कतार: आप्रवासी श्रमिकहरूको मृत्युको छानबिन नहुँदा पीडित परिवारहरू निराश

अकाल मृत्यु र असुरक्षित काम गर्ने वातावरणबीच सम्बन्ध रहेको प्रमाण हुँदाहुदै पनि गएको दशकमा भएका हजारौं आप्रवासी श्रमिकहरूको मृत्युको अनुसन्धान गर्न कतारी अधिकारीहरू असफल रहेको कुरा एम्नेस्टी इन्टरनेसनलले आज बताएको छ। कतारले पर्याप्त अनुसन्धान नै नगरी यस्ता मृत्युहरू “प्राकृतिक कारण” वा अस्पष्ट रूपमा परिभाषित हृदय घातको कारणले भएको जनाउँदै नियमित रूपमा कसरी मृत्युका प्रमाणपत्रहरू जारी गरिरहेको छ भन्ने विषयलाई  एम्नेस्टीको नयाँ प्रतिवेदन इन द प्राइम अफ दियर लाइभ्सले प्रस्तुत गरेको छ। एक जना प्रमुख प्याथोलोजिस्टले “अर्थहीन” भनी वर्णन गरेका यी प्रमाणपत्रहरूले पीडित परिवारहरूलाई क्षतिपूर्ति दिने सम्भावनालाई नकार्दछ, जसमध्ये अधिकांसले परिवारको कमाउने मुख्य जिम्मेवार व्यक्ति गुमाएपछि आर्थिक कठिनाइको सामना गरिरहेका छन्।

एम्नेस्टी इन्टरनेसलले विशेष गरी अत्यधिक र शारीरिक रूपमा निकै धेरै श्रम गर्नुपर्ने कार्य समयसँगै कतारको चरम तापक्रमका कारण श्रमिकहरूमाथि पर्न जाने जोखिमहरूमाथि प्रकाश पारेको छ। हालै कतारले श्रमिकहरूका लागि केही नयाँ सुरक्षाहरू शुरुवात गरेको थियो तर मुख्य जोखिमहरू अझै विद्यमान रहेका छन् र अधिकारीहरूले गर्मीसँग सम्बन्धित मृत्युको अनुसन्धान गर्न खासै प्रयास गरेका छैनन्। प्रमुख चिकित्सा विशेषज्ञहरूसँग परामर्श र हजारौंको मृत्युसम्बन्धी सरकारी तथ्याङ्कहरूको पुनरावलोकन गर्दै एम्नेस्टीले १८ वटा मृत्यु प्रमाणपत्रहरूको विश्लेषण गर्नुका साथै  ३० देखि ४० वर्ष उमेरको बीचमा मृत्यु भएका ६ जना पुरुष श्रमिकको परिवारहरूसँग अन्तर्वार्ता गरेको थियो।

“अत्यधिक गर्मीमा लामो समय काम गरेपछि तुलनात्मक रूपले जवान र स्वस्थ पुरुषहरूको अचानक मृत्यु हुँदा यसले कतारमा काम गर्ने अवस्थाको सुरक्षाबारे गम्भीर प्रश्नहरू खडा गर्दछ। आप्रवासी  श्रमिकहरूको मृत्युको मूख्य कारण छानबिन गर्न असफल हुनु भनेको कतारी अधिकारीहरूले केही महत्त्वपूर्ण सङ्केतहरूलाई बेवास्ता गरिरहेका छन् जसलाई सम्बोधन गरेको खण्डमा श्रमिकहरूको ज्यान जोगिन सक्दछ। यो बाँच्न पाउने अधिकारको उल्लङ्घन हो। उनीहरूले पीडित परिवारहरूको कानूनीउपचारको अधिकारलाई पनि अस्वीकार गरिरहेका छन् र तिनीहरूलाई अनुत्तरित प्रश्नहरूसहितको पीडादायी अवस्थामा छाडेका छन्,” एम्नेस्टी इन्टरनेसनलका आर्थिक तथा सामाजिक न्याय प्रमुख स्टिभ ककबर्नले भने।

