(Photo by Mustafa Hassona/Anadolu via Getty Images) (Photo by Mustafa Hassona/Anadolu via Getty Images)

इजरायलले गाजाका प्यालेस्टाइनीहरूविरुद्ध जातिसंहार गरिरहेको एम्नेस्टी इन्टरनेसनलको अनुसन्धानको निष्कर्ष

एम्नेस्टी इन्टरनेसनलको अनुसन्धानले अधीनस्थ गाजा पट्टीका प्यालेस्टाइनीहरूविरुद्ध जातिसंहार गरेको र अझै जातिसंहार गर्न जारी राखेको निष्कर्षमा पुग्नका लागि पर्याप्त आधार फेला पारेको एम्नेस्टी इन्टरनेसनलले आज प्रकाशित एउटा ऐतिहासिक नया प्रतिवेदनमा जनाएको छ।

तपाईंलाई आफू अमानव भए जस्तो अनुभूति हुन्छ’: गाजाका प्यालेस्टाइनीहरूविरुद्ध इजरायलको जातिसंहार (‘You Feel Like You Are Sub-human’: Israel’s Genocide Against Palestinians in Gaza) प्रतिवेदनले सन् २०२३ को अक्टोबर ७ मा दक्षिण इजरायलमा हमासद्वारा भएको घातक आक्रमणपछि सुरू गरिएको सैन्य कारबाहीमा इजरायलले कसरी गाजाका प्यालेस्टाइनीहरू विरुद्ध निर्लज्ज, निरन्तर र पूर्ण दण्डहीनताका साथ नारकीय वितण्डा र विध्वंश मच्चाएको छ भन्ने बारेमा दस्तावेजीकरण गरेको छ।    

“गाजाका प्यालेस्टाइनीहरूलाई नष्ट गर्ने विशेष नियतका साथ इजरायलले जातिसंहार महासन्धिअन्तर्गतका निषेधित कार्यहरू गरेको एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनले देखाएको छ। यी कार्यहरूमा हत्या, गम्भीर शारीरिक वा मानसिक हानि पुर्‍याउने कार्य र गाजाका प्यालेस्टाइनीहरूलाई जानाजानी उनीहरूको शारीरिक विनाश निम्त्याउने प्रकृतिको जीवनका अवस्थाहरू सिर्जना गर्नेलगायतका कार्यहरू समावेश रहेका छन्। महिनौं महिनादेखि इजरायलले गाजाका प्यालेस्टाइनीहरूलाई शारीरिक रूपमा नष्ट गर्ने आफ्नो मनसाय प्रदर्शन गर्दै उनीहरूलाई मानवअधिकार र मर्यादाको लागि अयोग्य एउटा अमानव समूहको रूपमा व्यवहार गरेको छ,” एम्नेस्टी इन्टरनेसनलका महासचिव आग्नेस कालामारले भनिन्।

“हाम्रो निन्दात्मक निष्कर्षहरूले अन्तर्राष्ट्रिय समुदायलाई एउटा चेतावनीको रूपमा काम गर्नुपर्छ: यो जातिसंहार हो। यो अब रोकिनुपर्छ।

“यस समयमा इजरायललाई हतियार हस्तान्तरण गर्न जारी राख्ने राष्ट्रहरूले के थाह पाउनुपर्छ भने उनीहरूले जातिसंहार रोक्ने आफ्नो दायित्वको उल्लङ्घन गरिरहेका छन् र उनीहरू जातिसंहारमा मतियार हुने जोखिममा रहेका छन्। इजरायलमा आफ्नो प्रभाव भएका सबै राष्ट्रहरू, विशेषगरी प्रमुख हतियार आपूर्तिकर्ताहरू संयुक्त राज्य अमेरिका र जर्मनी, तर साथ साथै युरेपेली संघका अन्य सदस्य राष्ट्र, बेलायत र अरूले पनि गाजाका प्यालेस्टाइनीहरू विरुद्ध इजरायलको अत्याचारलाई तुरुन्तै अन्त्य गर्नका लागि अब कार्य गर्नुपर्छ।”

