न्यायको पर्खाइका २० वर्ष: राज्य जवाफदेही बन्ने कहिले?

तत्काल प्रकाशनका लागि

प्रेस विज्ञप्ति

काठमाण्डौं, २ माघ २०७८: स्वर्गीय मुक्तिनाथ अधिकारीको परिवार र अधिकारकर्मीहरू उनको निर्ममतापूर्वक हत्या गरिएको २०औं बार्षिक स्मृति दिवसको सन्दर्भमा निरन्तर रूपमा सम्बोधन नभएको एउटा प्रश्न गर्दैछन्: द्वन्द्वकालमा गरिएका मानवअधिकार उल्लङ्घनका घटनाहरूप्रति राज्य कहिले जवाफदेही होला?

चन्दा नदिएको कारण २०५८ साल माघ ३ गतेको दिन लमजुङमा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताहरूले निर्ममतापूर्वक अधिकारीको हत्या गरेका थिए। कक्षाकोठामा विज्ञान पढाइरहेको बेला माओवादी कार्यकर्ताहरूको एक समूहले कक्षाकोठामा जबर्जस्ती प्रवेश गरेर डरले त्रसित र आफ्नो गुरूको सुरक्षाका लागि रोइकराइ गरिरहेका उनका प्यारा विद्यार्थीहरूकै अगाडि आँखामा पट्टी बाँधेर उनलाई अपहरण गरेका थिए। उनलाई गाउँको अलि परको थुम्कोमा लगी उनैले लगाएको गलबन्दी र डोरीले रूखमा झुण्ड्याएर टाउको र छातिमा गोली प्रहार गरिएको थियो। उनी पाणिनि संस्कृत माध्यमिक विद्यालय लमजुङका तत्कालीन प्रधानाध्यापक एवं एम्नेस्टी इन्टरनेसनल नेपाल शिक्षक समूह–७९ लमजुङका तत्कालीन संयोजक थिए। 

उक्त हत्याको अनुसन्धानको माग गर्दै अधिकारी परिवारले नेपालमा उपलब्ध न्यायका सबै ढोकाहरू ढकढकाए तर केही लागेन।परिवारका सदस्यले जिल्ला प्रहरी कार्यालय लमजुङ र सत्य निरुपण तथा मेलमिलाप आयोग दुवैमा दर्ता गरेको जाहेरीहरूमाथि परिवारले सन्तुष्ट महसुस गर्ने खालको हालसम्म कुनै विश्वसनीय अनुसन्धान प्रक्रिया अगाडी बढेका छैनन्। राष्ट्रिय मानवअधिकार आयोगमा दर्ता गराइएको उजुरीमा पनि उचित ढङ्गमा विस्तृत अनुसन्धान हुन सकेन।जसका कारण घटनामा संलग्न दोषीको पहिचान हुन सकेन।   

“सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोग – सत्य निरुपण तथा मेलमिलाप आयोग र बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग – को कार्यकाल चौथो पटक थप गरिएको भए पनि यी दुईवटै आयोगहरूले अहिलेसम्म एउटा पनि घटनामा अनुसन्धान टुङ्गाएका छैनन्। र यी संयन्त्रहरूलाई पीडितहरूको सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित गर्नका लागि भन्दा पनि राजनीतिक सौदाबाजीका रूपमा प्रयोग  गरिनु अत्यन्तै दुःखको कुरा हो, ” मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठानका कोषाध्यक्ष दिपक अधिकारीले भने। “मुक्तिनाथ अधिकारीका परिवारका लागि मात्र नभएर राज्यको हातबाट निरन्तर अन्यायमा परिरहेकाहरू सबैको न्यायका लागि हामी निरन्तर आवाज उठाइरहने छौँ।”

 अभिव्यक्त स्वतन्त्रतालाई अभ्यास गर्न कठिन त्यस बखतमा मुक्तिनाथ अधिकारी आफ्ना विद्यार्थीहरूलाई मानवअधिकारसम्बन्धी शिक्षा प्रदान गर्न तथा न्याय र मानवअधिकारको अभियानहरू संचालन गर्न प्रतिबद्ध थिए।