“आप्रवासी श्रमिकहरूको मृत्युको पूर्ण छानबिन गर्न हामी कतारी अधिकारीहरूसँग आग्रह गर्दैछौं। यदि श्रमिकहरू अत्यधिक गर्मी जस्ता खतरनाक अवस्थाको सामना गर्दै आएका छन् र मृत्युको अन्य कुनै कारण स्थापित गर्न सकिँदैन भने कतारले पीडित परिवारहरूलाई पर्याप्त क्षतिपूर्ति दिनु पर्दछ र अन्य श्रमिकको सुरक्षालाई सुदृढ पार्न तत्काल कदम चाल्नुपर्छ। आप्रवासी श्रमिकहरूको मृत्युको छानबिन, कानूनी उपचार र रोकथाम गर्न नसक्नु बाँच्न पाउने अधिकारलाई सुरक्षित र सुनिश्चित राख्ने कतारको दायित्वको उल्लंघन हो।”


महामारी विशेषज्ञहरूको अनुसार राम्रो स्रोत भएको स्वास्थ्य प्रणालीमा १ प्रतिशतबाहेक सबै मृत्युको घटनाहरूमा खास कारण पत्ता लगाउन सम्भव हुनुपर्छ तर श्रमिकहरू पठाउने मुख्य देशहरूबाट प्राप्त तथ्याङ्कलाई एम्नेस्टीले गरेको समीक्षामा कतारमा प्रवासी श्रमिकहरूको कारण नखुलाइएको मृत्युदर लगभग ७०% हुन सक्ने पाइएको छ।

कारण नखुलाइएको मृत्युको दर 

एम्नेस्टी इन्टरनेसनलले सन् २०१७ देखि २०२१ को बीचमा कतारले जारी गरेको आप्रवासी श्रमिकहरूका लागि १८ जनाको मृत्यु प्रमाणपत्रको समीक्षा गर्यो। तीमध्ये १५ वटाले मृत्युको मुख्य कारणहरूबारे कुनै जानकारी प्रदान गरेनन्, त्यसको सट्टा “हृदयघात प्राकृतिक कारण”, “हृदयघात निर्दिष्ट नगरिएको” र “प्राकृतिक कारणहरूले गर्दा श्वासप्रश्वाससम्बन्धी विफलता” जस्ता शब्दहरू प्रयोग गरिएका छन्।

सन् २०१५ देखि विश्व कप सुविधाहरूमा “कामसँग असम्बन्धित” भनी अभिलेखिकरण गरिएका ३५ मध्ये आधाभन्दा बढी मृत्युका रिपोर्टहरूमा यस्तै वाक्यांशहरू प्रयोग गरिएका थिए, जसले यस्ता घटनाहरूमा अर्थपूर्ण अनुसन्धान नभएको कुरा जनाउँदछ।

मृत्यु प्रमाणपत्रसम्बन्धी प्रमुख प्याथोलोजिस्ट तथा विश्व स्वास्थ्य संगठनको कार्य समूहका सदस्य समेत रहनु भएका डा. डेभिड बेलीले एम्नेस्टी इन्टरनेसनललाई भने:

“मुख्य कारण जनाउने थप व्यहोरा बिना यी वाक्यांशहरूलाई मृत्यु प्रमाणपत्रमा समावेश गर्नु हुँदैन। वास्तवमा भन्ने हो भने अन्तमा श्वासप्रश्वास वा मुटुको विफलताले गर्दा नै सबै जनाको मृत्यु हुन्छ र मृत्युको कारण नखुलाइएको वाक्यांशहरू अर्थहीन हुन्छन्।”

विभिन्न स्रोतहरूबाट प्राप्त मृत्युको तथ्याङ्कको एम्नेस्टीद्वारा गरिएको विश्लेषणले आप्रवासी श्रमिकहरूको मृत्युको व्यापक रूपमा कारण नखुलाउने गरिएको छ भन्ने जनाउँदछ। आधिकारिक कतारी तथ्याङ्कले देखाएअनुसार सन् २०१० देखि सन् २०१९ को बीचमा सबै उमेर र पेशा समूहका १५,०२१ भन्दा बढी गैर-कतारीहरूको मृत्यु भएको छ तर अनुसन्धानको अभावमा मृत्युको कारणहरूको तथ्याङ्क अविश्वसनीय रहेको कुरा एम्नेस्टीले दस्तावेजीकरण गरेको छ।

