम गरेका एकजना श्रमिकले भने, “बासस्थान एकदमै फोहोर थियो। वातानुकूलित अवस्था (एयर कन्डिसनिंग) थिएन, पंखा थिएन। तापक्रम ५० डिग्री सेल्सियस थियो . . . त्यहाँ धेरै श्रमिकहरू थिए … बिस्तरा, खाना पकाउने ग्यास वा पिउने पानी थिएन। त्यहाँ इन्टरनेट थिएन, त्यसैले हामीले हाम्रो परिवारलाई सम्पर्क गर्न सकेनौं।”

साउदी अरेबियामा फसेकाहरू

धेरैजसो अन्तर्वार्ता दिनेहरूले थप काम पाएनन् तर ठेकेदारहरूले साउदी अरेबियाको प्रायोजन (स्पोनसरशिप) प्रणाली, अर्थात कफालाको फाइदा उठाए, जसले हालैका केही सुधारका बाबजुद विदेशी श्रमिकहरूलाई उनीहरूका रोजगारदाताहरूसँग बाँध्छ, उनीहरूलाई रोजगारदाताको सहमति बिना काम परिवर्तन गर्नबाट रोक्छ र स्वतन्त्र रूपमा देश छोड्ने क्षमतालाई पनि सीमित गर्दछ।

श्रमिक आपूर्ति कम्पनीका प्रबन्धकहरूले साउदी नियमअन्तर्गत श्रमिकहरूलाई पहिलो वर्षभित्र रोजगारदाता परिवर्तन गर्नका लागि आवश्यक पर्ने ‘स्थानान्तरण इजाजत’ कागजातहरू उपलब्ध गराउन अस्वीकार गरे। अनुमतिबिना श्रमिकहरू निस्किएमा “फरार” भनी गिरफ्तारीको जोखिम उठाउनुपर्दछ। धेरै आफ्नो सम्झौता/करार समाप्त हुनु अघि घर फर्कन चाहन्थे तर अल-मुताइरी प्रबन्धकहरूले उनीहरूलाई कानुनी रूपमा उपलब्ध गराउनु पर्ने हवाई टिकटहरू किनिदिएनन् र श्रमिकहरूलाई बाहिरिने कागजातहरूको लागि अमेरिकी डलर १,३३० देखि १,६०० सम्म को ‘जरिवाना’ तिर्नुपर्ने बताए।

यसरी श्रमिकहरू अमेजन ठेकेदारहरूको कृपामा डरलाग्दो अवस्थामा फसेका थिए।

केहीले आत्महत्या गर्ने सोच बनाएका थिए। देवले भने: “मैले पर्खालबाट हाम फाल्ने प्रयास गरें, आत्महत्या गर्ने प्रयास गरेँ। मैले मेरी आमालाई यो कुरा भनेँ र उहाँले “हुँदैन, त्यसो नगर हामी ऋण लिउँला” भन्नुभयो। उहाँले ऋण लिनुभएको पनि आठ महिना बितिसक्यो र ब्याज बढिरहेको छ।”

अमेजनका  विफलताहरू

सन् २०२० मा अमेजन त्यहाँ सञ्चालनमा आउनु अघि साउदी अरेबियामा आप्रवासी श्रमिकहरूको जोखिमका बारेमा राम्रो दस्तावेजीकरण गरिएको थियो र सन् २०२१ मा गरिएको अमेजन जोखिम मूल्याङ्कनमा यसको पहिचान गरिएको थियो, जसको अर्थ कम्पनीलाई यस देशमा श्रम दुर्व्यवहारको उच्च जोखिम रहेको बारेमा थाहा थियो।

श्रमिकहरूले सन् २०२१ मा साउदी अरेबियामा अमेजन प्रबन्धकहरूसँग गोदामहरूमा छुट्याइएका सेतोपाटीमा लेखेर वा दैनिक बैठकहरूमा मौखिक रूपमा भनेर लगायतबाट प्रत्यक्ष रूपमा गुनासो गर्न थालेका थिए, तथापि उक्त गुनासोलाई प्रायः बेवास्ता गरियो र दुर्व्यवहारहरू सन् २०२३ मा पनि जारी रहे

“आपूर्ति कम्पनीसँग रहेका हाम्रा हरेक समस्याहरूका बारेमा अमेजनलाई थाहा छ। अमेजनले दैनिक बैठकहरूमा श्रमिकहरूले सामना गर्ने समस्या र सवालहरूको बारेमा सोध्ने गर्छ”, एक श्रमिक किरणले भने।

