श्री जियानी इन्फ्यान्टिनो,
अध्यक्ष, फिफा
फिफा स्ट्रिट २०
पि. ओ. बक्स ८०४४
जुरिक, स्वीजरल्याण्ड
२९ मंसिर २०७९
आदरणीय अध्यक्ष जियानी इन्फ्यान्टिनोज्यू,
विगत धेरै वर्षदेखि नेपाली श्रमिकहरूले कतार र अन्य खाडी मुलुकहरूमा भोगिरहेका शोषणलाई दस्तावेजीकरण र उजागर गर्ने कार्यमा संलग्न नेपाली संस्थाहरूको हैसियतले सामूहिक रूपमा हामी तपाईंलाई यो पत्र प्रेषित गर्दैछौँ।
फिफाले कतारलाई सन् २०१० मा विश्वकप २०२२ को आयोजक चयन गरेदेखि लाखौँ नेपाली नागरिकहरू नेपालमा प्राप्त गर्न नसकेको राम्रो रोजगारीको अवसरहरूको खोजीमा कतार गएको विषय तपाईंलाई अवगत नै छ। उनीहरूले त्यहाँ रंगशाला, सडक, मेट्रो लाइन र होटलहरूको निर्माण गरेका छन् जसले गर्दा विश्वकप २०२२ को आयोजना सम्भव भएको छ। यसले केही व्यक्तिहरूलाई उनीहरूको घरपरिवार धान्नको लागि सहयोग पनि पुर्याएको छ। अन्य धेरै व्यक्तिहरूका लागी भने यसले ऋण, गरिबी र दुर्व्यवहार निम्त्याएको छ।
फिफाले कतारलाई विश्वकपको आयोजकका रूपमा चयन गरेदेखि मात्रै हाम्रो चिन्ता सुरू भएको होइन र यो प्रतियोगिताको समाप्ति पश्चात पनि हाम्रो चिन्ता यथावत रहिरहने छ। भुक्तानी नगरिएको पारिश्रमिक र टुटेका सपनाहरूसम्बन्धी कथाहरू हाम्रो दैनिक जीवनको अंश बनेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने लाशका बाकसका तस्बीरहरूसँग हामी राम्रैसँग परिचित छौँ।
कतारले गरेका सुधारका वाचाहरूलाई हामीले स्वागत गरेका छौं। तर हामीलाई के थाह छ भने श्रमिकहरू अझै पनि ज्यादतीपूर्ण भर्ना शुल्क तिर्न बाध्य छन् र अझै पनि उनीहरूले उचित पारिश्रमिक पाउने, सुरक्षित वातावरणमा काम गर्ने र उनीहरूप्रति मर्यादित व्यवहार गरिने कुराको प्रत्याभूति प्राप्त गरेका छैनन्। श्रमिकहरूले अवैध भर्ना शुल्क अझै बुझाइरहेका छन्, उनीहरूलाई बिदा दिन इन्कार गरिएको छ र मृत शरिरहरू कुनै स्पष्ट कारण बिना नेपाल फिर्ता आइरहेकै छन्।
हो, यो विश्वकपले केही परिवर्तन भने अवश्य पनि ल्याएको छ। तर तपाईंको विश्वकप सम्भव तुल्याउन धेरै कुरा गुमाएका हाम्रा लाखौँ नेपाली साथीहरूका लागी यो “अत्यन्तै ढिला, अत्यन्तै थोरै” सावित हुनेछ। तपाईंले उनीहरूको दुरावस्थालाई अझै पनि बेवास्ता गरिरहनु र उनीहरूको क्षतिपूर्तिको अधिकारलाई इन्कार गर्नु अक्षम्य हुनेछ। विगतको दशकमा भोगिएको पीडालाई अंक र तथ्यांकमा सीमित गर्न सकिन्न। श्रमिकहरूले आफ्नो जीवनभरको बचत गुमाएका छन्, बालबालिकाहरूले आफ्नो शिक्षा गुमाएका छन्, परिवारहरूले आफ्ना छोरा, बाबु, दाजु, भाइ र श्रीमानहरू गुमाएका छन्। उनीहरूका क्षतिहरू वास्तविक हुन् र तिनलाई बेवास्ता गर्न सकिन्न।
आफ्नो पारिश्रमिक भुक्तानी नपाएको पुष्टि गर्न सक्ने श्रमिकहरूलाई क्षतिपूर्ती प्रदान गर्नका निम्ति कतारले हालसालै एक कोष स्थापना गरेको विषय हामीलाई अवगत छ। तर एक पटक श्रमिकहरूले कतार छाडेपछि उक्त कोषमा पहुँच प्राप्त गर्न प्राय असम्भव छ भन्ने हाम्रो आफ्नै अनुभव छ। कतारमै रहेका श्रमिकहरूको हकमा पनि यदि उनीहरूले उजुरी गरेमा रोजगारदाताबाट सामना गर्नुपर्ने नकारात्मक नतिजाका कारण यो कोषबाट लाभ प्राप्त गर्ने सकेका छैनन्। हामीलाई यो पनि थाहा छ की उक्त कोषले कार्यस्थलसँग सम्बन्धित मृत्यु भनी मान्यता प्रदातन नगरिएका मृतकका परिवारजनलाई क्षतिपूर्ति प्रदान गर्दैन। यो परिवर्तन नभएसम्म कतारलाई विश्वकप आयोजना गर्न योगदान पुर्याउने हजारौँ व्यक्तिहरूलाई उनीहरूको आफ्नो हक लाग्ने कुरा अस्वीकार गर्ने कार्यले निरन्तरता पाइरहने छ।
तसर्थ, हाम्रो देशका र अन्य देशका नागरिकहरूको अधिकारलाई इन्कार गरिराखिएको समयमा यस विषयलाई नजरअन्दाज गर्ने कार्य बन्द गर्न हामी तपाईं अध्यक्ष ईन्फान्टीनोज्यूलाई आह्वान गर्दछौँ। बरु “श्रमिकहरूप्रति ध्यान दिन” र फिफा लगायत अन्यले जितुन् भन्ने हेतुले धेरै कुरा गुमाएका श्रमिक तथा तिनका परिवारहरूलाई क्षतिपूर्ति प्रदान गर्नका लागि क्षतिपूर्तिसम्बन्धी एक कार्यक्रम तय गर्न आफूसँग भएको सम्पूर्ण आर्थिक र राजनीतिक श्रोत साधनहरू उपयोग गर्न हामी यहाँलाई आह्वान गर्दछौँ।
भवदीय,
नेपालका नागरिक समाज समूहको प्रतिनिधित्व गर्दै,
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय संजाल
एकाउन्टेबिलिटि ल्याब, नेपाल
जवाफदेहिता निगरानी समिति, नेपाल
एम्नेस्टी इन्टरनेसनल, नेपाल
इन्हुरेड इन्टरनेशनल
न्याय तथा अधिकार संस्था–नेपाल
इक्विडेम नेपाल