कतारको तथ्याँकमा धेरै मृत्युलाई ‘मुटुसम्बन्धी रोगहरू’ को रूपमा वर्गीकरण गरिएको तथ्यले यथार्थमा कारण नखुलाइएका धेरै मृत्युहरूलाई ओझेलमा पार्न सक्दछ। दक्षिण एसियाली देशहरूबाट आउने अधिकांस आप्रवासी श्रमिकहरूको मृत्युको तथ्याङ्कमा पनि यो कुराको संकेत गरिएको छ।

उदाहरणका लागि बङ्गलादेशको सरकारी तथ्याँकले देखाएअनुसार नोभेम्बर २०१६ देखि अक्टुबर २०२० को अवधिमा कतारमा भएको ७१% बङ्गलादेशी नागरिकको मृत्युहरूमा कतारी अधिकारीहरूले “प्राकृतिक कारण” देखाएका थिए।

गार्जियनले गरेको एक अनुसन्धानमा समेत सन् २०१० देखि २०२० को बीचमा भारतीय, नेपाली र बंगलादेशी श्रमिकहरूको ६९% मृत्यु प्राकृतिक कारणले भएको कुरा जनाएको थियो।

अचानक मृत्यु

एम्नेस्टीले छजना आप्रवासी श्रमिकहरू – चारजना निर्माण कार्यमा संलग्न श्रमिकहरू, एकजना सुरक्षाकर्मी र एकजना ट्रक चालक – को मृत्युलाई विस्तृतमा अनुसन्धान गरेको थियो। ती पुरुषहरूमध्ये कसैलाई पनि कुनै आधारभुत स्वास्थ्यसँग सम्बन्धित समस्या थिएन र कतार जानुअघि सबैजनाले अनिवार्य चिकित्सा परीक्षण गरेका थिए। कुनै पनि परिवारले क्षतिपूर्ति पाएका छैनन्।

४० वर्षीय मन्जुर खाँ पठानले ट्रक चालकको रूपमा दैनिक १२ देखि १३ घण्टा काम गर्थे। आफ्नो क्याबिनमा एयर कन्डिसनिङ खराब भएको कुरा उनले गुनासो गरेका थिए।सन् २०२१ फेब्रुअरी ९ का दिन आफ्नो बस्ने ठाउँमा ढले र एम्बुलेन्स आउनुअघि नै उनको मृत्यु भयो।

३२ वर्षीय सुजन मियाँ मरुभूमिको एउटा परियोजनामा पाइप फिटरको काम गर्थे।उनका सहकर्मीहरूले उनलाई सन् २०२० सेप्टेम्बर ९ को बिहान ओछ्यानमा मृत अवस्थामा फेला पारेका थिए।सुजन मियाँको मृत्युको चार दिनअघि तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी थियो।

३४ बर्षीय तुलबहादुर घर्ती निर्माण कार्यमा संलग्न थिए।३९ डिग्री सेल्सियससम्मको तापक्रममा दश घण्टा काम गरेपछि सन् २०२० मेई २८ का दिन सुतेको बेलामा उनको मृत्यु भएको थियो।

३४ बर्षीय सुमन मियाँले निर्माणकार्यमा संलग्न थिए । ३८ डिग्री सेल्सियससम्मको तापक्रममा लामो समय काम गरेपछि सन् २०२० फेब्रुअरी २२ का दिन उनको निधन भएको थियो।

३४ बर्षीय यमबहादुर राना विमानस्थल सुरक्षा गार्डका रूपमा काम गर्थे।यो काममा घाममा बाहिर लामो समय बसेर काम गर्नुपर्थ्यो।सन् २०२० फेब्रुअरी २२ का दिन कामको क्रममा उनको निधन भएको थियो।

३४ बर्षीय मोहम्मद काओचर खान प्लास्टर गर्ने व्यक्तिको रूपमा काम गर्थे।सन् २०२० नोभेम्बर १५ का दिन आफ्नो ओछ्यानमा मृत अवस्थामा भेटिएका थिए।

