सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र भ्रष्टाचारविरूद्ध युवाहरूको नेतृवत्वमा भएको विरोधमा काठमाडौं र नेपालका अन्य शहरहरूमा प्रदर्शन गरिरहेका जेनजी प्रदर्शनकारीमाथि सुरक्षाकर्मीहरूद्वारा गरिएको दमनमा परी कम्तिमा १९ जनाको मृत्यु भएको र सयौँ घाइते हुन पुगेका समाचारहरूमाथि प्रतिकृया जनाउँदै एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपिलयाले भने:
“सुरक्षा बलद्वारा प्रयोग भएको गैरकानुनी घातक र कम घातक बलका कारण कैयौँ प्रदर्शनकारीहरूको मृत्यु र गम्भीर घाइते भएको घटनालाई एम्नेस्टी इन्टरनेसनल कडा भत्सर्ना गर्दछ। हामी अधिकारीहरूलाई अधिकतम संयमता अपनाउन र वैधानिक लक्ष प्राप्तिका लागि बिल्कुल आवश्यक पर्ने मात्रै तथा समानुपातिक बल प्रयोग गर्नका लागि आह्वान गर्दछौँ। यसका साथै उनीहरूले बलको प्रयोग गर्नुपर्ने आवश्यकता नआओस् भन्नाका लागि र बलको प्रयोग गर्नुपर्ने अवस्थामा हानिको तहलाई सक्दो न्यूनिकरण गर्नका लागि संभव भएसम्मका सबै सावधानीका उपायहरू अपनाउनुपर्छ। नेपाल सरकारले मृत्युका सबै घटनाहरूमा पूर्ण, स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी जिम्मेवार सबैलाई फौजदारी अभियोजन समेतका आधारमा पूर्ण जवाफदेही बनाउनुपर्दछ। प्रहरीद्वारा भएको गैरकानुनी बल प्रयोगबाट पीडित भएकाहरूले राज्यबाट पूर्ण र प्रभावकारी परिपूरण प्राप्त गर्नुपर्दछ।
सुरक्षा बलद्वारा प्रयोग भएको गैरकानुनी घातक र कम घातक बलका कारण कैयौँ प्रदर्शनकारीहरूको मृत्यु र गम्भीर घाइते भएको घटनालाई एम्नेस्टी इन्टरनेसनल कडा भत्सर्ना गर्दछ। हामी अधिकारीहरूलाई अधिकतम संयमता अपनाउन र वैधानिक लक्ष प्राप्तिका लागि बिल्कुल आवश्यक पर्ने मात्रै तथा समानुपातिक बल प्रयोग गर्नका लागि आह्वान गर्दछौँ।
एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपिलया
“भ्रष्टाचार र नेपालमा सामाजिक सञ्जालका साथै अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारद्वारा लगाइएको प्रतिबन्धलाई शान्तिपूर्ण तवरमा विरोध गर्ने र आफ्नो निराशा र आक्रोश अभिव्यक्त गर्ने अधिकार विरोधकर्ताहरूमा रहेको हुन्छ। “नेपालका अधिकारीहरूले अन्तर्राष्ट्रिय कानुन तथा आफ्नै संविधानमा वाचा गरिएको प्रतिबद्धताहरूअनुसार मानिसको शान्तिपूर्ण भेला हुने स्वतन्त्रता तथा अनलाइन र अफलाइन दुवै स्थलमा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको पूर्ण सम्मान गर्नुपर्छ र सबै विरोधर्ताहरूमाथि थप हानि हुनबाट रोक्नु पर्दछ। अन्धाधुन्ध र लापर्वाहपूर्वक युवाहरूप्रति यस्तो हिंसा लाद्नुको साटो भ्रष्टाचारलाई अन्त्य गर्न, जवाफदेहिता वहन गर्न र नागरिक स्वतन्त्रता सुनिश्चित गर्नका लागि उनीहरूले राखेका जायज मागहरूलाई सरकारले गम्भीरताका साथ सुन्नुपर्दछ।”
पृष्ठभूमि :
नेपाल सरकारले भाद्र १९ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० अन्तर्गत निर्धारित दर्ता प्रक्रिया पालना नगरेका प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रतिबन्ध लगाएको थियो।
भाद्र २३ मा प्रायः जेनजी का युवा प्रदर्शनकारीहरू भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल प्लेटफर्ममा सरकारी प्रतिबन्ध हटाउने माग राख्दै सडकमा निस्किएका थिए। केही प्रदर्शनकारीहरूले प्रतिबन्धित क्षेत्र तोडि संसद भवन परिसरमा प्रवेश गरेपछि स्थिति तनावपूर्ण बन्न पुगेको थियो। जवाफमा प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र गोली बर्सायो जसका कारण मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन्। १९ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन्।
तत्काल मृत्यु वा गम्भीर हताहतिको खतरा नपार्ने शान्तिपूर्ण प्रदर्शनकारीमाथि घातक बलको प्रयोग अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन हो। मानवअधिकारको विश्वव्यापी घोषणापत्रको धारा ३ ले जीवन, स्वतन्त्रता र व्यक्तिगत सुरक्षाको अधिकारलाई सुनिश्चित गरेको छ भने, अन्तर्राष्ट्रिय नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अनुबन्धको धारा ६ ले जीवनको अधिकारलाई सुनिश्चित गरेको छ। बल र हतियार प्रयोगसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आधारभूत सिद्धान्तहरूले स्पष्ट रूपमा तत्काल मृत्यु वा गम्भीर हताहतिको खतरा रहेको अवस्थामा मात्र कानुन कार्यान्वयन गर्ने अधिकारीहरूद्वारा घातक हतियारलाई प्रयोग गर्न सकिने भनी सप्षट व्यवस्था गरेको छ।

