Human rights action at AGM

एम्नेस्टी नेपालको एकतीसौँ साधारण सभा सम्पन्न

प्रेस विज्ञप्ति

४ पौष २०७९

काठमाडौं

एम्नेस्टी इन्टरनेसनल नेपाल (एम्नेस्टी नेपाल) ले मिति २०७९ पौष २ गते नवलपरासी (पूर्व) गैँडाकोटमा आफ्नो ३१औँ साधारण सभा आयोजना गरेको छ। एक दिने उक्त साधारण सभा कार्यक्रममा एम्नेस्टी नेपालका भोटिङ डेलिगेट्स, नेसनल बोर्ड तथा अपिल कमिटिका सदस्य, कर्मचारी, पूर्वअध्यक्ष, पर्यवेक्षक र अन्य विशिष्ट अतिथिहरूसमेत गरी करिब ३०० जना सहभागीहरूले सक्रिय सहभागिता जनाएका थिए।

प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य माननीय बद्रीप्रसाद पाण्डे प्रमुख अतिथिको रूपमा कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी उद्घाटन सत्रमा जेसिस नेपालका अध्यक्ष लालमणि भण्डारी पनि विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

एम्नेस्टी नेपालको यस वर्षको साधारण सभाको एउटा उल्लेखनीय कुरा के छ भने एम्नेस्टी नेपालले द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष श्री सुमन अधिकारी – जो एम्नेस्टी नेपालका तत्कालीन सम्मानित सदस्य स्वर्गीय मुक्तिनाथ अधिकारीका ज्येष्ठ सुपुत्र हुनुहुन्छ – लाई सम्मान गरेको छ। स्वर्गीय मुक्तिनाथ अधिकारीलाई तात्कालीन विद्रोही माओवादीका कार्यकर्ताद्वारा २०५८ साल माघ ३ गते निर्ममता पूर्वक हत्या गरिएको थियो। अधिकारीले आफू जस्तै मानवअधिकार उल्लङ्घनमा परेका नेपालका दशौँ हजार पीडितको सत्य, न्याय र परिपूरणको अधिकारको लागि अथक र अनवरत प्रयास गरेको भन्दै उहाँलाई एम्नेस्टी नेपालले ह्युमन राइटस् डिफेन्डर्स अवार्ड, २०२२ बाट सम्मान गरेको छ। सम्मानका साथै एम्नेस्टी नेपालले उहाँलाई रू. २१ हजारको नगद राशी प्रदान गरेको छ।

उद्घाटन सत्रमा एम्नेस्टी नेपालले आफ्नो एकजना कर्मचारी श्री चक्र कुमार प्रधानलाई पनि संस्थामा उनले गरेको लामो सेवाको लागि दीर्घ सेवा कदरपत्र सहित पुरस्कृत गरेको छ। उनलाई ५१ हजार रुपैयाँ पुरस्कार दिइएको छ।

साधारण सभाको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि माननीय पाण्डेले नेपालको संविधानमा व्यवस्था भएबमोजिम जनताको अधिकारको संरक्षण र प्रवर्द्धनका लागि उक्त संवैधानिक प्रावधानहरूलाई व्यवहारमा रूपान्तरण गर्ने सवालमा नयाँ कानुनी संयन्त्र तर्जुमा गर्नेलगायतका कर्ममा सक्रियतापूर्वक संलग्नता दर्शाउने प्रतिबद्धता जनाए। नेपाल जेसिसका अध्यक्ष भण्डारीले एम्नेस्टी नेपालको मानवअधिकार अभियान कार्यको प्रशंसा गर्दै उक्त मानवअधिकार अभियानहरूमा भविष्यमा सहकार्य र साझेदार हुन आफू र नेपाल जेसिस प्रतिबद्ध रहेको बताए।

उद्घाटन कार्यक्रममा बोल्दै एम्नेस्टी नेपालका पूर्वअध्यक्षहरूले न्यायपालिकाले सजाय सुनाएका अपराधीलाई उन्मुक्ति दिन र गम्भीर आपराधिक मुद्दामा फसेका अन्यलाई जोगाउने उद्देश्यले फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्ने उद्देश्यका साथ काम चलाउ सरकारले विवादास्पद अध्यादेश ल्याउनुको नियतमाथि प्रश्न उठाए।

एम्नेस्टी नेपालका अध्यक्ष बिपिन बुढाथोकीले मानवअधिकारका उद्देश्य प्राप्तिका लागि संस्थाको उद्देश्य सार्थक (fit for purpose) एउटा बलियो रणनीतिक ढाँचा तय गरी एम्नेस्टी नेपालको मानवअधिकार आन्दोलनलाई अझ सबल र सशक्त बनाउने लक्ष्यको बारेमा चर्चा गर्नुभो। विगत केही वर्षदेखि सुरू भइरहेको आन्तरिक सांगठनिक सुधारलाई अझ थप सुदृढ बनाउनका लागि पनि सबैलाई साथ र सकारात्मक योगदान गर्न उनले आग्रह गरे। 

एम्नेस्टी नेपालका पूर्व उपाध्यक्ष श्री पार्वता आचार्यको अध्यक्षतामा साधारण सभाको बन्द सत्र सम्पन्न भएको थियो। बन्द सत्रले वार्षिक प्रतिवेदन, लेखापरीक्षण तथा वित्तीय लेखा प्रतिवेदन, सुशासन प्रतिवेदन र सन् २०२३ का लागि प्रस्तावित कार्यक्रम र बजेटमाथि आवश्यक प्रस्तुति र छलफल गरी पारित गरेको थियो।

बन्द सत्रको समापनपछि एम्नेस्टी नेपालको सहयोगमा तयार पारिएको “डेथ्स अनएक्सप्लेन्ड” शीर्षकको वृत्तचित्र प्रदर्शन गरिएको थियो। वृत्तचित्रले कसरी गन्तव्य देशहरूमा नेपाली आप्रवासी श्रमिकहरूको मृत्युलाई “प्राकृतिक कारणहरू”लाई उल्लेख गरी ती मृत्युका वास्तविक सत्य उपलब्ध नगराई सामान्यिकरण गर्ने गरिएको छ भन्ने कुरामाथि प्रकाश पारेको छ। यसो गर्दा शोकाकुल परिवारहरू आफ्ना प्रियजनहरूलाई के भयो भनेर जान्न पाउने अधिकारबाट मात्र वञ्चित छैनन् उनीहरू आफूले भोग्नुपरेको नोक्सानीको क्षतिपूर्ति दाबी गर्न पनि असमर्थ छन्। वृत्तचित्र प्रदर्शनीपछि सहभागीहरूले मानवअधिकार अभियानमा भाग लिएका थिए जसमा उनीहरूले कतारमा आप्रवासी श्रमिकमाथि भइरहेको व्यवहारप्रति चिन्ता व्यक्त गर्दै विश्वकप २०२२ को सफल संचालनका लागि महत्त्वपूर्ण पूर्वाधार निर्माणका लागि काम गर्ने क्रममा ज्यान गुमाएका, गम्भीर घाइते भएका र आफ्नो बचत गुमाएका आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यहरूका लागि क्षतिपूर्ति उपलब्ध गराउनका लागि एक क्षतिपूर्ति कोष स्थापना गर्न आग्रह गरिएको प्लेकार्ड र ब्यानर बोकेका थिए।