एम्नेस्टी इन्टरनेसनल नेपालको १५ औं युथ मेला लमजुङमा हुँदै

एम्नेस्टी इन्टरनेसनल नेपालले मिति २०८० साल वैशाख ६ देखि ८ गतेसम्म लमजुङको बेसीशहरमा आफ्नो १५ औँ राष्ट्रिय युथ मेला आयोजना गर्दैछ। हरेक वर्ष युवा सदस्यहरूलाई लक्षित गरी आयोजना गरिने एम्नेस्टी इन्टरनेसनल नेपालको युथ मेलाले वर्तमान समयका सान्दर्भिक मानवअधिकारका बारेमा युवा अभियन्ताहरूलाई सूसुचित गर्ने र अभियानात्मक गतिविधिमा जोडिन उनीहरूलाई प्रेरित गर्ने गर्दछ। “युवाहरूको आवाज र सहभागितालाई प्रवर्धन गर्ने उद्देश्यका साथ आयोजना गरिन लागिएको यस वर्षको युथ मेलाको नारा “पुलहरू निर्माण गर्दै, बाधाहरू पन्छाउँदै”: मानवअधिकार अभियानमा युवाहरू (“Building bridges, breaking barriers”: Youths in Action)’ रहेको छ।

युवा सदस्यहरूलाई मानवअधिकारका विभिन्न विषयमा जानकारी गराउने उद्देश्यले एम्नेस्टी इन्टरनेसनल नेपालले सन् २००६ देखि युथ मेलाको आयोजना गर्दै आएको छ। विगत १५ वर्षदेखि हालसम्म १५०० भन्दा बढी युवा अभियन्ताहरूलाई यस्तो प्रशिक्षण प्रदान गरिसकिएको छ। प्रत्येक वर्ष तीन दिन सम्म आयोजना हुने मेलामा देशका विभिन्न भागमा रहेका ५० भन्दा बढी युथ नेटवर्कमा आबद्ध तथा समर्थक सदस्यहरू समेत गरी १०० भन्दा बढी युवाहरूको सहभागिता रहने छ।

युथ मेलाको यस संस्करणले सहभागीहरूलाई मानवअधिकारका समसमायिक विषयहरू जस्तै सङ्क्रमणकालीन न्याय, LGBTQI समुदायको अधिकार, जलवायु परिवर्तनले मानवअधिकारमा पारेको प्रभाव, लैङ्गिक न्याय, न्यायमा पहुँच लगायतका मुद्दाहरूलाई सामना गर्न युवाहरूको भूमिकाका बारेमा सुसूचित छलफल र अन्तर्क्रियाहरू गर्दै उनीहरूको क्षमता निर्माण गर्ने अपेक्षा राखेको छ। यसका अलावा यसले सदस्यहरूलाई एम्नेस्टी इन्टरनेसनलले कसरी आफ्नो मानवअधिकारसम्बन्धी गतिविधिहरू सञ्चालन गर्ने गर्छ र कसरी यसका युवा सदस्यहरूले मानवअधिकारको प्रवर्धन र संरक्षणका लागि योगदान पुर्याउन सक्छन् भन्ने बारेमा प्रशिक्षित गर्नेछ।

पृष्ठभूमि

एम्नेस्टी इन्टरनेसनल नेपाल एक करोड भन्दा बढी सदस्य र समर्थकहरूको विश्वव्यापी मानवअधिकार आन्दोलनको एक हिस्सा हो र नेपालमा यो अभियना सन् १९६९ देखि सक्रिय छ। एम्नेस्टी इन्टरनेसनल नेपालमा अहिले विभिन्न समूह र नेटवर्कहरूमार्फत करिब सात हजार सदस्यहरू आबद्ध रहेका छन्। एम्नेस्टी नेपालले आप्रवासी श्रमिकको अधिकार, महिला, दलित र अन्य सीमान्तकृत समुदायको अधिकार, सत्य, न्याय र परिपूरणको अधिकार लगायतका मानवअधिकार सवालहरूमा गतिविधिहरू सञ्चालन गर्दै मानवअधिकारको संरक्षण र प्रवर्द्धन गर्ने तथा जोखिममा रहेका व्यक्तिहरूको संरक्षणका लागि अभियानहरू सञ्चालन गर्ने गर्दै आइरहेको छ।

Topics