विगत दुई महिनामा सङ्कट उत्तरी गाजा गभर्नरेटमा विशेषगरी तीब्र भएको छ, जहाँ घेराबन्दीमा परेको जनसङ्ख्याले जीवन बचाउने मानवीय सहायतामाथि जारी अथक बमबारी र निस्सासिँदो प्रतिबन्धको बीचमा भोकमरी, विस्थापन र विनाशको सामना गरिरहेको छ।

“हाम्रो अनुसन्धानले के देखाउँछ भने इजरायलले गाजाका प्यालेस्टाइनीहरूलाई पुर्याएको अपूरणीय हानिको बारेमा पूर्ण रूपमा सचेत रहेर पनि जातिसंहारका कार्यहरूलाई निरन्तर जारी राखेको छ। विनाशकारी मानवीय अवस्थाको बारेमा अनगिन्ती चेतावनीहरू र गाजाका नागरिकहरूलाई मानवीय सहायतासम्बन्धी व्यवस्थालाई सक्षम पार्न इजरायललाई तत्काल कदम चाल्न आदेश दिने अन्तर्राष्ट्रिय न्यायालय (आइसिजे) बाट भएको बाध्यकारी निर्णयहरूको अवहेलना गर्दै इजरायलले त्यस्तो कार्य गर्न जारी राख्यो,” आग्नेस कालामारले भनिन्।

“इजरायलले गाजामा गरिएका आफ्ना कारबाहीहरू कानुनसम्मत र हमासलाई निर्मूल पार्ने सैन्य उद्देश्यले जायज भएको तर्क बारम्बार गरेको छ। तर जातिसंहारकारी मनसाय सैन्य लक्ष्यमा पनि संगसगै रहन सक्छ र यो इजरायलको एउटै मात्र मनसाय हुन आवश्यक छैन।”

गाजामा इजरायलद्वारा भएका कार्यहरूको पुनरावृत्ति तथा एकैसाथ हुने ती कारबाही र तिनको तात्कालिक प्रभाव र संचयी तथा पारस्परिक रूपमा प्रबलित परिणाम दुवैलाई ध्यानमा राख्दै एम्नेस्टी इन्टरनेसनलले इजरायलका कार्यहरूलाई नजिकबाट र समग्रतामा परीक्षण गरेको छ। एम्नेस्टीले इजरायली अधिकारीहरूको सार्वजनिक वक्तव्यहरूको पनि विश्लेषण गरेको छ र के पत्ता लगाएको छ भने युद्ध प्रयासहरूको उच्च-तहमा रहेका अधिकारीहरूले निशेधित कार्यहरूलाई प्राय: घोषणा नै गरेका थिए वा त्यस्ता कार्य गर्नका लागि आह्वान गरेका थिए।

“गाजामा पहिल्यैदेखि विद्यमान बेदखलीकरण, रंगभेद र गैरकानूनी सैन्य कब्जाका बीच गरिएका यस्ता कार्यहरूको सन्दर्भलाई ध्यानमा राख्दा हामीले एउटै मात्र उचित निष्कर्ष पाउन सक्छौं: इजरायलको नियत गाजाका प्यालेस्टाइनीहरूको भौतिक विनाश नै हो। चाहे त्यो हमासलाई नष्ट गर्ने उसको सैन्य लक्ष्यको समानान्तरमा गरिएको होस् वा उक्त लक्ष प्राप्तिको एउटा माध्यमको रूपमा गरिएको होस्,” आग्नेस कालामारले भनिन्।

“हमास र अन्य सशस्त्र समूहहरूले इजरायली र अन्य राष्ट्रियताका पीडितहरूमाथि सन् २०२३ को अक्टोबर ७ मा गरेका योजनाबद्ध सामूहिक हत्या र बन्धक बनाउने लगायतका अत्याचारका अपराधहरूले कहिल्यै पनि गाजामा प्यालेस्टाइनीहरूविरुद्ध लक्षित इजरायलको जातिसंहारलाई जायज बनाउन सक्दैन।”  

