काठमाडौं
एम्नेस्टी इन्टरनेसनल नेपाल र एम्नेस्टी इन्टरनेसनल नेपाल आबद्ध समूह १८ काठमाडौंद्वारा आज संयुक्त रूपमा नेपालको केन्द्रीय कारागारको पुस्तकालयका लागि विभिन्न शीर्षकका १८२ वटा पुस्तकहरू र १८८ वटा एम्नेस्टीको प्रतिवेदन र प्रकाशनहरू प्रदान गरियो ।
एम्नेस्टी इन्टरनेसनल नेपालका संस्थापक नुतन थपलिया र अध्यक्ष बिक्रम ढुकुछुले पुस्तक र प्रकाशनहरू केन्द्रीय कारागारका अधिकारीहरूलाई हस्तान्तरण गर्नुभयो । एम्नेस्टी इन्टरनेसनल नेपालका संस्थापक नुतन थपलियाले कारागारका लागि पुस्तक प्रदान गर्ने विचारलाई अघि सार्नुभएको थियो । उहाँको विचारमा पुस्तक पढ्ने बानिले पाठकको दिमागमा शान्ति पैदा हुन्छ र पुस्तक पढ्नु भनेको केही कुराहरू सिक्नु, व्यक्तिको व्यक्तित्व विकास हुनु र सुसंस्कृत हुनु पनि हो ।
“कारगारमा हुँदा मानिसहरूसँग प्रशस्त समय हुन्छ र ‘खालि दिमाग शैतानको कार्यशाला हो’ भन्ने त उखानै छ नि । यदि उनीहरू पढ्ने जस्तै केही महत्त्वपूर्ण कुरामा अल्झिए भने उनीहरूका लागि त्यो असाद्धै उपयोगी हुन्छ । पठनले सृजनशीन सोचहरू पैदा गर्दछ र मानिसलाई विद्वता र विचारको संसारमा डोहोर्याउँदछ,” नुतन थपिलयाले भन्नुभयो ।
केन्द्रीय कारागारलाई प्रदान गरीएका प्राय नेपाली भाषाका पुस्तकहरू साहित्य, आख्यान, गैर आख्यान, इतिहाँस, संस्कृति, राजनीति, धर्म, समाजसाश्त्र, मानपअधिकार, कानून, नियात्रा आदि शीर्षकहरूमा रहेका छन् । त्यसैगरी, एम्नेस्टी इन्टरनेसनलले नेपाल लगायत संसारका अन्य भागहरूमा गरेका मानवअधिकारसम्बन्धी अनुसन्धान प्रतिवेदनहरू तथा प्रकाशनहरू पनि केन्द्रीय कारागारलाई प्रदान गरिएको पुस्तकको सूचीमा रहेको छ ।