“अधिकारी नेपालको एम्नेस्टी अभियानका एक महत्त्वपूर्ण सदस्य थिए।उनको हत्यालाई हामी सबै मानवअधिकार रक्षकहरूले गर्ने मानवअधिकार रक्षाको कार्यमाथि भएको आक्रमणको रूपमा लिन्छौं,” एम्नेस्टी नेपालका निर्देशक निराजन थापालियाले भने। “बीस वर्षअघि हत्या गरिएका हाम्रा एक जना सम्मानित सदस्यको क्रूर हत्याको शोकमा उहाँलाई श्रद्दा सुमन अर्पण गरिरहँदा कुनै पनि प्रकारको हिंसा र अन्यायविरुद्ध खडा भएर आवाज उठाउने हाम्रो संकल्प झनै दृढ भएको छ।” 

मुक्तिनाथ अधिकारीको निर्मम हत्या नेपालमा दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्वका बेला राज्य र विद्रोही दुवै पक्षहरूले गरेको हजारौँ मानवअधिकार उल्लङ्घनका घटनाहरूमध्येको एक प्रतिनिधिमूलक घटना हो । २०६३ साल मंसिर मा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएयता १५ वर्ष बितिसकेको छ। तर यी उल्लंघनका घटनाहरूमा सत्य स्थापित गर्ने र न्यायको सुनिश्चितता गर्ने कार्यमा कुनै प्रगति भएको छैन।

द्वन्द्वपीडित तथा मानवअधिकारकर्मीहरूले सत्य, न्याय र परिपूरणका लागि लामो समयदेखि सङ्घर्ष गर्दै आएका छन् । तर दुःखको कुरा सर्वोच्च अदालतले दिएको आदेश बमोजिम सङ्क्रमणकालीन न्याय ऐन संशोधनका लागि पारदर्शी, सहभागितामूलक र अर्थपूर्ण प्रक्रिया अघि बढाउनुपर्ने र विश्वसनीय प्रकृया अवलम्वन गरेरमात्र आयोगहरू गठन गरिनुपर्ने भन्ने पीडित र अधिकारकर्मीहरूको लामो समयदेखिको मागलाई बेवास्ता गरिँदै आएको छ।

“राज्यले नेपालमा लामो समयदेखि अवरूद्ध सङ्क्रमणकालीन न्याय प्रकृयालाई थप ढिलाइ गरी कमजोर पार्नुको साटो यस मुद्दालाई संबोधन गर्ने इच्छाशक्ति र कार्यदिशासहितको दृढ प्रतिबद्धता प्रदर्शन गर्नुपर्दछ,” मुक्तिनाथ अधिकारीका छोरा सुमन अधिकारीले भने। “द्वन्द्वकालमा घटेका मानवअधिकार उल्लङ्घनका घटनाहरूको उचित तरिकाले समाधान नगरेसम्म नेपालमा विद्यमान दण्डहीनता र अन्याय जारी रहनेछ जसले मुलुकको दिर्घकालीन शान्ति र विकासमा प्रतिकूल असर पार्नेछ।”

मुक्तिनाथ अधिकारीको सम्मानमा स्मृति तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिने

मुक्तिनाथ अधिकारीको निर्ममतापूर्वक हत्या भएको २०औं वार्षिक स्मृति दिवसको सन्दर्भमा उनको सम्मानस्वरूप  मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठान र एम्नेस्टी इन्टरनेसनल नेपालले मिति २०७८ साल माघ ३ गतेका दिन अपराह्न ४ बजे एउटा स्मृति कार्यक्रम आयोजना गर्दैछन्। अनलाइन माध्यममार्फत आयोजना गरिने यस कार्यक्रममा अधिकारी परिवारका सदस्य, आफन्त, इष्टमित्र, मानवअधिकारकर्मी, पत्रकार र नागरिक समाजका सदस्यहरूको उपस्थिति रहनेछ। कार्यक्रममा उनको समाजसेवा, मानवअधिकार अभियानमा उनले गरेको निस्वार्थ र उदार योगदानको सम्झनामा स्वर्गीय अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरिने छ। साथै “न्यायको पर्खाइका २० वर्षराज्य जवाफदेही बन्ने कहिले? विषयक अन्तर्क्रियासमेत आयोजना गरिनेछ।  

सम्पर्कका लागि:

  • सुमन अधिकारी, श्री मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठान suman.adhikari76@gmail.com, +977 9841454624,
  • निराजन थपलिया, एम्नेस्टी इन्टरनेसनल नेपाल, निर्देशक, nirajan@amnestynepal.org, +9779851014452

विज्ञप्ति डाउनलोड गर्नका लागि

Download

  • PR-ENG-20th.Anniversary.Muktinath.Adhikari.16.01.2022-1
  • PR-NEP-20th.Anniversary.Muktinath.Adhikari.16.01.2022
Download