अन्तर्राष्ट्रिय विधिशास्त्रले जातिसंहार हुनका लागि पीडकले संरक्षित समूहलाई पूर्ण वा आंशिक रूपमा नष्ट गर्ने प्रयासहरूमा सफल नै हुनु पर्छ भन्ने आवश्यक नभएको कुरालाई मान्यता दिएको छ। यसका लागि समूहलाई नष्ट गर्ने नियतले निषेधित कार्यहरू गर्नु नै पर्याप्त हुन्छ।

एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनले गाजामा इजरायलले ७ अक्टोबर २०२३ र २०२४ जुलाईको सुरूवातसम्मको नौ महिनामा गाजामा गरेको उल्लङ्घनको विस्तृत अध्ययन गरेको छ। संस्थाले प्यालेस्टाइनी पीडित र प्रत्यक्षदर्शी, गाजाका स्थानीय अधिकारी र स्वास्थ्यकर्मीहरूसमेत गरी २१२ जनासँग अन्तर्वार्ता लिएको छ र क्षेत्रगत अध्ययन भ्रमण गरी उपग्रहबाट लिइएका तस्बीरका साथै विस्तृत दायराको दृश्य र डिजिटल प्रमाणको विश्लेषण गरेको छ। यसले वरिष्ठ इजरायली सरकारी र सैन्य अधिकारीहरू र आधिकारिक इजरायली निकायहरूका वक्तव्यहरूको पनि विश्लेषण गरेको छ। धेरै अवसरहरूमा संस्थाले इजरायली अधिकारीहरूसँग आफ्नो निष्कर्ष साझा गरेको थियो तर यो प्रतिवेदन प्रकाशनको समयसम्ममा कुनै ठोस प्रतिक्रिया भने प्राप्त गरेको थिएन।

अभूतपूर्व स्तर र परिमाण 

सन् २०२३ को अक्टोबर ७ मा हमासको घातक हमलापछिका इजरायलद्वारा गरिएका कारबाहीहरूले गाजाको जनसंख्यालाई विनाशको सन्निकट पुर्याएको छ। उसको क्रूर सैन्य आक्रमणले १३,३०० भन्दा बढी बालबालिका सहित ४२,००० प्यालेस्टाइनीहरूको हत्या गरेको छ र सन् २०२४ अक्टोबर ७ सम्ममा ९७,००० भन्दा बढीलाई घाइते बनाएको थियो। यसरी मृत्य र घाइते हुनेहरू धेरैजनामाथि प्रत्यक्ष वा जानाजानी अन्धाधुन्ध आक्रमण गरिएको थियो र यसले गर्दा अक्सर समूल बहुपुस्तागत परिवारहरूलाई नष्ट पारिएको छ। विज्ञहरूको अनुसार एक्काइसौं शताब्दीका अन्य कुनै द्वन्द्वमा नदेखिएको स्तर र गतिमा सम्पूर्ण शहरहरूलाई समतल पार्दै र महत्त्वपूर्ण पूर्वाधार, कृषि भूमि र सांस्कृतिक एवं धार्मिक स्थलहरू नष्ट पार्दै यसले अभूतपूर्व विनाश निम्त्याएको छ। यसरी गाजाको ठूलो भाग मानव बसोवासका लागि अयोग्य बनेको छ। 

सन् २०२४ को मार्चमा गाजा शहरबाट आफ्नो परिवारसँगै रफाह भागेका र सन् २०२४ को मेमा फेरी विस्थापित भएका मोहम्मदले कहालीलाग्दो अवस्थामा बाँच्नको लागि आफूले गरेको संघर्षको यसरी वर्णन गरे: 

“यहाँ देइर अल-बलाहमा एउटा प्रलयको जस्तो अवस्था छ … अन्त्यहीन बमबारीका बीच यहाँ आफ्ना बच्चाहरूलाई किरा र गर्मीबाट बचाउनुपर्ने अवस्था छ भने स्वच्छ पिउने पानी र शौचालय समेत छैन।”

इजराइलले गाजामा जीवनको यस्तो अवस्था थोपर्यो जसले कुपोषण, भोकमरी तथा रोगहरूको घातक एउटा मिश्रणको सिर्जना गरी प्यालेस्टाइनीहरूलाई सुस्तरी योजनाबद्ध मृत्युको मुखमा पुर्यायो। इजरायलले गाजाका सयौं प्यालेस्टाइनीहरूलाई बाह्य दुनियासँगको सम्पर्करहित हिरासत, यातना र अन्य दुर्व्यवहारको शिकार बनायो।   

