कोभिड-१९: खोपमा समान पहुँच स्थापित गर्नमा औषधी कम्पनीहरूको विफलताले सन् २०२१ मा मानवअधिकार विपत्ति

सन् २०२१ मा कोभिड-१९ विरुद्धको खोपको समान वितरणलाई सुनिश्चित गर्न गरिएका गम्भीर आह्वानका बाबजुत एक शताब्दीमा एक पटक भएको विश्वव्यापी स्वास्थ्य तथा मानवअधिकार सङ्कटको चुनौतीलाई सामना गर्न औषधी कम्पनीहरू नराम्ररी चुकेका छन्। यसको सट्टा ती कम्पनीहरूले प्रविधिमाथि एकाधिकार जमाएको, बौद्धिक सम्पत्तिलाई एकआपसमा साझेदारी गर्न अवरोध खडा गर्ने मात्र हैन यसरी साझेदारी गर्नुपर्छ भन्ने अभिमतका विरुद्ध वकालत समेत गरेको, खोपहरूमा चर्को मूल्य लगाएको र धनी देशहरूमा खोप आपूर्तिलाई प्राथमिकता दिएको कुरा एम्नेस्टी इन्टरनेसनलले आज कोभिड-१९ विरुद्धका प्रमुख खोप उत्पादकहरूमाथि गरेको एउटा नयाँ अध्ययनलाई सार्वजनिक गर्दै बतायो।

गत वर्ष दश अरब कोभिड-१९ विरुद्धका खोपहरू उत्पादन गरिएको थियो जुन विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सन् २०२१ को अन्त्यसम्ममा ४० प्रतिशत खोपको विश्वव्यापी लक्ष्य हाँसिल गर्नका लागि आवश्यक पर्ने खोपका मात्राभन्दा बढी थियो। यद्यपि एम्नेस्टी इन्टरनेसनलको सेप्टेम्बर २०२१ मा प्रकाशित असमानताको दोहोरो मात्रा : औषधि कम्पनी र कोभिड१९ खोप सङ्कट (A double dose of inequality: Pharma companies and the Covid-19 vaccines crisis) प्रतिवेदनलाई अद्यावधिक गरी तयार पारिएको पैसा नै निर्णायक :  कोभिड१९ को खोप सङ्कटमा औषधि कम्पनीहरूको प्रतिक्रिया (Money calls the shots: Pharma’s response to the Covid-19 vaccines crisis) शीर्षकको प्रतिवेदनले सन् २०२१ को अन्त्यसम्ममा न्यून आय भएका देशहरूमा बसोवास गर्नेहरूमध्ये केवल चार प्रतिशत भन्दा केही बढीलाई मात्र पूर्ण मात्रामा खोप लगाइएको देखाएको छ।  

“उच्च आय भएका देश र खोप उत्पादकहरूले आफ्नो मानवअधिकारको दायित्व र जिम्मेवारीलाई यदि मनन् गरेका भए सन् २०२१ को अन्त्यसम्ममा न्यून र न्यून-मध्यम आय भएका देशका १.२ अरबभन्दा बढी मानिसहरूलाई खोप लगाउन सकिन्थ्यो,” एम्नेस्टी इन्टरनेसनलका अनुसन्धान, पैरवी तथा नीति शाखाका बरिष्ठ निर्देशक रजत खोस्लाले भने।

“विश्वका गरिब भू-भागहरूमा खोप आपूर्तिलाई निष्ठूर तरिकाले सङ्कुचित पार्दै जसरी उच्च आयस्रोत भएका देशहरूले कोभिड-१९ का खोपहरू थुपारे त्यसक्रममा औषधी कम्पनीहरूले खोपको सबैभन्दा बढी आवश्यकतामा रहेकाहरूलाई एक्लै छाडेर यो मानवअधिकारको विपत्ति निम्त्याउनमा प्रमुख भूमिका खेले। यी कम्पनीहरू सन् २०२१ का नायक हुन सक्दथे। यसको सट्टा तिनीहरूले सबैभन्दा बढी खोप जसलाई चाहिएको थियो तिनलाई बेवास्ता गरी सधैं जस्तै मानिसको जीवनभन्दा नाफालाई प्राथमिकता दिएर आफ्नो व्यापारमा लिप्त रहे। यदि हामी सन् २०२२ लाई यस महामारीको अन्तिम वर्ष भएको चाहन्छौं भने यस वर्षको जुलाईसम्ममा विश्व स्वास्थ्य संगठनले लिएको ७० प्रतिशत लक्ष्यसम्म पुग्न हामीले अहिले नै मार्ग परिवर्तन गर्नुपर्दछ।”

सन् २०२१ मा पिफाइजर, बायोएनटेक र मोडर्नाले ५४ अरब अमेरिकी डलर आय प्रक्षेपण गरेका थिए। तर ती कम्पनीहरूले आफूले उत्पादन गरेको खोपको दुई प्रतिशत भन्दा पनि कम मात्र खोप न्यून आय भएका देशहरूमा आपूर्ति गरेका थिए। चिनियाँ कम्पनीहरू सिनोभ्याक र सिनोफार्मले न्यून आय भएका देशहरूलाई आफूले उत्पादन गरेको खोपको क्रमशः ०.४ प्रतिशत र १.५ प्रतिशत मात्र वितरण गरेका थिए।  

