आफ्ना जनताको संरक्षण गरेबापत दण्डित गरिएको
दारिया एग्रेभाले आफ्नो जीवन मानिस, संस्कृति र पर्यावरणको संरक्षण गरेर बिताएकी छिन्। साइबेरियामा जन्मिएकी र करिब ३,५०० को संख्या मात्र रहेको सेल्कुप आदिवासी समुदायकी सदस्य उनी आदिवासी अधिकार र जलवायु न्यायका लागि एक सम्मानित अभियन्ता बन्नुअघि शिक्षिकाका रूपमा प्रशिक्षित भएकी थिइन्। साथीहरू उनलाई मायालु, मिलनसार र असाध्यै दयालु व्यक्तिका रूपमा वर्णन गर्छन्। उनलाई पुस्तक पढ्न र खुल्ला वातावरणमा लामो पैदल हिँड्न मन पर्छ। उनी प्रायः टाइगा क्षेत्र (सदाबहार कोणधारी जङ्गल) मा हुर्कँदाका दिनहरूबारे सुनाउँछिन् जहाँ चारैतिर फैलिएका विशाल सदाबहार वनहरूले घेरिएको परिवेशमा उनले आफ्नो परिवारसँग ऐंसुल, काफल र जामुनहरू टिप्दै प्रकृतिसँग जीवनभरको एउटा गहिरो सम्बन्ध गाँसेकी थिइन्।
शान्तिपूर्ण तवरमा गरेको मानवअधिकारसम्बन्धी कामका कारण दारियाले अहिले २० वर्षसम्मको जेल सजाय भोग्नुपर्ने अवस्थालाई सामना गरिरहेकी छन्। सन् २०२५ डिसेम्बरमा रूसी अधिकारीहरूले दारियालाई हिरासतमालिई आदिवासी अधिकारसम्बन्धी काम गर्ने एउटा सञ्जालसँग उनको संलग्नता रहेको आरोप लगाए जसलाई ती अधिकारीहरूले “आतङ्कवादी”को बिल्ला भिराइदिएका थिए। तथापि, उनको काम आदिवासीहरूको भूमि, भाषा र संस्कृतिको संरक्षणमा केन्द्रित रह्यो।
दारियाको अनुभवले एउटा बृहत्तर प्रवृत्तिलाई प्रतिबिम्बित गर्छ जसमा अभियन्ताहरू विरुद्ध "अतिवाद" र "आतङ्कवाद" का आरोपहरू लगाउने, सत्तामा भएकाहरूलाई स्वतन्त्र आवाजहरू दबाउन र अरूलाई आवाज उठाउनबाट निरुत्साहित गर्न सहयोग पुर्याउने जस्ता गतिविधिहरू भइरहेका छन्। यद्यपि, दारियाले आफ्ना मूल्यमान्यताहरू त्याग्न अस्वीकार गरेकी छन्। दबाब र धम्कीहरूको सामना गर्नुपर्दाको अवस्थामा समेत उनले साहस र दृढताका साथ आफ्ना मानिस र तिनका अधिकारको रक्षा गर्न जारी राखेकी छन्।
दारिया एग्रेभाको तत्काल र बिनाशर्त रिहाइ गर्न र रूसभरी आफ्नो अधिकारको प्रयोग गरिरहेका आदिवासी अधिकार अभियन्ताहरूमाथिको दमन अन्त्य गर्न आह्वान गरौँ।