अलग्गै हेर्दा एम्नेस्टी इन्टरनेसनलले अनुसन्धान गरेका कतिपय कारबाहीहरूले अन्तर्राष्ट्रिय मानवीय कानुन वा अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको गम्भीर उल्लङ्घन गरेको देखिन्छ। तर इजरायलको सैन्य अभियानको बृहत् तस्बिर र यसका नीति तथा कार्यहरूको समष्टिगत प्रभावलाई हेर्दा जातिसंहारको उद्देश्य एउटै मात्र उचित निष्कर्ष हो। 

नष्ट गर्ने मनसाय 

गाजाका प्यालेस्टाइनीहरूलाई भौतिक रूपमा नष्ट गर्ने इजरायलको विशेष मनसाय स्थापित गर्न एम्नेस्टी इन्टरनेसनलले गाजामा इजरायलको आचरणको समग्र प्रवृत्तिको विश्लेषण गर्यो।  विशेषगरी एम्नेस्टीले उच्च तहमा रहेका इजरायली सरकार र सैन्य अधिकारीहरूको अमानवीय र जातिसंहारकारी वक्तव्यहरूको समीक्षा गर्यो र इजरायलको रंगभेदी प्रणाली, गाजामाथिको अमानवीय नाकाबन्दी र ५७ वर्षदेखिको प्यालेस्टिनी भूभागको गैरकानूनी सैन्य कब्जाको सन्दर्भलाई विचार गर्यो।

आफ्नो निष्कर्षमा पुग्नु अघि एम्नेस्टी इन्टरनेसनलले इजराइलको सेनाले हमास र गाजाका अन्य सशस्त्र समूहहरूलाई कानुनी रूपमा निशाना बनाएको तथा लडाकुहरूलाई गैरसैनिक जनसङ्ख्यामाझ राख्ने र सहायताहरूलाई अन्यत्रै मोड्ने जस्ता हमास तथा अन्य सशस्त्र समूहहरूकै गैरकानुनी गतिविधिहरूको परिणामस्वरूप अभूतपूर्व विनाश हुन पुगेको र सहायता अस्वीकार गरिएको हो भन्ने इजरायलको दाबीहरूको जाँच गर्यो। संस्थाले यी दाबीहरू विश्वसनीय नभएको निष्कर्ष निकालेको छ। घना जनसङ्ख्या भएको क्षेत्र नजिक वा सोभित्र हमास लडाकुहरूको उपस्थितिले गैरसैनिकहरूलाई बचाउनका लागि सबै सम्भावित सावधानीहरू अपनाउने र अन्धाधुन्ध वा असमानुपातिक आक्रमणहरू नगर्ने दायित्वबाट इजरायललाई उनमुक्ति दिंदैन। इजरायलले बारम्बार त्यसो गर्न असफल भएको र हमासको कार्यलाई देखाएर उसको कारबाहीको औचित्य पुष्टि हुन नसक्ने प्रकृतिका अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका धेरै अपराधहरू गरेको अनुसन्धानले पत्ता लगायो। एम्नेस्टी इन्टरनेसनलले मानवीय सहायता सामग्रीलाई अन्यत्र मोडिएकाले जीवन बचाउने मानवीय सहायतामा इजरायलको चरम एवं  जानाजानी लगाइएको प्रतिबन्धहरूको औचित्य पुष्टि हुन सक्ने कुनै प्रमाण फेला पारेन।  

