एम्नेस्टी नेपालको ३३औं वार्षिक साधारणसभा नवलपरासीमा आयोजना हुँदै

एम्नेस्टी इन्टरनेसनल नेपाल (एआई नेपाल)ले यही मिति २०८१ मङ्सिर २९ र ३०  गते आफ्नो ३३औं वार्षिक साधारणसभा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैंडाकोटमा आयोजना गर्दैछ।

यस साधारण सभाको प्रमुख छलफलका विषयहहरूमा आर्थिक वर्ष २०८०/८१ को विधानजनित प्रतिवेदनहरूको प्रस्तुति, छलफल र स्वीकृति, सन् २०२५ को वार्षिक मानवअधिकारसम्बन्धी कार्ययोजना र बजेट, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति तथा नयाँ नेसनल बोर्ड र विभिन्न विधानजनित समितिहरूको निर्वाचन रहेका छन्।

यस वार्षिक साधारण सभामा मिति २०८१ भाद्र ११ देखि असोज ७ का बीच आठवटा विभिन्न स्थानहरूमा आयोजना गरिएका प्रादेशिक/क्षेत्रीय भेलाहरूमार्फत चयन भएका १०० जना प्रतिनिधिहरूले सहभागिता जनाउनेछन्। यी प्रतिनिधिहरूका अतिरिक्त कार्यक्रममा एआई नेपालको नेसनल बोर्ड र अन्य समितिका सदस्यहरू, पूर्व अध्यक्षहरू, कर्मचारी, स्वयंसेवक, र पर्यवेक्षकहरू पनि सहभागी हुनेछन्।

यस साधारण सभाको औपचारिक उद्घाटन मङ्सिर २९ गतेका लागि तय गरिएको छ र प्रतिनिधि सभाका सदस्य माननीय गगन कुमार थापाले प्रमुख अतिथिको रूपमा सभालाई सम्बोधन गर्नुहुनेछ। यस समारोहमा स्थानीय नागरिक समाजका सदस्यहरू, पत्रकार, गण्डकी प्रदेशका सरकारी कार्यालयका प्रतिनिधिहरू, स्थानीय सरकारका अधिकारीहरू एवं एआई नेपालका सदस्य र समर्थकहरूको सहभागिता रहनेछ।

“यो साधारण सभा मानवअधिकारप्रतिको हाम्रो सामूहिक प्रतिबद्धतालाई थप सुदृढ बनाउने एउटा अवसर हो,” एआई नेपालका निर्देशक निराजन थपलियाले भने “यस सभाका दौरान भएका छलफल र निर्णयहरूले सन् २०२५मा हामीले गर्ने प्रयासहरूका बारेमा मार्गदर्शन गर्नेछन् र नेपाल तथा बाहिरका मानवअधिकारका सबैभन्दा गम्भीर चुनौतीहरूलाई संबोधन गर्ने सवालमा हामीलाई थप दृढ बनाउनेछन् । संस्थाको संशोधित विधानअनुसार हुने नयाँ नेसनल बोर्ड र विधानजनित समितिहरूको निर्वाचनले संस्थाभित्र सुदृढ र सुधारिएको लोकतान्त्रिक सुशासनतर्फ नयाँ युगको सुरूवात गर्ने अपेक्षा गरिएको छ।यसले थप प्रभावकारी मानवअधिकार उपलब्धिहरू हासिल गर्न र उद्देश्यसार्थक दिशा र परिदृष्यको विकास गर्न योगदान पुर्याउनेछ।”

यसका साथै, प्रतिनिधिहरूले गाजामा जारी जातिसंहारको तत्काल अन्त्यको माग गर्दै आयोजना गरिने एक सार्वजनिक याक्सनमा पनि सहभागिता जनाउनेछन्। सन् २०२३ को अक्टोबर ७ मा दक्षिण इजरायलमा  हमासको नेतृत्वमा भएको घातक आक्रमणपछि इजरायलले निर्लज्ज, निरन्तर र पूर्ण रूपमा दण्डहीनताका साथ गाजाका प्यालेस्टाइनीहरूमाथि नारकीय वितण्डा र विध्वंश मच्चाउँदै त्यहाँका जनतालाई विनाशको संघारमा पुर्याएको सन्दर्भमा यो याक्सनलेगाजामा न्याय र शान्तिका लागि एम्नेस्टी इन्टरनेसनलद्वारा गरिएको आह्वानलाई प्रकाश पार्नेछ।

“हाम्रो साधारण सभामा गरिने सार्वजनिक याक्सनले गाजामा भइरहेका अमानवीय कार्यहरूको संबोधनको गाम्भीर्यतालाई प्रतिबिम्बित गर्दछ,” थपलियाले थपे। ” एम्नेस्टीद्वारा हालै प्रकाशित प्रतिवेदनले इजरायलले गाजाका प्यालेस्टाइनीहरूविरुद्ध जातिसंहार गरिरहेको निष्कर्ष निकालेको छ। यसले हिंसा अन्त्य गर्न र पीडकहरूलाई जवाफदेही बनाउन विश्वव्यापी ऐक्यबद्धता र तत्काल कारबाहीको गम्भीर आवश्यकतालाई जोड दिन्छ।”

तपाईंलाई आफू अमानव भए जस्तो अनुभूति हुन्छ’: गाजाका प्यालेस्टाइनीहरूविरुद्ध इजरायलको जातिसंहार (You Feel Like You Are Sub-human’: Israel’s Genocide Against Palestinians in Gaza नामको एम्नेस्टी प्रतिवेदन ५ डिसेम्बरमा प्रकाशित भएको हो।

साधारणसभाको दोस्रो दिनमा निर्वाचनलगायतका अन्य सत्रहरू हुनेछन्। उक्त दिन प्रतिनिधिहरूले आफ्नो मत हाल्नेछन् र सोही दिन मतगणना र परिणामहरूको घोषणा गरिनेछ।

एम्नेस्टी नेपालको ३३ औँ साधारण सभा पुष १ गतेको बिहान एउटा प्रेस सम्मेलनका साथ समापन हुनेछ।