काठमाडौं, २०८२ पौष १६ गते
चुनावी उद्देश्यका लागि एउटा राजनीतिक दलले मलाई “सिफारिस” वा “मनोनीत” गरेको जनाई विगत केही दिनहरूदेखि विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित भएका समाचारहरूप्रति मेरो ध्यान पुगेको छ। एम्नेस्टी इन्टरनेसनल नेपालको स्वतन्त्रता, तटस्थता र अखण्डतालाई कायम राख्न र एम्नेस्टी नेपालको विधान र अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सिद्धान्तहरू भित्र रहेर अध्यक्षको रूपमा मेरो जिम्मेवारी पूरा गर्न म पूर्ण रूपमा प्रतिबद्ध छु। एम्नेस्टी इन्टरनेसनल नेपालको विश्वसनीयता यसको स्वतन्त्रता, निष्पक्षता र गैर-राजनीतिक चरित्रमा आधारित छ। विधानअनुसार अध्यक्षको रूपमा मैले यी सबै सिद्धान्तहरूलाई व्यवहारगत हिसाबमा सम्मान, प्रतिरक्षा र पालना गर्ने शपथ लिएको छु।
यस सन्दर्भमा म स्पष्ट र कुनै पनि द्विविधारहित ढङ्गमा निम्न बुँदाहरू अभिलेखमा राख्न चाहन्छु:
१. उम्मेदवारका रूपमा सिफारिसका सवालमा कुनै संलग्नता वा पूर्व जानकारी नरहेको
राजनीतिक प्रक्रियामा मेरो नाम सार्वजनिक रूपमा जोडिँदा प्रश्नहरू उठ्न सक्छन् भन्ने कुरालाई म स्वीकार गर्दछु। यस सन्दर्भमा विधानअनुसार एम्नेस्टी नेपालको नेसनल बोर्डले सुरू वा निर्देशित गर्न सक्ने कुनै पनि आन्तरिक स्पष्टीकरण वा समीक्षा प्रक्रियामा सहयोग गर्नका लागि मेरो पूर्ण तत्परता रहेको स्पष्ट पार्दछु। तर मैले त्यस्तो कुनै पनि दलगत उम्मेदवारीको सिफारिस नखोजेको, त्यसका लागि अधिकार वा सहमति नदिएको र मेरो नाम मेरो जानकारी बिना समावेश गरिएको स्पष्ट पार्न चाहन्छु। यो कुरा थाहा पाएपछि मैले सिफारिस सूचीबाट मेरो नाम फिर्ता लिनका लागि सम्बन्धित राजनीतिक दललाई संपर्क गरी जानकारी गराइसकेको छु।
२. कुनै पनि राजनीतिक मनोनयनको स्पष्ट इन्कारी
एम्नेस्टी इन्टरनेसनल नेपालको जिम्मेवारीमा रहँदै गर्दा यस संस्थाको गैर-राजनीतिक कार्यादेश अनुरूप कुनै पनि राजनीतिक मनोनयन वा निर्वाचन प्रक्रियालाई पछ्याउने, स्वीकार गर्ने वा त्यसमा संलग्न हुने मेरो कुनै मनसाय नरहेको म स्पष्ट रूपमा उल्लेख गर्दछु। एम्नेस्टी इन्टरनेसनल नेपालको गैर-राजनीतिक कार्यादेशसँग बाझिने गरी यदि मेरो परिस्थितिमा कुनै परिवर्तन आयो भने म संस्थाको विधान, संस्था सुसञ्चालनका आवश्यकताहरू र एम्नेस्टी इन्टरनेसनलको विश्वव्यापी आन्दोलनलाई आकार दिने र निर्देशित गर्ने मूल मापदण्डहरू (core standards) अनुसार कुनै ढिलाइ नगरी मेरो पदबाट राजीनामा दिनेछु।
३. एम्नेस्टीको गैर-राजनीतिक चरित्र र संस्थागत संरक्षणप्रति पुनर्पुष्टिकरण
विधानमा स्पष्ट रूपमा उल्लेख गरिएअनुसार एम्नेस्टी इन्टरनेसनल नेपाल एक गैर-नाफामूलक, गैर-सरकारी र गैर-राजनीतिक संस्था हो र यो एम्नेस्टी इन्टरनेसनलको विश्वव्यापी अभियानसँग मिल्दोजुल्दो छ। म यस सिद्धान्तलाई कायम राख्न र एम्नेस्टी इन्टरनेसनल नेपाल र यसले गर्ने संस्था सुसञ्चालन, मानवअधिकारका अनुसन्धान, अभियान र वकालतलगायतका कार्यहरू कुनै पनि राजनीतिक विचारधारा वा सम्बद्धताबाट निष्पक्ष र स्वतन्त्र रहेको सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध छु।