इजरायलले लापरवाह कारबाहीहरू गरिरहेको वा उसले केवल हमासलाई नष्ट गर्न चाहेको र सो क्रममा यदि प्यालेस्टाइनीहरूको पनि नष्ट गर्नु आवश्यक देखिए निष्फिक्रि सो गरेको र यसले इजरायलको जातिसंहार गर्ने मनसाय नभई मानव जीवनप्रतिको निष्ठुर बेवास्तालाई प्रदर्शन गरेको हो भन्ने जस्ता वैकल्पिक तर्कहरूबारे पनि एम्नेस्टी इन्टरनेसनलले आफ्नो विश्लेषणमा विचार गर्यो।  तथापि, इजरायलले हमासलाई ध्वस्त पार्न प्यालेस्टाइनीहरूको विनाश सहयोगी रहेको वा यस लक्ष्यको स्वीकार्य उप-परिणामको रूपमा लिएको भएनै तापनि प्यालेस्टाइनीहरूलाई फाल्तु र वास्ता गर्न अयोग्यको रूपमा हेर्ने यो दृष्टिकोण आफैमा जातिसंहारको मनसायको प्रमाण हो। 

एम्नेस्टी इन्टरनेसनलद्वारा दस्तावेजीकरण गरिएका धेरै गैरकानुनी कार्यहरू इजरायली अधिकारीहरूले ती कार्यहरूको कार्यान्वयनको निम्ति दुरुत्साहन गरेपछि भएका थिए। संस्थाले सन् २०२३ को अक्टोबर ७ र सन् २०२४ को जुन ३० बीच इजरायली सरकार र सैन्य अधिकारी तथा अन्यहरूबाट जारी भएका १०२ वक्तव्यहरूको समीक्षा गर्यो। ती वक्तव्यहरूले प्यालेस्टाइनीहरूलाई अमानवीय रूपमा चित्रण गरेका थिए र उनीहरू विरुद्ध जातिसंहारजन्य कार्य वा अन्य अपराधहरू गर्न आह्वान गरेका वा त्यसो गर्नुको औचित्य पुष्टी गरेका थिए।

यीमध्ये एम्नेस्टी इन्टरनेनलले आक्रमणको प्रबन्धन गर्ने जिम्मेवारीमा रहेका वरिष्ठ अधिकारीहरूद्वारा जारी गरिएका २२ वटा यस्ता वक्तव्यहरूको पहिचान गर्यो जसले जातिसंहारयुक्त कार्यहरू गर्न आह्वान गरेको वा त्यस्ता कार्यहरूको औचित्य पुष्टि गर्न खोजेको देखियो र यसले जातिसंहार मनसायको प्रत्यक्ष प्रमाणको रूपमा काम गर्दछ। गाजालाई “मेटाउन” वा बस्न अयोग्य बनाउन सैनिकहरूले गरेका आह्वान र प्यालेस्टाइनीहरूको घर, मस्जिद, विद्यालय र विश्वविद्यालयहरूको विनाशमा उत्सव मनाउँदै गरेको देखिने एम्नेस्टी इन्टरनेसनलद्वारा प्रमाणित श्रव्यदृष्य सामग्रीले फिल्डमा खटिएका इजरायली सैनिकलगायतले यो भाषालाई बारम्बार दोहोर्याएका थिए भन्ने तथ्य पुष्टि गरेको छ।  

हत्या र गम्भीर शारीरिक वा मानसिक हानि पुर्याउने कार्य

१४१ बालबालिकाहरू सहित   कम्तिमा ३३४ सर्वसाधारणको मृत्यु हुने गरी सन् २०२३ को अक्टोबर ७ देखि सन् २०२४ को अप्रिल २० सम्म  भएका १५ वटा हवाई आक्रमणहरूमाथि गरिएको अनुसन्धानहरूको नतिजालाई समीक्षा गरी एम्नेस्टी इन्टरनेसनलले गाजा क्षेत्रमा प्यालेस्टाइनीहरूमाथि भएको हत्या  र गम्भीर मानसिक तथा शारीरिक हानि पुर्याउने जातिसंहारयुक्त कार्यहरूको दस्तावेजीकरण गरेको छ। एम्नेस्टी  इन्टरनेसनलले यी कुनै पनि आक्रमणहरू सैन्य उद्देश्यतर्फ निर्देशित भएको प्रमाण फेला पार्न सकेन।

एउटा उदाहरणरूपी घटनामा सन् २०२४ को अप्रिल २० मा इजरायली हवाई आक्रमणले पूर्वी रफाहको अल-जनीना क्षेत्रमा सुतिरहेको बेलामा १६ जना बालबालिकासहित परिवारका तीन पुस्ता सदस्यहरूको ज्यान जाने गरी अब्देलाल परिवारको घर नष्ट गर्यो।