जोन्सन एण्ड जोन्सन र एस्ट्राजेनेकाको वितरणको अभिलेख राम्रो थियो – उनीहरूको स्टकमा रहेको खोपमध्ये ५० प्रतिशत खोप न्यून र न्यून-मध्यम आय भएका देशहरूमा आपूर्ति गरिएको थियो (यीमध्ये धेरै मात्रा खोपहरू बिक्री सम्झौताको रूपमा नभई उच्च आय भएका देशहरूबाट “अनुदान” को रूपमा प्रदान गरिएको थियो)। तथापि यी दुवै कम्पनीहरूले अझै पनि विश्व स्वास्थ्य संगठनले समन्वय गरेको पहलहरूमार्फत आफ्ना प्रविधि तथा बौद्धिक सम्पत्तिलाई साझेदारी गर्न इन्कार गरिरहेका छन् र गैरनाफामूलक तरिकाले खोपको मूल्य निर्धारण गर्ने मोडेललाई परित्याग गर्न लागिरहेका छन्।

“अरबौं सार्वजनिक अनुदानको बाबजुद् यी कम्पनीहरूले आफ्नो मानवअधिकारको जिम्मेवारीलाई भन्दा लोभ र लालचलाई प्राथमिकता दिइरहेका छन्। कोभिड-१९ को कारण अहिलेसम्म ५६ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको अवस्थामा पनि मानिसको जीवनभन्दा मुनाफालाई प्राथमिकता दिइनु अत्यन्तै चिन्ताजनक विषय हो। धनी देशहरूमा मात्र नभई न्यून आय भएका देशहरूमा पनि मानिसहरूको खोपमा पहुँच हुनुपर्दछ भन्ने कुरा उच्च आय भएका देश र औषधी कम्पनीहरूले महशुस गर्नुअघि हामीले अझ भाइरसका थप कति वटा प्रजातिहरूबाट गुज्रनु पर्ने हो?,” रजत खोस्लाले भने ।

एयरफिनिटी नाम गरेको विज्ञान तथा विश्लेषण सेवा प्रदायक कम्पनीद्वारा निकालिएको ३१ डिसेम्बर २०२१ सम्मको थप निष्कर्षहरू यसप्रकार रहेका छन्:

  • सन् २०२१ मा एस्ट्राजेनेकाले २.४ अरबभन्दा केही कम खोपहरू उत्पादन गर्यो र यसको १.७ प्रतिशत न्यून आय भएका देशहरूलाई र ७० प्रतिशत न्यून-मध्यम आय भएका देशहरूलाई आपूर्ति गर्यो। अघिल्लो अध्ययनमा भन्दा यो केही हदमा वृद्धि भएको अवस्था हो।
  • सन् २०२१ मा जोन्सन एण्ड जोन्सनले तीस करोडभन्दा बढी खोपहरू उत्पादन गर्यो र यीमध्ये २० प्रतिशत न्यून आय भएका देशहरूमा र ३१ प्रतिशत न्यून-मध्यम आय भएका देशहरूमा वितरण गर्यो। यो अघिल्लो अध्ययनले देखाएकोभन्दा उल्लेखनीय वृद्धि हो।
  • सन् २०२१ मा मोडर्नाले ६७ करोड ३० लाख कोभिड खोपहरू उत्पादन गर्यो र यीमध्ये २ प्रतिशत न्यून आय भएका देशहरूलाई र २३.५ प्रतिशत न्यून-मध्यम आय भएका देशहरूलाई वितरण गर्यो। यो अघिल्लो अध्ययनको तुलनाममा उल्लेखनीय वृद्धि भएतापनि अझै आवश्यकता भन्दा कम नै हो।
  • सन् २०२१ मा पिफाइजर-बायोएनटेकले २.४ अरब कोभिड-१९ का खोपहरू उत्पादन गर्यो र यीमध्ये एक प्रतिशत न्यून आय भएका देशहरूलाई र १४ प्रतिशत न्यून-मध्यम आय भएका देशहरूलाई वितरण गर्यो। यो अघिल्लो अध्ययनले देखाएभन्दा थोरै वृद्धि हो। तर यो एम्नेस्टी इन्टरनेसनलले निर्धारण गरेको ५० प्रतिशत लक्ष्यभन्दा भने निकै कम रहेको छ।
  • सन् २०२१ मा सिनोफार्मले २.२ अरबभन्दा अलिकति बढी कोभिड खोपहरू उत्पादन गर्यो, जसमध्ये अधिकांश चीनभित्र नै आपूर्ति गरियो। कम्पनीले आफ्नो उत्पादनको १.५ प्रतिशत न्यून आय भएका देशहरूलाई र २४ प्रतिशत न्यून-मध्यम आय भएका देशहरूलाई वितरण गर्यो, जुन खोपको समान वितरणको लागि आवश्यक भन्दा कम रहेको छ।
  • सन् २०२१ मा सिनोभ्याकले २.४ अरबभन्दा बढी खोपहरू उत्पादन गर्यो, जसमध्ये अधिकांश चीनभित्र नै आपूर्ति गरियो। यसले आफ्नो उत्पादनको ०.४ प्रतिशत न्यून आय भएका देशहरूलाई र २०.५ प्रतिशत न्यून-मध्यम आय भएका देशहरूलाई प्रदान गर्यो।