एम्नेस्टी इन्टरनेसनलले नेपाल र बंगलादेशका पुरुष श्रमिकका परिवारहरूसँग अन्तर्वार्ता लिएको थियो।उनीहरूका नातेदार स्वस्थ भएको आफू विश्वस्त रहेको कुरामा जोड दिंदै परिवारका सदस्यहरू उनको मृत्युको खबरबाट स्तब्ध थिए। आफ्ना नातेदारहरूले नियमित तवरमा काम गर्ने ठाउँमा अत्यन्तै गर्मी र कठिन अवस्थाबारे धेरैले बताए।

यमबहादुर रानाकी पत्नी भुमिसाराले भनिन्:

“[मेरो श्रीमान्] लामो समयसम्म घाममा बस्नैपर्थ्यो। सुख्खापना र गर्मीले गर्दा उहाँलाई हृदयघात भएको जस्तो मलाई लाग्छ किनभने उहाँ बिरामी हुनुहुन्छ भनेर मलाई थाहै थिएन।”

तुलबहादुर घर्तीकी श्रीमती बिपनाले भनिन्:

“आफूलाई कुनै पनि रोग भएको कुरा उहाँले उल्लेख गरेको मैले कहिल्यै सुनेकी थिइनँ…उहाँको अचानक मृत्युको खबर सुन्दा पत्याउनै गाह्रो भयो…मेरो श्रीमानलाई आगो लगायो।आफू तेलमा जलिरहेको जस्तो मलाई लाग्छ।”

अत्यधिक गर्मीका कारण स्वास्थ्यमा खतरा

बाँच्न पाउने अधिकारको संरक्षण गर्ने राज्यको कर्तव्य र काम गर्ने स्वस्थ र उचित वातावरणीय अवस्था सुनिश्चित गर्ने दायित्वअन्तर्गत सम्भावित जोखिमबाट जीवन रक्षाका लागि कानून वा अन्य उपायहरू अवलम्वन गर्ने कुरा समावेश हुन्छ। कतारमा श्रमिकको जीवन र स्वास्थ्यका लागि सबैभन्दा धेरै दस्तावेजीकरण गरिएको र पूर्वानुमान गर्न सकिने जोखिमहरूमध्ये एउटा मुख्य जोखिम अत्यधिक गर्मी र आद्रताको जोखिम हो जुन धेरै प्रतिवदनहरूको विषय बनेको छ।

सन् २०१९ मा कतार सरकारले ग्रीस-बेस फेम प्रयोगशालाद्वारा यस विषयमा अध्ययन गर्यो। कतारी कानूनले उक्त समयमा प्रदान गरेको न्यूनतम सुरक्षात्मक अवस्थामा रहेका श्रमिकहरू तुलनात्मक रूपमा उच्च सुरक्षात्मक स्तरमा रहेका विश्वकप परियोजनामा काम गर्ने श्रमिक समूह भन्दा हृदय घातको उच्च जोखिममा रहेका थिए।

कार्डियोलोजी नामक जर्नलमा प्रकाशित सन् २०१९ मा गरिएको एक अध्ययनले कतारमा नेपाली श्रमिकको गर्मी र मृत्युबीचको सम्बन्ध रहेको कुरा पत्ता लगाएको थियो। सन् २००९-२०१७ को अवधिमा भएको ५७१ [नेपाली अप्रवासी श्रमिकहरूको] मुटुको समस्याको कारणले भएका मृत्युहरूमध्ये २०० जति मृत्युलाई रोक्न सकिन्थ्यो” भन्ने उक्त अध्ययनले निष्कर्ष निकालेको थियो।

हालसम्म कतारमा कामसँग सम्बन्धित तापको तनावविरुद्ध मुख्य सुरक्षाको लागि १५ जूनदेखि ३१ अगस्टको बीचमा केही घण्टामा घरबाहिर काम गर्न प्रतिबन्ध लगाइएको थियो। बाँकी वर्षको लागि कुनै प्रतिबन्ध थिएन। सन् २०२१ मेमा कतारले गर्मीमा काम गर्ने समय प्रतिबन्धलाई १ जून देखि १५ सेप्टेम्बरसम्म बढायो।गर्मी र आर्द्रता ३२ डिग्री पुग्दा बाहिरी काम गर्न निषेध गर्नेलगायत अन्य आवश्यकताहरू लागू गरेको थियो। नयाँ कानूनले श्रमिकहरूलाई अत्यधिक गर्मी भएमा काम गर्न बन्द गर्ने र प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयमा गुनासो पेश गर्ने अधिकार पनि दिएको छ।

