नगायनथ्रण के. धर्मालिंगम (Nagaenthran K Dharmalingam) लाई फाँसीबाट बचाउन सिंगापुर सरकारलाई आहवान गरौं

हामीले आजै मात्र प्राप्त गरेको समाचारअनुसार सिंगापुरका अधिकारीहरूले मलेसियाली नागरिक नगायनथ्रण के. धर्मालिंगम (Nagaenthran K Dharmalingam) लाई २७ अप्रिल, बुधबार (सिंगापुरको समयअनुसार बिहान) का दिन मृत्युदण्ड सजाय दिने पुन: योजना तय गरेका छन्। दुई वर्षभन्दा बढी समयको अन्तरालपछि गत ३० मार्चमा अब्दुल कहर बिन ओथमानलाई मृत्युदण्ड दिइएको थियो। यी घटना क्रमहरूले सिंगापुरले मृत्युदण्डको सजाय पुन: शुरुवात गरेको देखाउँछ। 

मलेसियाका नगायनथ्रण के. धर्मालिंगमलाई सिंगापुरमा ४२.७२ ग्राम डायमोर्फिन (हिरोइन) आयात गरेकोमा २२ नोभेम्बर २०१० मा दोषी ठहर गरी अनिवार्य मृत्युदण्डको सजाय सुनाइएको थियो। उनको यो सजायलाई जुलाई २०११ मा त्यहाँको पुनरावेदन अदालतले सदर गरेको थियो। सिंगापुरका अधिकारीहरूले नोभेम्बर 2021 मा उनको मृत्युदण्ड तय गरेका थिए। अन्तर्राष्ट्रिय दबाबको कारण, उनको अन्तिम पुनरावेदनको सुनुवाइलाई धेरै पटक सारियो। २९ मार्चमा उनले आफ्नो पुनरावेदनमा हार बेहोरे। त्यसैले उनलाई अब तुरुन्तै मृत्युदण्ड दिने सम्भावना बढेकोछ। नगायनथ्रणको स्वास्थ्य जाँच गर्ने चिकित्सा विशेषज्ञहरूले उनमा बुद्धिमत्ता र संज्ञानात्मक क्षमताहरू कमी भएका कारण गलत काम गरेको हुन सक्ने बताएका थिए। नगायनथ्रणको 29 मार्च 2022 मा अन्तिम पुनरावेदन सुनुवाइमा, अदालतले उनको मानसिक अवस्था कमजोर नरहेको र त्यसैगरी बौद्धिक क्षमता कमजोर रहेको भनी गरिएका तर्कहरूलाई अस्वीकार गर्यो। सिंगापुर पक्ष रहेको अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (CRPD)  र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध (ICCPR)का सन्धि निकायहरूले मानसिक र बौद्धिक अपाङ्गता भएका मानिसहरूमा अपाङ्गताले प्रभावकारी प्रतिरक्षामा बाधा पुर्याएको हुन्छ भन्दै मृत्युदण्डलाई निषेध गर्दछन्।

अत: उनलाई फाँसीबाट बचाउनका लागि मुनि रहेको पिटिसन हस्ताक्षर गर्न अपिल गर्दछौँ।