बेलायती सरकारलाई तत्काल कोभिड-१९ खोप उपलब्ध गराउन एम्नेस्टीद्वारा गरिएको आह्वानमा अभिनेता माइकल पेलिनको साथ

लंडन, १२ श्रावण २०७८

नेपाल र अन्य धेरै देशहरू विनाशकारी स्वास्थ्य सङ्कटसँग जुधिरहेका बेला जुनसुकै ठाउँका भएपनि सबैभन्दा जोखिममा रहेकाहरूले जीवन बचाउने खोप पाएको कुरा सुनिश्चित गर्नका लागि एम्नेस्टी इन्टरनेसनल र अभिनेता माइकल पेलिनले बेलायती सरकारलाई कोभिड-१९ खोपहरू तत्काल पुन: वितरण गर्न आह्वान गरेका छन्।

नेपालमा १४ लाख भन्दा बढी जोखिममा रहेका व्यक्तिहरूले मार्चमामा अक्सफोर्ड-एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका थिए र उनीहरूले जुन महिनाको अन्त्यतिर दोस्रो डोज लगाउनु पर्ने थियो। तर  खोपको विश्वव्यापी अभावले गर्दा नेपालमा खोपको अपेक्षित आपूर्ति हुन सकेन र उक्त खोपको दोश्रो मात्रा लगाउने समय सीमा जुलाईसम्मका लागि लम्ब्याइयो। अन्तर्राष्ट्रिय समुदायसँग गरिएको आह्वान पश्चात जापानले यस अभावलाई पूर्ति गर्ने प्रतिबद्धता जनाएको छ। तर विश्वले पर्याप्त सहयोग नगरेसम्म कोभिड–१९ खोपको पहुँचमा भएको अभावले नेपाल र अन्य धेरै देशहरूलाई कोभिड–१९ विरुद्धको लडाईंमा पछाडि पार्ने छ।

एम्नेस्टी इन्टरनेसनलको अति महत्त्वपूर्ण आह्वानमा साथ दिएका माइकल पेलिनले भन्नुभयो:

“मैले नेपाल भ्रमण गरेको छु र त्यहाँका धेरै मानिसहरूलाई भेटेको छु। नेपालमा दश लाखभन्दा बढीको ज्यान जोखिममा रहेको कुरा थाहा पाउँदा म विक्षिप्त भएको छु। सबैभन्दा जोखिममा रहेकाहरूले अझै पनि कोभिड-१९ विरुद्धको खोपमा पहुँच पाउन नसकिरहेको नेपाल र अन्य देशहरूमा आफ्नो खोप तुरुन्तै आपूर्ति गर्न म बेलायती सरकारलाई आह्वान गर्दछु।”

सबैभन्दा जोखिममा रहेकाहरूले अझै पनि कोभिड-१९ विरुद्धको खोपमा पहुँच पाउन नसकिरहेको नेपाल र अन्य देशहरूमा आफ्नो खोप तुरुन्तै आपूर्ति गर्न म बेलायती सरकारलाई आह्वान गर्दछु।

माइकल पेलिन

पेरूदेखि ट्युनिसिया वा इन्डोनेसियादेखि पपुवा न्यु गिनीसम्ममा कोभिड-१९ ले लाखौंको ज्यान ध्वस्त पारेको छ र अझै विध्वंस मच्चाइरहेको छ। विश्वभरी अहिले ४० लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ, स्वास्थ्य सेवा प्रणालीहरूले चाप थेग्न सकिरहेका छैनन् र विशेषगरी खोपको चरम अभाव भएको संसारको धेरै स्थानमा आशाको दीप अझै देख्न सकिएको छैन।  

अहिलेकै गतिमा सबै देशहरूलाई पूर्ण खोप लगाउन ५७ वर्ष लाग्नेछ भनेर आङ्कलनहरूले देखाएका छन् र पछिल्लो तथ्याङ्कले देखाएअनुसार धनी राष्ट्रहरूमा ८५% खोपको मात्रा लगाइसकिएको छ जबकी न्यून आय भएका देशहरूमा भने ०.३% मात्र खोपको मात्रा लगाइएको छ। आफ्नो पूरै जनसंख्यालाई तीन पटकभन्दा बढी खोप लगाउन पर्याप्त हुने खोपको मात्रा उत्पादनका लागि माग गरेको बेलायत जस्ता देशहरूले अहिले देखिएको विश्वव्यापी खोप असमानतालाई समाधान गर्न आफ्नो भूमिका खेल्नुपर्छ।

एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामारले भन्नुभयो:

“लगभग ६ महिनामा बेलायतले आफ्नो जनसंख्याको ५०% भन्दा बढीलाई पूर्ण रूपले खोप लगाइसकेको छ। जबकी नेपालले आफ्नो जनसंख्याको ३.९७% मात्रलाई पूर्ण रूपमा खोप लगाउन सकेको छ र सङ्क्रमणको अर्को घातक लहरका बीच निर्धारित समयअनुसार प्राप्त गर्नुपर्ने कोभिड-१९ विरुद्धको खोपसमेत प्राप्त गरेको छैन। यी तथ्याङ्कहरूले अक्ष्यम्य असमानताको स्पष्ट चित्रण गर्दछन्। आफ्नो छिमेकीको घर जलिरहँदा धनी राष्ट्रहरूले केबल आँखा चिम्लिएर बस्न मिल्दैन। हामी भावमा कुरा गरिरहेका छैनौँ – हामी मानिसको जीवनको अधिकारको बारेमा कुरा गरिरहेका छौँ।”

आफ्नो छिमेकीको घर जलिरहँदा धनी राष्ट्रहरूले केबल आँखा चिम्लिए बस्न मिल्दैन।

आग्नेस कालामार, एम्नेस्टी इन्टरनेसनलकी महासचिव

जापानले आगामी केही हप्ताहरूमा १६ लाख डोज खोप नेपालमा पठाउने प्रतिबद्धता जनाएको छ जुन् स्वागतयोग्य कदम हो। तर दुःखको कुरा के भने यो केबल घाउमा मलम मात्र हो र यो विश्वव्यापी समाधान होइन। नेताहरूले चाँडो भन्दा चाँडो के महसुस गर्नु पर्दछ भने भाइरसले सीमाको मतलब राख्दैन। खपत हुन नसकेर कुनै पनि समयमा खोपको मिति गुज्रिने अवस्था भएको अन्तर्राष्ट्रिय समुदाय विशेषगरी यूके, युरोपियन युनियन, क्यानाडा र संयुक्त राज्य अमेरिका जस्ता धनी देशहरूबाट साहसिक कार्यहरू हुनु आवश्यक छ। उनीहरूले सही कुरा गर्नुपर्दछ र यी खोपहरूको विश्वव्यापी रूपमा न्यायोचित पुनः वितरणका लागि तुरून्तै एउटा विस्तृत कार्य योजना ल्याउनु पर्छ। अगाडि बढ्ने क्रममा बेलायत र अन्य देशहरूले पनि खोप उत्पादनको अधिकारलाई तुरुन्तै हटाउनुपर्छ जसले विश्वव्यापी माग पूरा गर्न उत्पादनमा गुणात्मक वृद्धि सुनिश्चित गर्ने छ। 

खोपको चरम अभाव भोगिरहेका धेरै देशहरूमध्ये नेपाल केबल एउटा मात्र देश हो। औषधी कम्पनीहरूलाई खोपसम्बन्धी ज्ञान र प्रविधि बाँडफाँड गर्न लगाउने तथा बौद्धिक सम्पत्तिसम्बन्धी अधिकारले बढ्दो विश्वव्यापी उत्पादनलाई अवरोध नपुर्याएको सुनिश्चित गर्ने लगायतका खोप असमानतालाई सम्बोधन गर्नका लागि महत्त्वपूर्ण कदम चालेर मात्रै खोप आपूर्तिको सङ्कटलाई दीर्घकालीन हिसाबमा समाधान गर्न सकिन्छ।

प्रयोगमा नआएका खोपहरू तत्काल बाँड्न र विश्वव्यापी खोप असमानतालाई गम्भीरतापूर्वक संबोधन गर्न अन्य ठोस उपायहरू चाल्न एम्नेस्टी इन्टरनेसनल अन्तर्राष्ट्रिय समुदाय विशेषगरी बेलायतजस्ता धनी देशहरूलाई आह्वान गरिरहेको छ। 

Topics