यस्ता घटनाहरूले इजरायलको हवाई आक्रमणहरूको केवल एउटा अंशको मात्र प्रतिनिधित्व गरेपनि यसले सर्वसाधारण र गैरसैन्य संरचनाहरूमाथि गरिएका बारम्बारका आक्रमण वा जानाजानी गरिएका अन्धाधुन्ध आक्रमणहरूको एउटा व्यापक ढाँचालाई सङ्केत गर्दछ। सर्वसाधारणमा ठूलो सङ्ख्याको हताहती र घाइते बनाउने गरी योजनाबद्ध रूपमा यी आक्रमणहरू गरिएको थियो।

भौतिक विनाश निम्त्याउने गरी कठोर जीवनयापनको अवस्था थोपर्ने कार्य

गाजा क्षेत्रका प्यालेस्टाइनीहरूका लागि समयक्रममा उनीहरूको विनाशमा पुर्याउने गरी इजरायलले कसरी जानाजानी जीवनयापनको कठोर अवस्था सिर्जना गर्यो भन्ने बारे प्रतिवेदनले दस्तावेजीकरण गरेको छ। यी अवस्थाहरू तीन समानान्तर ढाँचाहरूमार्फत थोपरिएको थियो जसले एकअर्काका विनाशकारी प्रभावलाई बारम्बार थप बढाउँदै लगे: गैरसैनिक सर्वसाधरणको जीवन धान्ने पूर्वाधार र बाँच्नको लागि अपरिहार्य अन्य वस्तुहरूको क्षति र विनाश; गाजाको लगभग सम्पूर्ण जनसंख्यालाई जबर्जस्ती विस्थापित गर्नेगरी व्यापक, स्वेच्छाचारी र भ्रामक सामूहिक “ठाउँ खाली गर्नेसम्बन्धी” आदेशहरूको बारम्बार प्रयोग; र गाजामा अत्यावश्यक सेवाहरू, मानवीय सहायता र जीवन रक्षात्मक सामग्रीको आपूर्तिमा इन्कारी र अवरोध।

सन् २०२३ को अक्टोबर ७ पछि इजरायलले गाजामा बिजुली, पानी र इन्धनको आपूर्ति रोक्दै पूर्ण घेराबन्दी लागू गर्यो। यस प्रतिवेदनको लागि समीक्षा गरिएको नौ महिनामा इजरायलले गाजामा निस्सासिँदो गैरकानुनी नाकाबन्दीलाई कायम राख्यो, ऊर्जा स्रोतहरूको पहुँचमा कडा नियन्त्रण गर्यो, गाजाभित्र अर्थपूर्ण मानवीय सहायता पहुँचलाई सहज बनाउन विफल भयो र विशेषगरी गाजाको उत्तरी क्षेत्रमा जीवनरक्षक सामग्री र मानवीय सहायता आयात र वितरणमा अवरोध खडा गर्यो। यसरी उनीहरूले पहिल्यैदेखि विद्यमान रहेको मानवीय सङ्कटलाई थप गम्भीर बनाए। योसँगै गाजाका घर, अस्पताल, पानी तथा सरसफाइ सुविधाहरू र कृषि भूमिमा भएको व्यापक क्षति र सामूहिक रूपमा गरिएको जबर्जस्ती विस्थापनले भोकमरीलाई विपत्तिजनक स्तरमा पुर्यायो र डरलाग्दो स्तरमा रोगहरूको फैलावट हुन पुग्यो। यसको प्रभाव विशेषगरी साना बालबालिका र गर्भवती वा स्तनपान गराइरहेका महिलाहरूमा निकै गम्भीर देखियो जसले उनीहरूको स्वास्थ्यमा अपेक्षित दीर्घकालीन असर परेको छ।

