नेपाल – भूकम्प आएको बेला

सिलबाल अाफ्नाे घर अगाडी

नेपालमा गएको विनाशकारी भूकम्पको एक वर्षपछि पनि सरकारले विपद्बाट प्रभावितहरूका लागि केही गरेको छैन, भन्छन् ओमबहादुर सिलवाल ।

म किसान हो । म ललितपुरको लेलेमा बस्छु ।

भूकम्प आउँदा म मेरो घरको ठिक अगाडि थिएँ । खाना खाएर खेतको डिलमा हात धुन मात्र लागेको के थिएँ, सबैजना कराए: “आयो ! आयो !” बाहिर खुला ठाउँतर्फ दौडिएँ, र त्यहाँबाट मेरो घर ढलेको हेर्न पुगेँ ।

त्यति बेला मेलै सोचेँ, “मेरो घर त गयो,” र म पनि गएको अनुभव गरेँ । मलाई मेरा आमाबुवाको मृत्यु भएको जस्तै अनुभव भयो । तर रुएर केही हुनेवाला थिएन ।

त्यो रात मैले खेतमै बिताएँ । मैले एउटा अस्थायी छाप्रो बनाएँ । खेतभरी हामी धेरै जना थियौं । हामीले त्यहीँ पकाउने र खाने काम गर्यौं । यसरी नै एक वर्ष बितेको छ । अब घरको पुनर्निर्माण गर्नुपर्ने तर मैले त्यति दुःख गरेर बनाएको त्यो माटोकोले बनाको घर फेरी कसरी बनाउने ? अब मसँग कुनै आय स्रोत छैन । सरकारले पैसा दिने भनेको छ, तर त्यो आउला भन्ने आशा पनि मर्दै गयो ।

ओत लाग्ने कुनै ठाउँ छैन

भूकम्पले मेरो जीवन परिवर्तन भएको छ । म आफँै पनि खेती किसान गर्थेें र अरुको लागि पनि मजदुरी गर्दथें । तर अब कसको लागि मजदुरी गर्नु ? सबैजनाको अवस्था उस्तै छ । मानिसहरू “काम गर्न आऊ भन्छन्” र उनीहरूले सकेको दिउँसोको खाना दिन्छन् तर बेलुका खान केही छैन, मानिससँग दिने पैसा पनि छैन । उनीहरूले ज्याला दिने पैसा पनि कहाँबाट ल्याउन् ?

नेपालको दोलखा जिल्लास्थित भूकम्पबाट क्षतिग्रस्त घर । वि.सं. २०७२ वैशाख १२ गते नेपालमा ७.८ रिक्टर स्केलको विशाल भूकम्प गयो । वैशाख २९ गते ७.३ म्याग्निच्यूडको दोस्रो भूकम्प गयो । कुल ६०४,९३० वटा घरहरू पूर्ण रुपमा ध्वस्त भए भने २८८,८५६ वटामा आंिशक रुपमा क्षति पुगेको थियो । © एम्नेस्टी इन्टरनेसनल

गाउँको समस्या पनि यही नै हो । सबैकुरा अस्तव्यस्त छ । सरकारले केही निर्माणको काम गर्ला भन्ने आशा थियो । तर ती सबै आशा अब मरिसकेका छन् । सरकारले दिने, दिने भनिरहन्छ, तर दिने भनेको कहिले हो, कहिले ? अब पानी पर्ने मौसम नजिक आइरहेको छ, र हाम्रो यो अस्थायी छाप्रोलाई पनि उडाएर लैजानेछ । हेर्नु त, यी पालमा पनि प्वाल परिसकेको छ । र वैशाख १२ मा आएको भूकम्पमा जस्तै हामीसँग फेरि पनि केही बाँकी हुनेछैन ।
दिनभरी काम गरेपछि बेलुका बस्ने ठाउँ त चाहियो नि हामीलाई । चराहरू पनि दिनभरी उडेर बेलुका आफ्नो दुलामा आराम गर्न पस्छन् । हामी पनि त त्यस्तै हो ः दिनभरी काम गरेर फर्कन्छौं, दुई चार पैसा कमाएर आउँछौं, हामीलाई पनि आराम गर्ने ठाउँ चाहियो । तर हामीसँग छानो छैन । हाम्रो सबै चिन्ता अहिले घरकै रहेको छ ।

पैसा छैन

मेरो श्रीमती सिमरास्थित छोरीको घरमा बस्न गएकी छिन्, र म एक्लै यही भत्केको घरमा सुत्छु । मेरा छोराहरू छुट्टिसकेका छन् । बेलुका मेरो छोरा र बुहारी मेरा लागि खाना लिएर आउँछन् ।

मैले घर बनाउने सोचेको त छु तर पुरानो घरको ढुंगा माटो कहाँ थन्काउने थाहा छैन । सरकारले दिने भनेको पैसा पनि आएको छैन । मसँग त चिया खाने पैसा पनि छैन ।

अब सरकारलाई पनि के भनुँ ! विद्यालयका भवनहरू अझै भत्केकै अवस्थामा छन्, देवस्थल पनि त्यसरी नै भत्केको छ । गरिबलाई दिन्छु नभन्नु भन्ने एउटा पुरानो भनाई छ । तर सरकारले भने त्यही गरिरहेको छ ।

केही समय अघि भूकम्प आएको थियो । मेरो दाजु र छोराले, “भूकम्प आयो, बाहिर जाउँ, बाहिर जाउँ” भने । मैले सोचें, “म बाँचे भने पनि के देख्छु र? मसँग खान के बाँकी होला र? यही लथालिङ्ग अवस्था त बाँकी होला हेर्न। ” मैले विचार गरेँ, “यदि म मरेँ भने मर्छु” र घर छोडेर बाहिर गइन ।

नेपालमा वैशाख १२ गते गएको भूकम्पको एक बर्ष पछि पनि बहुसङ्ख्यक भूकम्प प्रभावितहरू अझै पनि अस्थायी शिविर र छाप्रोमा बस्न बाध्य छन् । सुस्त गतिको पुनर्निर्माणका फलस्वरुप उनीहरूलाई पर्याप्त आवासको अधिकारबाट वञ्चित गरिएको छ । सरकारले प्रस्तावित गरेको घर निर्माण विधि ज्यादै खर्चिलो छ: भूकम्प प्रतिरोधी घर निर्माणमा लाग्ने खर्च पुनर्निर्माणका लागि भूकम्प प्रभावितलाई वितरण गरिएको नगद सहयोग भन्दा धेरै बढी छ । आर्थिक रुपमा धान्न सकिने पक्ष पर्याप्त आवासको अधिकारको एउटा मुख्य पक्ष हो ।

भूकम्पको एक बर्ष पछि नेपालका भूकम्प प्रभावितहरूको दयनीय वास्तविकतामाथि प्रकाश पार्न ओमबहादुरको कथा प्रचारप्रसार गर्नुहोस् ।

नुवाकोटमा अवस्थित विस्थापितहरूको शिविर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve : *
8 + 8 =


*