अमेजनसँग गुनासो गर्ने केही श्रमिकहरूले ठेकेदारहरूको प्रतिशोधको सामना गर्नुपरेको कुरा वासस्थानको बारेमा अमेजनलाई गुनासो गरेपछि तलब कटौती गरिएको एक जनाले बताए। आवासमा पानीको गुणस्तरको बारेमा अमेजनलाई गुनासो गरेका अर्का एकजनाले उनलाई आपूर्ति कम्पनीको कार्यालयमा लगरे अल-मुताइरीका पर्यवेक्षकले धकेल्ने र थप्पड हान्ने कार्य गरेको बताए।

उनीमाथि भएको आक्रमणका बारेमा अमेजनका प्रबन्धकलाई जानकारी गराउँदा “यो हाम्रो सरोकारको विषय होइन” भनेर उनलाई भनियो।

अमेजनले आफ्नै नीति वा व्यवसाय र मानवअधिकारसम्बधी संयुक्त राष्ट्रसङ्घीय मार्गनिर्देशक सिद्धान्तहरू पालन गर्न असफल भएर श्रमिक दुर्व्यवहारमा योगदान पुर्याएको र अन्तर्राष्ट्रिय कानुन र मापदण्डहरूले परिभाषित गरेअनुसार मानव बेचबिखनका पीडितहरूको श्रमसेवाबाट संम्भवत लाभान्वित भएको तथ्य प्रतिवेदनले फेला पारेको छ।

सुधार र उपचार

श्रमिकहरूलाई क्षतिपूर्ति उपलब्ध गराउनको साथै आफ्नो कार्यस्थल र आपूर्ति श्रृंखलाहरूमा काम गर्ने अभ्यासका बारेमा छानबिन गर्न, उचित सावधानी (due diligence) लाई सशक्त बनाउन र श्रमिकहरूले प्रतिशोध खेप्नुनपर्ने डररहित वातावरणमा आवाज उठाउन र सुनिन सक्ने कुरा सुनिश्चित गर्न अमेजलनाई प्रतिवेदनले सिफारिस गरेको छ।

श्रमिकहरूको अधिकारलाई अझ राम्रोसँग सुरक्षित गर्नका लागि अमेजनलाई धेरै कर्मचारीहरू सिधै भर्ना गर्न र विशेषगरी दुर्व्यवहारको उच्च जोखिम भएको अवस्थामा श्रम आपूर्ति कम्पनीहरूमा आफ्नो निर्भरता घटाउनका लागि प्रतिवेदनले सिफारिस गरेको छ। यस्ता कम्पनीहरूलाई प्रयोग गरेको अवस्थामा दुर्व्यवहार रोक्नका लागि धेरै कडा नियन्त्रणका व्यवस्थाहरू राखिनुपर्दछ।

अमेजनले सन् २०२३ को मार्च र जुन बीचमा अल-मुताइरी र अन्य ठेकेदारहरूको परीक्षण गरिएको र उक्त परीक्षणले हाम्रो निष्कर्षहरूसँग मिल्दोजुल्दो दुर्व्यवहारहरू फेला पारेको एम्नेस्टी इन्टरनेसनललाई बताएको थियो। अमेजनले हालसालै आपूर्ति कम्पनीहरूको श्रम अभ्यासहरूको समीक्षा गर्न र यस प्रतिवेदनका लागि अन्तर्वार्ता दिएकाहरूको भर्ना  शुल्कको पुनर्भुक्तानी गर्ने लगायत केही दुर्व्यवहारका लागि उपचार प्रदान गर्न परामर्शदाताहरूको नियुक्त गरेको बताएको छ। तथापि, आजसम्म कसैले पनि पैसा प्राप्त गरेका छैनन्। प्रस्तावित उपायहरू महत्त्वपूर्ण छन् तर श्रमिकहरूले सबैभन्दा पहिले गुनासो गरेको वर्षौं पछिमात्रै यी उपायहरू अगाडि आएका हुन्।

अझ व्यापक रूपमा के कुरा अत्यावश्यक छ भने अमेजनले भर्ना शुल्क तिर्ने सबै आप्रवासी श्रमिकहरूले भोगेको क्षतिको उपचार गर्नुपर्दछ र उनीहरूलाई कम्पनीबाट ‘निष्कासन’ गरेपछि भोगेकालगायत यावत दुर्व्यवहारका साथै अमेजनको गोदामहरूमा उनीहरूले सामना गरेका भनिएका दुर्व्यहारहरूको क्षतिपूर्ति प्रदान गर्नु पर्दछ।

स्टिभ ककबर्नले भने: ” अमेजनका लागि अन्ततः धेरै कष्ट भोगेका श्रमिकहरूका लागि सबै कुरा ठीक गर्ने र साउदी अरेबियाका लागि आफ्नो शोषणकारी श्रम प्रणालीलाई मूलभूत रूपमा सुधार गर्ने समय आएको छ।”