नेपाली अधिकारीहरूले पत्रकार दिलभूषण पाठकविरुद्ध जारी गरेको पक्राउ पुर्जीले नेपालमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको संरक्षणमाथि गम्भीर चिन्ता पैदा गरेको र देशभित्रको स्वतन्त्र आवाजहरूलाई दबाउने जोखिम बढाएको एम्नेस्टी इन्टरनेसनल नेपालले आज जनाएको छ।
नेपाल प्रहरीको साइबर ब्युरोमा गरिएको उजुरीका आधारमा विद्युतीय कारोबार ऐनअन्तर्गत जारी गरिएको भनिएको पक्राउ पुर्जी हालै मात्र पाठकले आफ्नो कार्यक्रम ‘टफ टक विथ दिलभूषण पाठक’ मा वर्तमान सरकारका एक बहालवाला मन्त्रीसहित वरिष्ठ राजनीतिक व्यक्तित्वहरूसँग सम्बन्धित तथाकथित व्यापारिक लेनदेनबारेको समाचार प्रकाशित गरेपछि आएको हो।
“यो घटनाले खोजमूलक पत्रकारितालाई निरुत्साहित गर्नका लागि राज्यसत्ताको दुरुपयोग गर्ने गम्भीर प्रयासको प्रतिनिधित्व गर्दछ। अनुसन्धानका लागि दुरुपयोग गरिँदै आएको विद्युतीय कारोबार ऐनअन्तर्गतको यो अनुसन्धानलाई अधिकारीहरूले रोक्नुपर्दछ र केवल रिपोर्टिङ्ग गरेकै आधारमा तथा युट्युब च्यानलमा उठाइएका आलोचनात्मक प्रश्नहरू गरेकै कारण पाठकलाई पक्राउ गर्नबाट पछि हट्नु पर्छ,” एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भने। “पत्रकारहरूले कुनै प्रतिशोधको डर वा त्रास बिना कठिन प्रश्नहरू सोध्न र असहज सत्यहरूलाई उजागर गर्न सक्नुपर्छ। आलोचनात्मक रिपोर्टिङलाई दबाउनका लागि कानुनी प्रावधानको प्रयोग अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रत्यक्ष प्रहार हो जसलाई नेपालको संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानुनले प्रत्याभूत गरेको छ।”
“यो कदमले नेपालमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अधिकारका लागि खतरनाक नजिर सिर्जना गर्दै छ,” थपलियाले भने। “सूचना खोज्ने, प्राप्त गर्ने र प्रदान गर्ने अधिकारसमेत जोडिने अभिव्यक्ति स्वतन्त्रता एउटा मौलिक मानवअधिकारको विषय हो जसलाई राजनीतिक रूपमा संवेदनशील विषयवस्तुहरूका बारेमा अभ्यास गर्दा समेत संरक्षित गर्नु पर्छ।”
सूचना खोज्ने, प्राप्त गर्ने र प्रदान गर्ने अधिकारसमेत जोडिने अभिव्यक्ति स्वतन्त्रता एउटा मौलिक मानवअधिकारको विषय हो जसलाई राजनीतिक रूपमा संवेदनशील विषयवस्तुहरूका बारेमा अभ्यास गर्दा समेत संरक्षित गर्नु पर्छ।
निराजन थपलिया, निर्देशक, एम्नेस्टी इन्टरनेसनल नेपाल
यस खाले सार्वजनिक सरोकारका विषयहरू पूर्ण रूपमा पत्रकारिताको निगरानी र जवाफदेहिताको दायरामा पर्ने भएकोले पाठकविरुद्ध फौजदारी कारबाही अघि बढाउने निर्णयले पत्रकारहरूलाई हतोत्साही बनाउन तथा त्रासमा राख्नका लागि राज्यसत्ताको दुरुपयोग गरिएको सम्बन्धमा गम्भीर प्रश्न उठाएको छ।
पत्रकार दिलभूषण पाठकविरुद्ध जारी गरिएको पक्राउ पुर्जी तत्काल फिर्ता लिन र सञ्चार सामग्रीसम्बन्धी कुनै पनि गुनासाहरू प्रेस काउन्सिल नेपाल जस्ता उपयुक्त र स्वतन्त्र निकायमार्फत सम्बोधन गर्न एम्नेस्टी इन्टरनेसनल नेपाल नेपाल सरकारलाई आह्वान गर्दछ। नेपाल सरकारले आफ्नो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्वहरू पालना गर्दै प्रेस स्वतन्त्रताको संरक्षण गर्नुपर्छदछ र कुनै डर, धाक, धम्की वा अवाञ्छित हस्तक्षेप रहित तवरमा पत्रकारहरूले आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने वातावारणलाई सुनिश्चित गर्नुपर्छ।