यो नयाँ कानून सुधारात्मक भए तापनि यसले “सबै प्रकारका अत्यधिक तापक्रमको जोखिमा रहेका श्रमिकहरूको सुरक्षात्मक आवश्यकता पूरा गर्न नसकेको ” निर्माण उद्योगको क्षेत्रका स्वास्थ्य तथा सुरक्षासम्बन्धी विशेषज्ञ प्राध्यापक डेभिड वेग्म्यानले एम्नेस्टीलाई बताए।

यी नयाँ नियमहरूले अझ बढी सुरक्षा प्रदान गर्ने भए तापनि यसमा जलवायु अवस्था र कामको प्रकृतिको अनुपातमा अनिवार्य विश्राम अवधि भने समावेश गरिएको छैन। यसको सट्टा यी नियमहरूले श्रमिकहरूलाई गर्मी मौसममा ‘स्व-गति’ दिने काम गर्ने अधिकार दिन्छन्।

कतारमा श्रमिक र रोजगारदाताबीचको अत्यन्त असमान शक्ति सम्बन्धलाई ध्यानमा राख्दै एम्नेस्टीद्वारा परामर्श गरिएका विज्ञहरूले ‘स्व-गति’ मा भर पर्नु धेरै श्रमिकहरूका लागि सम्भावना कम छ र श्रमिकहरूको सुरक्षा अनिवार्य बिश्राममा “गम्भीर रूपमा निर्भर” हुन्छ भन्ने कुरा प्रकाश पारे।  

“हाम्रा सबै सपनाहरू विलिन भए

आफ्ना प्रियजनको मृत्युको मुख्य कारण दर्शाउने कुनै पनि प्रकारको मृत्युपश्चातको परीक्षण प्रतिवेदन एम्नेस्टीद्वारा अन्तर्वार्ता लिइएका कुनै पनि परिवारलाई प्रदान गरिएको थिएन। यसको अर्थ काम गर्ने अवस्थाको कारणले यस्तो भएको छ भनेर निर्धारण गर्न नसकिने भएकोले रोजगारदाता वा कतारी अधिकारीहरूबाट क्षतिपूर्ति पाउने सम्भावनालाई रोक्दछ।

एम्नेस्टीले सुमन मियाको दुई साना छोराछोरीलगायत परिवारसँग बंगलादेशको आफ्नो घरमा भेट्घाट गर्यो। उनीहरूले सुमनको मृत्यु भएको खबर उनको सहकर्मीहरूबाट सुने र उनीहरूलाई कतारी अधिकारीहरूले सम्पर्क गरेनन् वा उनीहरूलाई शव परीक्षण प्रतिवेदन पनि दिएनन्।

“सुरुमा त मैले यो खबर पत्याउनै सकिनँ।मैले केही घण्टाअघि मात्र उहाँसँग कुरा गरेको थिएँ,” सुमनकी श्रीमती सुमी अक्तरले भनिन्।

बंगलादेशी कल्याण बोर्डले सुमनको परिवारलाई ३,००,००० बंगलादेशी टाका (लगभग ३,५०० अमेरिकी डलर) प्रदान गरेको थियो।तर यो रकम रोजगारीको लागि कतार जाने बेला सुमनले तिरेको भर्ना शुल्कका लागि लिइएको ऋण चुक्ता गर्नका लागि प्रयोग गरियो।

मोहम्मद काओचर खानले कतारमा आफ्नो जागिर पाउन पनि भर्ना शुल्क तिरेका थिए। उनको परिवारले जमिन बेचेर र ऋण काढेर आंशिक रूपमा ३,५०,००० बङ्गलादेशी टाका (लगभग ४,१३० अमेरिकी डलर) शुल्क मोहम्मदलाई आर्थिक सहयोग गरेको थियो। बंगलादेशी सरकारले उनीहरूलाई पनि आर्थिक सहयोग प्रदान गरेको थियो, जसबाट उनीहरूले ऋण चुक्ता गरेका थिए।

मोहम्मदका भाइ डिडारुल इस्लामले एम्नेस्टीलाई भने:

“मेरो भाइ बितेपछि हाम्रा सबै सपनाहरू विलिन भए।उनले हाम्रो जीवनस्तर उकास्ने आशा गरेका थिए तर हामीले कहिल्यै पनि पैसा बचाउन सकेनौं किनभने उहाँको अधिकांस ज्याला रोजगारीमा जाँदा लागेको खर्च तिर्न प्रयोग गर्यौं।”

यी परिवारहरूले अहिले सामना गरिरहेका संघर्षहरूले शोषणको चक्रलाई देखाएको छ जसबाट कतारमा रहेका यति धेरै आप्रवासी श्रमिकहरू निरन्तर शिकार भइरहेका छन्। सन् २०१० मा फिफा विश्वकप २०२२ खेल खेलाउने अवसर कतारलाई प्रदान गरिएदेखि कतारले आफ्नो श्रम कानूनमा धेरै महत्त्वपूर्ण सकारात्मक सुधार गरेको छ।तर फितलो कार्यान्वयनले वास्तवमा प्रगति सोचेजस्तो हुनसकेको छैन र शोषण सामान्य जस्तै हुन पुगको छ। धेरै आप्रवासी श्रमिकहरू दण्डहीनताका साथ श्रमिकमाथि दुर्व्यवहार गर्न छुट पाइरहेका निर्दयी रोजगारदाताहरूको दयाको चङ्गुलमा रहेका छन्।

एम्नेस्टी इन्टरनेसनलले कतारलाई अत्यधिक गर्मीबाट श्रमिकको संरक्षण गर्नका लागि उनीहरूले सामना गर्ने जोखिमअनुरूप अनिवार्य विश्रामको व्यवस्था लागू गरेर आफ्नो कानुन बलियो बनाउन र आप्रवासी श्रमिकहरूको मृत्युको छानबिन, प्रमाणीकरण र क्षतिपूर्तिमा सुधार गर्न आह्वान गरिरहेको छ।

“कतारले प्रत्येक श्रमिकको मृत्युको उचित छानबिन गर्न एक विज्ञ टोली गठन गर्नुपर्छ र अत्यधिक तापको जोखिम जस्ता काम गर्ने अवस्था कारकको रूपमा रहेको कुरा नकार्न नसकिने अवस्था रहेको अवस्थामा क्षतिपूर्ति सुनिश्चित गर्नुपर्दछ,” स्टिभ ककबर्नले भने।

“कतार विश्वको सबैभन्दा धनी देशमध्येको एक हो – उसले यो भन्दा अझ धेरै राम्रो गर्न सक्ने मात्र होइन, यसो गर्ने उसको दायित्व पनि हो।”

पृष्ठभूमि

विज्ञहरूले अत्यधिक तापक्रमको कारण हुन सक्ने मृत्युको कारण पत्ता लगाउन प्रयोग गरिने विभिन्न विधिहरूबारे बताए। यसमा कार्यस्थलको अवस्थाको छानबिन, श्रमिकहरूको विगतको स्वास्थ्य अवस्था र मृत्युका वैकल्पिक कारणहरू पन्छाउन विभिन्न चिकित्सा परीक्षणहरू समावेश छन्।

सन् २०१० देखि २०१९ को बीचमा कतारमा १५,०२१ गैर-कतारीहरूको मृत्यु भएको आधिकारिक तथ्याङ्कले देखाउँछ। यो कुरा काम गर्ने अवस्थाको कारण मूत्यु भएका आप्रवासी श्रमिकहरूको संख्यासँग मिल्दैन किनभने यसमा सबै उमेर र पेशाका मानिसहरू र कारणहरू समावेश छन्।

सरकारी तथ्याङ्कमा पनि विश्वकपको तयारीमा कति श्रमिकहरूको मृत्यु भएको कुरा जनाएको छैन। सन् २०१५ देखि यता आफूले निरीक्षण गर्ने विश्वकप आयोजनामा ३५ श्रमिकहरूको मृत्यु भएको कुरा कतारको सुप्रिम कमिटी अन डेलिभरी एण्ड लेगेसी ले बताएको छ। तर, टुर्नामेन्टसँग जोडिएका अन्य पूर्वाधार आयोजनाहरूमा कति श्रमिकहरूको मृत्यु भएको कुनै तथ्याङ्क छैन।