४. एम्नेस्टी नेपालको अखण्डताको संरक्षण
मेरो नाम एउटा राजनीतिक दलको उम्मेदवार सूचीमा देखा परेको म स्वीकार गर्दछु। यसअघि नै माथि उल्लेख गरिएझैं मेरो जानकारी वा सहमति बिना र मेरो तर्फबाट कुनै कार्य वा अनुमति बिना त्यहाँ मेरो नाम समावेश हुन पुगेको हो।
एम्नेस्टी इन्टरनेसनल नेपालको विधानमा सम्भावित स्वार्थको द्वन्द्वलाई सम्बोधन गर्ने र संस्थाको स्वतन्त्रता, निष्पक्षता र गैर-राजनीतिक चरित्रको रक्षा गर्ने सवालमा संस्था सुसञ्चालनका मापदण्ड र संयन्त्रहरू तय गरिएको छ। मैले विधानअन्तर्गत निषेधित कुनै पनि पद वा भूमिका धारण नगरेको र विधानका प्रावधानहरूको उल्लङ्घन हुने कुनै पनि आचरणमा संलग्न नरहेको म स्पष्ट रूपमा यसैसाथ पुष्टि गर्दछु। म एम्नेस्टी इन्टरनेसनल नेपालको सिद्धान्त र मापदण्डहरूप्रति पूर्ण रूपमा प्रतिबद्ध छु र संस्थाको निरन्तर अखण्डता, विश्वसनीयता र स्वतन्त्रता सुनिश्चित गर्न तथा यस सवालमा नेसनल बोर्डलाई मूल्याङ्कन गर्न र विधानअन्तर्गत आवश्यक पर्ने कुनै पनि स्पष्टीकरण वा सहयोग प्रदान गर्नका लागि तयार रहेको छु।
५. एम्नेस्टी नेपालको विधान र गभर्नेन्स ढाँचाको पालना
नेसनल बोर्डको अध्यक्ष पदका लागि उम्मेदवारीको आवेदन दिँदा मेरो मनोनयन फारामसँगै पेश गरिएको स्व-घोषणामा उल्लेख गरिएझैं र एम्नेस्टी इन्टरनेसनल नेपालको विधानमा उल्लिखित उम्मेदवारहरूको योग्यता र अयोग्यतासम्बन्धी प्रावधानअनुसार म औपचारिक रूपमा पुनः के घोषणा गर्दछु भने म कुनै पनि राजनीतिक दलको स्थानीय, प्रान्तीय, जिल्ला वा केन्द्रीय स्तरको समिति वा कार्यदल सदस्यको रूपमा कुनै पनि पदमा रहेको छैन, न त कुनै राजनीतिक दलको कुनै पनि भगिनी संस्थाको कार्यकारी समितिको कुनै पनि पदमा रहेको छु। त्यसैअनुसार म नेसनल बोर्ड भित्र कुनै पद धारण गर्न विधानअनुसार कुनै पनि आधारमा अयोग्य नरहेको जानकारी गराउँदछु। मेरो सार्वजनिक र संगठनात्मक संलग्नता अहिलेसम्म मानवअधिकार वकालत, नागरिक स्थल र संस्थागत सुशासनसँग मात्र सीमित रहेको र मैले सधैं एम्नेस्टी इन्टरनेसनल नेपालको गैर-राजनीतिक कार्यादेश र एम्नेस्टी नेपालले परिपालना गर्नुपर्ने एम्नेस्टी अभियानको मूल मापदण्ड (core standards) को अक्षर र भावना दुवैलाई कायम राख्ने प्रयास गरेको छु। म एम्नेस्टी इन्टरनेसनलको मूल्य, मान्यता, सिद्धान्त र स्वतन्त्रताप्रति मेरो प्रतिबद्धतालाई पुनः दोहोर्याउँदछु। निष्ठा र निष्पक्षतापूर्वक र संस्थाको विधान, नियमावली, नीति र मूल मापदण्डहरूको पूर्ण परिपालना गर्दै म एम्नेस्टी अभियानको सेवा गरिरहनेछु।
विपिन बुढाथोकी
अध्यक्ष
एम्नेस्टी इन्टरनेसनल नेपाल