इजरायलसँग बारम्बार गाजाको मानवीय अवस्था सुधार्ने अवसर रहेको थियो। तर एक वर्षभन्दा बढी समयदेखि उसले निर्लज्ज तवरमा आफ्नो सामर्थ्यभित्र रहेका कदमहरू उठाउनका लागि बारम्बार इन्कार गरेको छ। जस्तै गाजामा उसले पर्याप्त प्रवेश विन्दुहरू खोल्न, गाजा पट्टीमा भित्रिने सरसामानहरूमाथि रहेको कडा प्रतिबन्धहरू हटाउन वा गाजाभित्रको अवस्था क्रमशः झनै खराब हुँदै गएकोमा समेत सहायता आपूर्तिमा अवरोध हटाउने कार्य गर्न इन्कार गरेको छ।

इजरायलले बारम्बार जारी गरेको आफ्नो “ठाउँ खाली गर्नेसम्बन्धी (evacuation)” आदेशमार्फत लगभग १९ लाख प्यालेस्टाइनीहरू – जुन गाजाको जनसंख्याको ९० प्रतिशत हुन्छ – लाई अमानवीय अवस्थाका झन् झन् संकुचित र असुरक्षित स्थानहरूमा विस्थापित गर्यो। कतिपयलाई त १० पटकसम्म यसरी विस्थापित बनाइएको छ। यी जबर्जस्ती विस्थापनका बहु छालहरूले धेरैलाई बेरोजगार बनाएको छ र धेरैलाई गहिरो मानसिक आघातमा पारेको छ। किनभने गाजाको करिब ७०% बासिन्दा सन् १९४८ को नक्बाको समयमा इजरायलले जातीय रूपमा सफाया गरिएका शहर र गाउँहरूबाट विस्थापित शरणार्थी वा तिनका सन्तान हुन्। मानव जीवनका लागि अवस्था तीब्र रूपमा अनुपयुक्त हुँदै गए पनि इजरायली अधिकारीहरूले विस्थापित व्यक्तिहरूको संरक्षण गर्न र उनीहरूको आधारभूत आवश्यकताहरू पूरा गरिएको सुनिश्चित गर्नका लागि कुनै पनि उपायहरूका बारेमा विचार गर्न अस्वीकार गरे र उनीहरूले जानाजानी त्यस्तो कार्य गरेको देखाउँदछ।

विस्थापित भएकाहरूलाई उनीहरूले उत्तरी गाजामा आफ्ना घरहरूमा फर्किन वा अधीनस्थ प्यालेस्टाइनी भूभाग वा इजरायलको अन्य भागहरूमा अस्थायी रूपमा बसोबास गर्नका लागि अनुमति दिन इन्कार गरे र धेरै प्यालेस्टाइनीहरूको सन् 1948 मा आफू विस्थापित भएका स्थानहरूमा फर्कने अन्तर्राष्ट्रिय कानुनअन्तर्गको अधिकारलाई इन्कार गर्न जारी राखेका छन्। गाजाका प्यालेस्टाइनीहरूका लागि भागेर जाने कुनै सुरक्षित स्थान छैन भन्ने जान्दाजान्दै उनीहरूले यस्तो गरे।

जातिसंहारका लागि जवाफदेहिता

“सुरूमा युद्धविरामको आह्वान गर्न ढिलाइ गरेर र त्यसपछि हतियारको स्थानान्तरणलाई निरन्तरता दिएर एक वर्षभन्दा बढी समयसम्म इजरायललाई गाजामा उसले जारी राखेको अत्याचार रोक्न दबाब दिनका लागि अन्तर्राष्ट्रिय समुदायको गम्भीर र लज्जाजनक विफलता हाम्रो सामूहिक अन्तस्करणमा एउटा दागको रूपमा रहेको छ र रहिरहनेछ,” आग्नेस कालामारले भनिन्।

“इजरायलद्वारा भएको अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घनमा दशकौँदेखिको दण्डहीनताका कारण सहज भइरहेको यो जातिसंहारलाई अन्त्य गर्नमा सरकारहरूले शक्तिहीन भएको बहानाबाजी गर्न छाड्नुपर्छ। इजरायलका कतिपय सहयोगी राष्ट्रहरूलाई जातिसंहारको निष्कर्ष जतिसुकै असहज भएतापनि राष्ट्रहरूले केबल दु:ख व्यक्त गर्ने वा आश्चर्य जनाउने भन्दा माथि उठेर बलियो र दीर्घकालीन अन्तर्राष्ट्रिय कदम उठाउनुपर्छ।

“अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसस) द्वारा गत महिना युद्ध अपराध र मानवता विरुद्धका अपराधहरूको लागि प्रधानमन्त्री बेन्यामिन नेतान्याहू र पूर्व रक्षा मन्त्री योव गल्लान्टको लागि जारी गरेको गिरफ्तारी आदेशले पीडितहरूका लागि लामो समयदेखि थाति रहेको न्यायको सवालमा साँचो आशा प्रदान गरेको छ। आइसिसिद्वारा गिरफ्तार गर्न चाहेका व्यक्तिहरूलाई गिरफतार गरी बुझाएर राष्ट्रहरूले अदालतको निर्णय र विश्व्व्यापी अन्तर्राष्ट्रिय कानूनी सिद्धान्तहरूप्रति सम्मान प्रदर्शन गर्नु पर्छ।  

“हामी अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसि) को अभियोजकको कार्यालयलाई उसले अनुसन्धान गरिरहेको अपराधहरूको सूचीमा जातिसंहारलाई तत्काल समावेश गर्न र पीडकहरूलाई न्यायको कठघरामा ल्याउनका लागि सबै कानुनी उपायहरू अपनाउन सबै राष्ट्रहरूलाई आह्वान गरिरहेका छौं। कसैलाई पनि जातिसंहार गर्न तथा अदण्डित रहन दिनु हुँदैन।

सबै गैरसैनिक बन्धकहरूलाई बिना शर्त रिहा गर्न र अक्टोबर ७ मा गरिएका अपराधहरूमा जिम्मेवार हमास तथा अन्य प्यालेस्टाइनी सशस्त्र समूहहरूलाई जवाफदेही बनाउनको लागि पनि एम्नेस्टी इन्टरनेसनलले आह्वान गरिरहेको छ।

एम्नेस्टी इन्टरनेसनलले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्लाई अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका अपराधहरूमा सबैभन्दा धेरै संलग्न भएका इजरायली तथा हमासका अधिकारीहरूविरुद्ध लक्षित प्रतिबन्धहरू लगाउन पनि आह्वान गरिरहेको छ।

पृष्ठभूमि

सन् २०२३ को अक्टोबर ७  मा हमास र अन्य सशस्त्र समूहहरूले इजरायलको दक्षिणी क्षेत्रमा अन्धाधुन्ध रकेट प्रहार गरी जानाजानी सामूहिक हत्या गर्ने र बन्धक बनाउने कार्यहरू गरे।  यो आक्रमणका कारण १,२०० जनाको मृत्यु भयो जसमा ८०० भन्दा बढी गैरसैनिकहरू थिए। साथै उनीहरूले २२३ जना गैरसनिकलाई अपहरण गरी २७ जना सिपाहीहरूलाई बन्दी बनाएका थिए। यस हमलाका क्रममा हमास र अन्य सशस्त्र समूहहरूले गरेका अपराधहरू एम्नेस्टी इन्टरनेसनलको आगामी प्रतिवेदनको केन्द्रीय बिषय हुनेछ।

सन् २०२३ को अक्टोबरदेखि एम्नेस्टी इन्टरनेसनलले इजरायली सेनाद्वारा गैरसैनिक र गैरसैनिक वस्तुहरूमाथि गरिएका प्रत्यक्ष आक्रमण तथा सयौँ गैरसनिकहरूको मृत्यु हुने गरी जानाजानी गरिएको अन्धाधुन्ध आक्रमणका साथै अन्य गैरकानुनी आक्रमण र गैरसैनिक जनसङ्ख्यामाथि थोपरिएको सामूहिक सजाय लगायतका अन्तर्राष्ट्रिय कानुअन्तर्गतका विभिन्न उल्लंघन र अपराधहरूको गहिरो अनुसन्धान गरेको छ। संस्थाले आइसिसिका अभियोजकको कार्यालयलाई प्यालेस्टाइनको अवस्था बारेको अनुसन्धानलाई शीघ्रता दिन आह्वान गरेको छ र गाजामा तत्काल युद्धविरामको लागि अभियान गरिरहेको छ।