Photo: Zahoor Wani

गाजामा तत्काल युद्धविरामको आह्वान गर्दै एम्नेस्टी नेपालद्वारा प्रदर्शनको तयारी

प्रेस विज्ञप्ति

२०८० मंसिर २९

विश्व नेतृत्वउपर अन्तर्राष्ट्रिय दबाब कायम राख्न र इजरायल र अधीनस्थ प्यालेस्टाइन क्षेत्रमा दिगो युद्धविरामको आह्वानलाई अझ सशक्त बनाउने उद्देश्यका साथ यही पौष २ गते (१८ डिसेम्बर २०२३) विभिन्न नागरिक सङ्घसंस्थाले विश्वभरी संयुक्त रूपमा ग्लोबल डे अफ याक्सन  (Global Day of Action)  आयोजना गर्दैछन्। सो क्रममा उक्त दिन विश्वभर व्यापक जनप्रदर्शन, र्याली, कोण सभा र धर्ना कार्यक्रमहरू आयोजना हुँदैछ।

नेपालमा पनि यस अभियानमा ऐक्यबद्धता प्रकट गर्ने उद्देश्यका साथ एम्नेस्टी इन्टरनेसनल नेपालले सोही दिन अर्थात पौष २ गते रत्नपार्क, शान्ति बाटिकादेखि नक्शाल, नारायणचौरसम्म र्याली गरी एक कोणसभा गर्ने कार्यक्रमको तयारी गरिरहेको छ।

अक्टोबर ७ देखि चर्किएको इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वमा करिब १८,७०० भन्दा धेरै गैरसैनिक सर्वसाधारणहरूको मृत्यु भइसकेको छ। गाजामा १९ लाख मानिसहरू – अर्थात करिब ८० प्रतिशत जनसंख्या – बलपूर्वक विस्थापित हुन पुगेका छन् भने इजरायलको गैरकानुनी तथा अमानवीय नाकाबन्दीले ल्याएको खाद्य अभाव, पिउने पानीको अभाव र उर्जा सङ्कट लगायतका विनाशकारी मानवीय सङ्कटका कारण अहिले नागरिकहरूको जीवन कष्टकर मात्र नभई बाँच्नको लागि उनीहरूले चरम सङ्घर्ष गरिरहेका छन्।

“विगत साढे दुई महिनादेखि गाजामा जारी हिंसा त्रासदीपूर्ण छ र बढ्दो द्वन्द्वबाट उत्पन्न भएको मानवीय संकट अत्यन्तै दुखद् र पीडादायी रहेको छ। यस त्रासदीको अन्त्य गर्न र थप मृत्यु र विनाश रोक्न गाजामा तत्काल र पूर्ण युद्धविरामको आवश्यकता छ,” एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भने।

“थप मृत्यु र मानवीय पीडालाई रोक्नको लागि तत्काल कदम चाल्नु पर्छ र विश्वका नेताहरूले गाजामा तत्काल, दिगो र बिना शर्त युद्धविरामको लागि हाम्रो आह्वानलाई सुन्नु पर्छ,” उनले थपे।

चर्किँदो द्वन्द्वबाट प्रभावित हजारौंलाई सहायता पुर्‍याउन छ दिन (२४ देखि २९ नोभेम्बरसम्म) का लागि लागु गरिएको छोटो युद्ध विराम (humanitarian truce) कुनै हालतमा पर्याप्त थिएन। पुनः सुरू भएको युद्धले त झन गाजामा रक्तपात तथा पीडालाई अतुलनीय तहमा पुर्याएको छ।

दिगो युद्धविरामद्वारा मात्रै थप गैरसैनिक नागरिकको जीवनको क्षतिलाई रोक्न सकिन्छ र आवश्यकतामा रहेकाहरूलाई पर्याप्त सहायता पुराउन सकिन्छ। दिगो युद्ध विराम उत्तिकै हुनेवाला देखिन्न र यसका लागि विश्वव्यापी र सशक्त आवाजको अपरिहार्यता बढेको छ।

“तत्काल मानवीय युद्धविराम लागू गर्न र जारी द्वन्द्व अन्त्यको लागि सामूहिक र एकताबद्ध रूपमा विश्वका नेताहरूसामु हाम्रो सामूहिक र एकताबद्ध आवाज उठाउने प्रयासमा साथ दिनुहुन सबैलाई हामी हार्दिक अपील गर्दछौं। प्यालेस्टिनी नागरिकहरूले यस द्वन्द्वको मूल्य चुकाउनु हुँदैन। र मानवता नै हावि हुनुपर्छ,” थपलियाले भने।

थप विवरण:

र्यालीका लागि भेला हुने मिति: २०८० पौष २ गते, सोमबार दिउँसो २ बजे

र्याली सुरू हुने समय: दिउँसो २:१५ बजे

र्याली रूट: रत्नपार्क, शान्तिबाटिका – घण्टाघर – राजदरबार – नागपोखरी हुँदै नक्शाल नारायण चौर

कोण सभा हुने स्थान: नक्शाल नारायण चौर

Topics