एम्नेस्टी इन्टरनेसनल नेपालको अट्ठाइसौँ साधारण सभा धरानमा सम्पन्न

प्रेस विज्ञप्ती

एम्नेस्टी इन्टरनेसनल नेपालको अट्ठाइसौँ साधारण सभा धरानमा सम्पन्न

धरान, २४ कात्तिक

एम्नेस्टी इन्टरनेसनल नेपाल (एम्नेस्टी नेपाल) ले आफ्नो अट्ठाइसौँ वार्षिक साधारण सभा सुनसरी जिल्लाको धरान उपमहानगरपालिकामा सम्पन्न गरेको छ । कात्तिक २२ गते शुरु भएको उक्त साधरण सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष माननीय अनुप राज शर्मा हुनुहुन्थ्यो ।

उक्त कार्यक्रममा सुनसरी जिल्ला अदालतका न्यायाधीश मणिराम न्यौपाने, द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागीराम चौधरी, द्वन्द्वपीडित राष्ट्रिय सञ्जालका केन्द्रीय सदस्य देवी सुनुवार, संवैधानिक कानुन व्यवसायी मञ्चका अध्यक्ष राजुप्रसाद चापागाईं, एम्नेस्टी इन्टरनसनलको इन्टरनेसनल बोर्डकी सदस्य अन्जुला म्या सिं बयस लगायत एम्नेस्टी नेपालका पूर्व अध्यक्षहरू, कर्मचारी र एम्नेस्टी नेपालका ३८ जिल्लाका समूह प्रतिनिधिहरू, पर्यवेक्षक र स्वयंसेवक लगायतको उपस्थिति रहेको थियो ।

साधारण सभाको उद्घाटन र्कायक्रममा बोल्दै द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागिराम चौधरीले द्वन्द्वपीडितहरूको सत्य, न्याय र परिपूरणको सङ्घर्षमा एम्नेस्टीका सदस्यहरूलाई अझ बढी सक्रियताका साथ सरकारसँग जवाफदेहीता माग गर्न तथा दण्डहीनताको अवस्था अन्त्य गर्नका लागि पहल गर्न अनुरोध गर्नु भएको थियो । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुराप राज शर्माले नेपालमा दण्डहीनताको समस्या विकराल भएको र सङ्कक्रमणकालीन न्याय निरूपणमा सकारको ढिलाइले पीडितमा झन पीडा थपिएको कुरा राख्नुहुँदै एम्नेस्टी सदस्यहरूलाई साधारण सभाको शुभकामना व्यक्त गर्नुभएको थियो । अध्यक्ष शर्माले सरकारको नियन्त्रणमुखी र जनअधिकारमा सङ्कोचन ल्याउने खालका कदमहरूप्रति चिन्ता व्यक्त गर्नुभयो ।

साधारण सभामा अन्तर्राष्ट्रिय बोर्डका सदस्य अन्जुला सिंहले एम्नेस्टी नेपालको साधारण सभाको सफलताको कामना गर्दै मानवअधिकारका विश्वव्यापी समस्याहरूलाई सामना गर्नका लागि विश्व ऐक्यबद्धता र भाइचाराको जरूरत पर्ने र यो कुरा एम्नेस्टी जस्तो स्वयंसेवी संस्थाहरूको सक्रियाताले मात्र संभव हुने जनाउने भयो । साधारण सभाको समापन पश्चात धरानस्थित केन्द्रीय क्याम्पस युथ नेटवर्कका एम्नेस्टी सदस्यहरूले धरानको घण्टाघर चोकमा महिला हिंसासम्बन्धी समाजमा हुने एसिड आक्रमणका घटना तथा यसलाई रोक्न नेपाल सरकारले खुलेआम एसिड बेचबिखन बिक्रिमा लागि रोक्न चाल्नु पर्ने कदमका बारेमा एक सन्देशमूलक सडक नाटक प्रस्तुत गरेको थिए ।

“नेपालको संविधानले मौलिक हकसम्बन्धी थुप्रै व्यवस्था गरेको सन्दर्भमा आम नागरिकहरूले यी हकहरूलाई पूर्ण रूपमा प्राप्ति गर्ने सवालमा सरकारले चुस्त ढङ्गमा काम गर्नपर्ने औचित्यता र हालसम्म भएका सकरात्मक पहलकदमीलाई निरन्तरता दिनुपर्ने सम्बन्धमा बन्दसत्रमा आफ्नो मानवअधिकारसम्बन्धी प्रतिवेदनमा एम्नेस्टीले आफ्नो अवधारणा स्पष्ट बनाएको छ । त्यस्तै बन्द सत्रमा एम्नेस्टीले आफ्नो वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवदेन, लेखापरीक्षण प्रतिवेदन तथा सन् २०२० को वार्षिक कार्ययोजना र बजेट अनुमोदन गरेको छ । साथै एम्नेस्टीले आफ्नो विधानमा पनि संशोधन पारित गरेको छ ” एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियाले जनाउनुभयो ।

साधारण सभाको समापन कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर मन्जु भण्डारी (सुवेदी) प्रमुख अतिथिका रूपमा रहेको हुनुहुन्थ्यो र उहाँले धरान नगरीमा एम्नेस्टीले आफ्नो साधरण सभा आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै एम्नेस्टी नेपालको भावी कार्यदिशा र मानवअधिकारका सम्बन्धमा अझ प्रभावकारी कदमहरूको अपेक्षा व्यक्त गर्नुभयो ।

एम्नेस्टीको साधारणसभाले जलवायु परिवर्तन र आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसम्बन्धी सङ्कल्प प्रस्तावहरू उपर छलफल गरी पारित गरेको थियो ।