एम्नेस्टी इन्टरनेसनल नेपालको ३२औँ वार्षिक साधारणसभा दाङमा हुँदै

प्रेस विज्ञप्ति

२०८० मंसिर १४

एम्नेस्टी इन्टरनेसनल नेपाल (एम्नेस्टी नेपाल)ले मिति २०८० मंसिर १५ र १६ गते (१ र २ डिसेम्बर २०२३) दाङको घोराहीमा आफ्नो ३२ औँ वार्षिक साधारणसभा आयोजना गर्दैछ।

यस साधारण सभाले संस्थाको वार्षिक प्रतिवेदन, कार्ययोजना, बजेट र केही संस्थागत नीतिहरूमाथि छलफल गरी पारित गर्नेछ। यस साधारणसभाले संस्थाको सदस्यता र गभर्नेन्सको संरचना र प्रक्रियालाई पुनर्परिभाषित तथा परिमार्जन गर्ने उद्देश्यले संस्थाको विधान र नियमावलीहरू संशोधनको प्रस्तावमाथि पनि छलफल र मतदान गर्नेछ।

यस संस्थाको नेतृत्वले यस वार्षिक साधारणसभा भन्दा महिनौं अगाडिदेखि संस्थाको मानवअधिकार सक्रियतालाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ एम्नेस्टी इन्टरनेसनल नेपालको अभियानलाई पुनर्संरचना गर्ने ढाँचामा काम गरेको थियो। दाङमा हुने ३२औँ साधारणसभामा उपस्थित हुने एम्नेस्टी नेपालका प्रतिनिधि सदस्यहरूको वार्षिक साधारणसभाले उक्त ढाँचालाई बलियो बनाउने र नेपालमा एम्नेस्टी अभियानलाई थप सबल, समावेशी, विविधतायुक्त, सहभागितामूलक र अझ बढी लोकतान्त्रिक बनाउन निर्देशन दिने लक्ष्य राखेको छ।

“३२औँ साधारणसभाको मुख्य विषय भनेको नेसनल बोर्डले पेस गरेको एम्नेस्टी नेपालको विधान र नियमावलीलाई संशोधन गर्ने प्रस्तावउपरको छलफल तथा अनुमोदन हुनेछ। साधारणसभामा नेसनल बोर्डले अघि सारेको सदस्यता एवं गभर्नेन्स व्यवस्थाको पुनर्संरचनाको प्रस्ताव नेपालमा रहेका सदस्य तथा समर्थकहरूका माग र आकांक्षाअनुरुप तथा समयसँगै बदलिँदो आवश्यकता तथा चुनौतीहरूसँग अनुकूलित हुँदै नविनतम र जटिल समकालीन मानवअधिकारका विषय वस्तुहरूमा काम गर्ने अभिलाषा राख्ने विश्वव्यापी आन्दोलनको विकासशील चरित्रसँग तादाम्यता राख्ने प्रकृतिको छ”, एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियाले भने।

साधारण सभाको उद्घाटन सत्र मंसिर १५ गते होटल माला इन, घोराही, दाङमा हुनेछ। उद्घाटन समारोहलाई माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र प्रतिनिधि सभाका माननीय सदस्य एवं नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सम्बोधन गर्नुहुनेछ भने उक्त सभामा लुम्बिनी प्रदेश सरकारका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि, दाङका स्थानीय नागरिक समाजका सदस्य, पत्रकार एवं एम्नेस्टी नेपालका सदस्य तथा समर्थकहरूको सहभागिता रहनेछ।  

यस साधारणसभाको दौरान अक्टोबर ७ देखि बढेको द्वन्द्वका क्रममा १४,५०० भन्दा बढी प्यालेस्टाइनीहरूको मृत्यु भइसकेको गाजामा पूर्ण युद्धविरामको माग गर्दै एम्नेस्टी नेपालका सदस्यहरूले एक ह्युमन राइट्स याक्सनमा पनि सहभागिता जनाउने छन्।

साधारणसभाको बन्द सत्रको बैठक मंसिर १६ गते हुनेछ जसमा सहभागी प्रतिनिधिहरूले एम्नेस्टी नेपालद्वारा अघिल्लो आर्थिक वर्षमा भए गरेका कामहरूको प्रभावउपर विमर्श गर्नेछन् र सन् २०२४ को प्राथमिकता र प्रस्तावित बजेटमाथि छलफल गरी अनुमोदन गर्नेछन्। बन्द सत्रमा आर्थिक प्रतिवेदनका साथै संस्थाको जवाफदेहितासम्बन्धी प्रतिवेदनहरूमाथि पनि छलफल गरी अनुमोदन गरिननेछ। एम्नेस्टी नेपालको विधान र नियमावलीका प्रस्तावित संशोधनहरूमाथि पनि छलफल गरी स्वीकृतिका लागि मतदान हुनेछ।

एम्नेस्टी नेपालको ३२औं वार्षिक साधारणसभामा एम्नेस्टी नेपालको विभिन्न समूह र युथ नेटवर्कका सदस्यहरू, एम्नेस्टी नेपालको राष्ट्रिय बोर्ड र अपिल कमिटिका सदस्यहरू, पूर्व अध्यक्षहरू, कर्मचारी, स्वयंसेवक र पर्यवेक्षकहरूसमेत गरी करिब ३०० जनाको देशभरीबाट सहभागिता रहनेछ। कार्यक्रमका अन्य अतिथिमा दाङका स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिहरू, नागरिक समाजका सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू लगायतको सहभागिता रहनेछ।