बन्दीका परिवारलाई सहयोग गरेको कारण निशानामा पारिएकी

Write For Rights
मर्वा अराफा | इजिप्ट

मर्वा अराफा एक ३३ वर्षीया इजिप्टेली मानवअधिकार अभियन्ता, अनुवादक र आमा हुन् जसलाई केबल उनको शान्तिपूर्ण मानवअधिकार अभियानमा सक्रियता देखाएको कारण स्वेच्छाचारी ढङ्गमा छ वर्षभन्दा बढी समयदेखि हिरासतमा राखिएको छ। मर्वा राजनीतिक कारणले बन्दी बनाइएका व्यक्तिका परिवारका साथै त्यस क्रममा बन्दी बन्न पुगेका बालबालिकालाई सहयोग गर्ने कार्यमा समर्पित थिइन्। दुःखद् कुरा के भने उनकी छोरी केबल दुई वर्षकी हुँदा उनकै आँखा अगाडिबाट मर्वालाई गिरफ्तार गरिएपछि अहिले उनी आमाबिना हुर्किरहेकी छन्। अहिले आठ वर्षकी उनकी छोरी आमासँगको विछोडको पीडासँग सङ्घर्ष गरिरहेकी छन्।

बन्दी बनाइएका व्यक्तिहरूप्रति ऐक्यबद्धता देखाएको, बालबालिकाले भोगिरहेका दुर्व्यवहारविरुद्ध आवाज उठाएको र बन्दी भेट्न जाँदा लाग्ने खर्च व्यहोर्न परिवारलाई सहयोग गरेको कारण मर्वालाई सजाय दिइँदैछ। सन् २०२० को अप्रिलमा मर्वा बस्दै आएकी साथीको घरमा इजिप्टका सुरक्षा बलले छापा मारे र उनलाई दुई हप्तासम्म जबर्जस्ती बेपत्ता पारे। पछि उनलाई आधारहीन आतङ्कवादसम्बन्धी कसुरको आरोप लगाइयो। अहिले उनले आजीवन कारावास हुन सक्ने अनुचित मुद्दाको सामना गरिरहेकी छन्। 

मर्वाको स्वास्थ्य कारागारमा गम्भीर रूपमा बिग्रिएको छ। उनलाई पर्याप्त स्वास्थ्य सेवाबाट वञ्चित गरिएको छ। मर्वाको अवस्थाले इजिप्टमा शान्तिपूर्ण रूपमा विमति राख्नेहरू, मानवअधिकार रक्षक तथा सत्तामा रहेकाहरूको आलोचना गर्ने जो कोहीलाई लक्षित गर्नका लागि भइरहेको आतंकवादसम्बन्धी कानुनको दुरूपयोगलाई उजागर गर्छ। आफ्नी छोरीप्रतिको प्रेम र न्यायप्रतिको विश्वासबाट शक्ति ग्रहण गर्दै मर्वाले अझै पनि आशा कायम राखिरहेकी छन्।

केवल आफ्नो मानवअधिकार प्रयोग गरेकै कारण मर्वा अराफालाई हिरासतमा राखिएको हुँदा उनलाई तत्काल र निःसर्त रिहा गर्न तथा उनीविरुद्धका सबै आरोपहरू खारेज गर्न आह्वान गरौँ।

Sign This Petition

25 signatures