खोपको न्यायोचित पहुँचमा व्यवधानहरू खडा गर्दै र बौद्धिक सम्पत्तिसम्बन्धी अधिकारलाई खुकुलो बनाउने अभिमतकाविरुद्ध सक्रियतापूर्वक पैरवी गरेर यी कम्पनीहरूले कसरी आफ्नो बौद्धिक सम्पत्ति, ज्ञान र प्रविधिको साझेदारी गर्दैनन् भन्ने कुरा पनि एम्नेस्टीको प्रतिवेदनले देखाएको छ।

“न्यायोचित र समतामूलक खोपको लडाई अझै सकिएको छैन,” रजत खोस्लाले भने। “विश्व स्वास्थ्य संगठनले लिएको सन् २०२२ को मध्यअघि नै ७० प्रतिशत विश्वव्यापी खोपको लक्ष्य प्राप्त गर्नका लागि न्यून आय भएका देशहरूमा खोप वितरणलाई प्राथमिकता दिन हामी औषधी कम्पनीहरूलाई आह्वान गरिरहनेछौं। सबैले खोपमा समान पहुँच पाउनुपर्दछ।  यस महामारीको तेस्रो वर्षमा हामी प्रवेश गरिरहँदा संसारको जुनसुकै ठाउँमा बस्ने सबैले खोपमा तत्काल पहुँच पाउनुपर्ने समय आइसकेको छ।”

खुला र सामान्य इजाजत पत्र जारी गरेर वा खुला र सामान्य इजाजत पत्रको साझेदारीमा सहयोग पुर्याउनका लागि स्थापित कोभिड-१९ टेक्नोलोजी एक्सेस पूल (सी-टीएपी)मा सहभागी भएर बौद्धिक सम्पत्तिको साझेदारी गर्न, सबै नियम र शर्तहरूलाई सार्वजनिक गर्न र कोभिड-१९ खोपको पहुँचको मार्गमा मुनाफाको विषय नउभिने गरी कोभिड-१९ खोपको मूल्य निर्धारण गर्नका लागि पनि एम्नेस्टी इन्टरनेसनलले कम्पनीहरूलाई आह्वान गरिरहेको छ।

“यस विश्वव्यापी सङ्ककटमा लगानीकर्ताहरूले पनि ठूलो भूमिका खेलेका छन्। उनीहरूको अर्थपूर्ण कार्यको अभावले के दर्शाउँदछ भने कोभिड-१९ ले विश्वभरका लाखौं मानिसहरूलाई अकल्पनीय पीडा प्रदान गरिरहेको अवस्थामा समेत उनीहरू फस्टाए तर औषधी कम्पनीहरूले लिएका नाफाखोर पद्धतिका कारण उनीहरूको लगानीले मानवअधिकारमाथि हानि नपुऱ्याएको कुरा सुनिश्चित गर्न भने उनीहरूले केही गरेनन्,” रजत खोस्लाले भने। “लगानीकर्ताहरूलाई आफ्नो कार्यको तत्काल सामना गर्न र खोपको समान पहुँचमा देखिएका बाधाहरू हटाउन तथा जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्नका लागि दबाब दिन औषधी कम्पनीहरूमाथि आफ्नो उल्लेखनीय प्रभावलाई प्रयोग गर्न आह्वान गर्दछौँ।”

समाप्त

सम्पादकहरूका लागि थप जानकारी:

गत वर्षको प्रतिवेदन असमानताको दोहोरो मात्रा : औषधि कम्पनी र कोभिड-१९ खोप सङ्कट (A double dose of inequality: Pharma companies and the Covid-19 vaccines crisis) सार्वजानिक गरेसँगै वर्षको अन्त्यसम्ममा न्यून  र न्यून-मध्यम आय भएका देशहरूमा कम्तीमा ५० प्रतिशत खोपहरू वितरण गर्न खोप उत्पादकहरूलाई आग्रह गर्दै एम्नेस्टी इन्टरनेसनलले “100 Day Countdown: 2 Billion Vaccines now!” अभियान सुरू गरेको थियो। यस अभियानले खोपहरू थुपार्ने देशहरूलाई सबैभन्दा बढी खोपको आवश्यकता रहेको देशहरूमा खोपहरू वितरण गर्न आह्वान गऱेको थियो।

Download

  • PR-NEP-Covid-19-Pharmaceutical-companies-failure-in-2021_Amnesty.14Feb2022
  • PR (Eng) Covid-19 – Pharmaceutical companies’ failure in…
Download