मुक्तिनाथ अधिकारी हत्याको सत्रौं स्मृति दिवसका अवसरमा सङ्क्रमणकालीन न्यायसम्बन्धी अन्तर्क्रिया कार्यक्रम

नेपालको १० वर्षे शसस्त्र द्वन्द्वकालमा भएका मानवअधिकार उल्लङ्घनबाट पीडीत बनाइएका नागरीकहरूले विस्तृत शान्ति सम्झौताको १२ वर्षसम्म पनि न्याय पाउन सकेका छैनन् | चार वर्ष अघि गठन गरिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबीन आयोगबाट द्वन्द्वपीडीतहरूले सत्य, न्याय र परिपूरणको अनुभति गर्ने मौका पाएका छैनन्  |     

पीडीतन्यायका लागि संघर्षरत द्वन्द्वपीडीत र मानवअधिकार संरक्षणका लागि कार्यरत मानवाधिकार संस्थाहरू द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार हननका घटनाहरूका सन्दर्भमा सत्य स्थापित होस्,न्याय र परिपूरण सुनिश्चित गरियोस् र दण्डहीनताको अन्त्य होस्  भन्ने उद्देश्यकासाथ निरन्तर अभियानमा छन् |

समग्र सङ्क्रमणकालीन प्रणालीलाई न्यायोचित निष्कर्षमा पुर्याउन राजनीतिक इच्छाशक्ति हुनुपर्ने र समग्र प्रक्रिया पीडीतमैत्री हुनुपर्ने विषयमा माघ ३,२०७५(१७ जनवरी २०१९),बिहिबार,द्वन्द्वपीडीत, राजनितीक दल, मानवअधिकार तथा नागरीक समाज एवं सञ्चार क्षेत्रका प्रतिनिधिहरूको सहभागितामा “शान्तिप्रक्रियाको १२ वर्ष: द्वन्द्वपीडीतलाई सत्य,न्याय र परिपूरणकहिले त?” विषयक अन्तरक्रिया आयोजना गरियो | मुक्तिनाथ अधिकारीलाई तत्कालीन माओवादीद्वारा गरिएको नृशंश हत्याको सत्रौं स्मृति दिवसको अवसरमा श्री मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठान र एम्नेस्टी इन्टरनेसनल नेपालद्वारा संयुक्त रूपमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुप राज शर्मा, द्वन्द्वपीडीत समुदायका भागीराम चौधरी, सुमन अधिकारी, राजनितीक नेता मिनेन्द्र रिजाल, सरिता गिरी र सामाजिक क्षेत्रका कनक मणि दीक्षित र सुशील प्याकुरेक लगायत प्रतिनिधीहरूले नेपालको संक्रमणकालीन न्याय प्रणालीमा द्वन्द्वपीडीतहरूका समस्या सम्बोधन नभएको, संक्रमणकालीन न्यायका दुई विद्यमान आयोगहरूबाट उपयुक्त परिणाम आउन नसकेको र संक्रमणकालीन न्यायमा भविष्यको बाटो कस्तो हुनसक्ने जस्ता विषयहरूबारे आफ्ना बिचार राखेका थिए |

 पृष्ठभूमि

पाणिनी संस्कृत माध्यमिक विद्यालय लमजुङ्गका तत्कालीन प्रधानाध्यापक एवं एम्नेस्टी इन्टरनेसनल नेपाल, शिक्षक समूह-७९, दुराडाँडा,लमजुङ्गका तत्कालीन संयोजक मुक्तिनाथ अधिकारीको हत्या सशस्त्र द्वन्द्वकालमा राज्य र विद्रोही दुबैबाट गैरसैनिक नागरीकहरू उपर भएका मानवअधिकार हननका हजारौं घटनाहरूको एउटा प्रतिनिधी घटना हो | शान्ति सम्झौताको बाह्र वर्ष बितिसक्दा पनि द्वन्द्वकालका यी र यस्तै घटनामा राज्यका तर्फबाट आजसम्म पनि औपचारिक तवरले सत्यतथ्य सार्वजनिक गरिएको छैन |

बाँच्न पाउने अधिकारबाट वन्चित गराइएका मुक्तिनाथ अधिकारीको हरेक स्मृति दिवसमा संक्रमणकालीन न्यायसम्बन्धी समसामायिक विषयमा राजनितीक दल,नागरीक समाज तथा पीडीत समुदायबीच निरन्तर बहस गरिँदै आइएको छ |

Topics